दाङको दङ्गीशरण गाउँपालिका कलमखोलाकी तिला पुनका लागि सालको पात पैसा कमाउने बाटो भएको छ । हिजोका दिनमा सुकेर खस्ने र खेर जाने वस्तु अब उनका लागि पैसा फलाउने साधन भएको छ । घरायसी काम र घाँसदाउरामा बित्ने उनको दैनिकी अहिले सालको पात सङ्कलन र दुनाटपरी उत्पादनसँग जोडिएको छ ।
घरनजिकैको उद्योगमा पात पुर्याएबापत आम्दानी हुन थालेपछि उनलाई घरखर्च चलाउन सहज भएको छ । पुनले भनिन्, ‘पहिले घाँसदाउरा र घरको काममा समय बित्थ्यो । अहिले घरको कामसँगै सालको पातबाट आम्दानी गर्ने अवसर पाएकी छु । मेरा लागि सातको पात पैसा बराबर भएको छ ।’ तिला पुन जस्तै कलमखोलाका २० जना स्थानीय महिला सालका पातबाट दुनाटपरी बनाउने काममा जोडिएका छन् ।
गाउँमै सञ्चालनमा रहेको दङ्गीशरण दुनाटपरी उद्योगले स्थानीय सामुदायिक वनमा पाइने सालका पातलाई आयआर्जनको माध्यम बनाएपछि वनसँग जोडिएका महिलालाई गाउँमै रोजगारीको अवसर मिलेको हो । हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित उद्योगले दुई वर्षदेखि सालका पातबाट दुनाटपरी उत्पादन गर्दै आएको छ ।
उद्योगका प्रबन्धक चक्रमिलन विश्वकर्माले राजाकोट–टिलकन्या सामुदायिक वनबाट पात सङ्कलन गरी दैनिक करिब एक हजार ५०० थान दुनाटपरी उत्पादन हुने गरेको बताए । उनका अनुसार पात सङ्कलनदेखि दुनाटपरी उत्पादनसम्म २० जना स्थानीयले प्रत्यक्ष रोजगारी पाएका छन् । उनले वन छेउमा रहेको बस्तीका नागरिकलाई वनपैदावारको सदुपयोगमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले उद्योग सञ्चालन गरिएको बताए ।
विश्वकर्माले भने, ‘घरनजिकैको सामुदायिक वनमा खेर गइरहेको सालको पातलाई आयआर्जनसँग जोड्ने प्रयास गरेका हौँ । स्थानीय महिलालाई सिप सिकाएर गाउँमै रोजगारी दिने हाम्रो उद्देश्य हो ।’ वन तथा कृषि सहज कार्यक्रम र विश्व कृषि सङ्गठन नेपालको सहयोगमा नौ लाख ९० हजार रुपैयाँ बराबरका उपकरण तथा सङ्कलन केन्द्रको भवन निर्माण गरिएको छ ।
सहकारीको समेत लगानी रहेको उद्योगमा करिब २५ लाख रुपैयाँ लगानी भएको जानकारी दिए । सालको पातमा धुलो, माटो तथा किरा हुने भएकाले उपकरण प्रयोग गरी पात सफा गर्ने गरिएको छ । सफा गरिएको पातबाट दुनाटपरी उत्पादन गर्दा गुणस्तर कायम गर्न सहज भएको प्रबन्धक विश्वकर्माले जनाएका छन् । प्रविधिको प्रयोगले उत्पादनमा सहजतासँगै श्रम र समयसमेत बचत भएको विश्वकर्माको भनाइ छ ।
उद्योगले कच्चा पदार्थ, उत्पादन तथा कर्मचारी लगायतका खर्च कटाएर वार्षिक करिब दुई लाख रुपैयाँ बचत गर्ने गरेको छ । बजारको माग अनुसार उत्पादन बढाउन सके स्थानीयस्तरमा थप रोजगारी सिर्जना गर्न सकिने उद्योगको अपेक्षा छ । दङ्गीशरण गाउँपालिकाको विकट बस्तीमध्ये पर्ने कलमखोलाको दक्षिणतर्फ ठुलो सामुदायिक वन छ । विगतमा स्थानीयको वनसँगको सम्बन्ध मुख्यतः घाँसदाउरा तथा अन्य वनपैदावार सङ्कलनमा सीमित थियो ।
अहिले त्यही वनबाट प्राप्त हुने सालको पात स्थानीय महिलाका लागि आम्दानीको स्रोत बनेको छ । उद्योगमा काम गर्दै आएकी केवली खड्काले गाउँमै रोजगारी पाएपछि आफ्नो सिप र समयको सदुपयोग भएको बताइन् । उनले भनिन्, ‘घाँसदाउरा गर्न जाँदा सँगसँगै सालका पात टिपेर ल्याउँछु । उद्योगमा बिक्री गर्दा त्यसबाट आम्दानी हुन्छ । घरको कामसँगै कमाइ गर्ने अवसर पाएकी छु ।’
स्थानीय वनपैदावार, परम्परागत सिप र प्रविधिलाई उत्पादनसँग जोडिएको यस उद्योगले वनमा खेर जाने सालका पातलाई उपयोगी वस्तुमा परिणत गर्नुका साथै स्थानीय महिलालाई घरनजिकै रोजगारीको अवसर दिएको छ । सालका पातबाट दुनाटपरी उत्पादन हुन थालेपछि कलमखोलाका महिलाका लागि वनपैदावार आम्दानी र आत्मनिर्भरताको आधार बन्न थालेको छ ।
