प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभीटी) परीक्षा नियन्त्रण कार्यालयले देशभर सञ्चालन हुने डिप्लोमा तथा प्रमाणपत्र तहका सम्पूर्ण परीक्षा स्थगित गरेको छ ।
कार्यालयले सोमबार सूचना जारी गर्दै भदौ २३ गते बिहान ७ बजेदेखि सञ्चालन गर्ने तय भएका वार्षिक तथा सेमेस्टर प्रणाली अन्तर्गतका नियमित र आंशिक परीक्षा विशेष परिस्थितिका कारण स्थगित गरिएको जनाएको हो ।
यसअघि गत साउन १५ गते प्रकाशित परीक्षा तालिका र साउन १६ गते तोकिएका परीक्षा केन्द्रहरूमा सञ्चालन हुने भनिएका सबै परीक्षा हाललाई रोकिएको कार्यालयले जनाएको छ ।
स्थगित परीक्षाको नयाँ तालिका र परीक्षा केन्द्रसम्बन्धी सूचना पछि प्रकाशित गरिने सीटीईभीटी परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार
