केही वर्षअघिसम्म बाँकेका धेरै युवाको एउटै सपना थियो, ‘विदेश जाने, केही वर्ष दुःख गर्ने र पैसा कमाएर घर फर्किने ।’ तर अहिले त्यो सोच परिवर्तन हुँदै गएको छ । हातमा सीप नहुँदा पनि आफ्नै गाउँ–सहरमा काम गरेर आम्दानी गर्न सकिने एउटा विकल्प युवाको रोजाइमा परेको छ, अटो र ब्याट्री रिक्सा ।
बाँकेका सहरी क्षेत्रदेखि ग्रामीण बस्ती र बजारसम्म अटो तथा ब्याट्री रिक्साको संख्या बढेसँगै बेरोजगार युवाका लागि यो सवारी साधन यात्रु ओसार्ने माध्यम मात्र बनेको छैन, स्वरोजगारको आधारसमेत बनेको छ । विदेश जाने तयारीमा रहेका अधिकांश युवालेसमेत अटो र ब्याट्री रिक्सा चलाउन थालेपछि घरमै बसेर नियमित आम्दानी गरिरहेका छन् ।
डुडुवा गाउँपालिकाका नरेश यादव तीन वर्ष विदेश बसेर फर्किनुभएको थियो । विदेशमा कमाएको अनुभव र त्यहाँको संघर्षपछि फेरि वैदेशिक रोजगारीमा जाने तयारीमा थिए । तर नेपालमै अटो चलाउने अवसर पाएपछि उनको योजना बदलियो । अटो चलाउँदा राम्रो आम्दानी हुन थालेपछि विदेश जाने निर्णय त्यागेर उनी अहिले आफ्नै ठाउँमा परिश्रम गरिरहेका छन् ।
‘विदेशमा दुःख गरेर कमाएको पैसा यहाँ अटो चलाएर कमाउन थालेपछि फेरि अर्काको देशमा गएर दुःख किन गर्ने भन्ने लाग्यो,’ उनले भने । यादवका लागि अटो अहिले रोजगारीको साधन मात्र होइन, विदेश जाने बाध्यता टार्ने विकल्प बनेको छ । नेपालगन्ज–११ का नन्कु शेषको कथा पनि उस्तै छ । धेरै प्रयास गर्दा पनि रोजगारी नपाएपछि उनी विदेश जाने सोचमा थिए । आफन्तहरूले ब्याट्री रिक्सा चलाएर स्वरोजगार बन्न सुझाव दिएपछि उनले त्यही बाटो रोजे ।
अहिले उनी घरमै बसेर मासिक करिब ३० देखि ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको बताउँछन् । ‘अहिले यही कामबाट राम्रो आम्दानी भइरहेको छ,’ शेष भन्छन्, ‘त्यसैले विदेश जाने सोच दिमागबाट हटाइसकेको छु ।’ कोहलपुर–३ का लौटन थारुले पनि अटो रिक्सा किनेर ग्रामीण क्षेत्रमा चलाउँदै आएका छन् । गाउँमा सार्वजनिक यातायातको पहुँच सीमित रहेका ठाउँमा अटोले यात्रुलाई सहज सेवा दिएको छ ।
त्यससँगै थारुका लागि यही साधन आम्दानीको आधार बनेको छ । ग्रामीण क्षेत्रमा छोटो दूरीको यातायातको माग बढ्दै जाँदा अटो रिक्साले यात्रुलाई सेवा दिने र चालकलाई रोजगारी दिने दुईवटा भूमिका एकैपटक पूरा गरिरहेका छन् । बाँकेमा पछिल्लो समय अटो र ब्याट्री रिक्सा चलाउने युवाको संख्या उल्लेख्य रूपमा बढेको व्यवसायीहरू बताउँछन् । करिब १५ हजार युवाले अटो तथा ब्याट्री रिक्सा चलाउने कामलाई रोजगारीको माध्यम बनाएको अनुमान गरिएको छ ।
ब्याट्री रिक्साको नेपालगन्जस्थित थोक विक्रेता शादाब इन्टरप्राइजेजका सञ्चालक कामरान राईका अनुसार हालसम्म बाँकेमा उहाँहरूले मात्रै १२ हजार जति ब्याट्री रिक्सा बिक्री गरिसकेका छन् । उनका अनुसार रिक्सा खरिद गर्ने अधिकांश ग्राहक बेरोजगार युवा छन् । बाँकेका युवामा बढ्दो अटो तथा ब्याट्री रिक्साको आकर्षणले स्थानीयस्तरमा स्वरोजगार सिर्जना भइरहेको उदाहरण प्रस्तुत गरेको छ । विशेषगरी ब्याट्री रिक्साले पुरुष मात्र नभई महिलालाई समेत रोजगारी दिएको छ ।
