२०८३ भदौ २३ , मंगलबार 8, September 2026, Tuesday

भोटेकोशी बाढी : एक हजार ३५७ जनाको मृत्यु, ५३ सय बढी अझै सम्पर्कविहीन

भोटेकोशी बाढीमा परी बेपत्ता भएकाहरुमध्ये एक हजार ३५७ जनाको शव फेला परेको छ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरण गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको हो ।

यो मंगलबार दिउँसो १ बजेसम्मको अद्यावधिक तथ्याङ्क हो । प्राधिकरणका अनुसार बाढीमा बेपत्ता भइ मृत्यु भएकाहरुको सबैभन्दा बढी शव चितवन जिल्लामा फेला परेको छ । चितवनमा ३६३ जनाको शव फेला परेको छ । अन्य प्रभावित जिल्लाहरूमध्ये नवलपरासी पूर्वमा २२३, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा १९७, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ जनाको शव फेला परेको छ ।

हालसम्म १०२ जना मृतकको मात्र सनाखत भई आफन्तले बुझिलिएको जानकारी दिइएको छ । सनाखत हुन बाँकी रहेका मृतकको पहिचानका लागि सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा फोटो र नाता प्रमाणितसहित डिएनए परीक्षणका लागि नमूना दिन प्राधिकरणले अनुरोध गरेको छ । बाढीमा परी पाँच हजार ३२६ जना अझै सम्पर्कविहीन रहेका छन् । यसमा रसुवा जिल्लाका मात्र २ हजार ८ सय ६० जना छन् ।

बेपत्ता हुनेहरूमा ५८७ जना विदेशी पर्यटक, ४५ जना नेपाली सेना, २५ जना नेपाल प्रहरी, १२ जना सशस्त्र प्रहरी बल र ७३ जना सरकारी कर्मचारीसमेत छन् । प्राधिकरणले सम्पर्कविहीनको सूचीमा उद्धार गरिएका वा पहिचान नभएका मृतकहरू समेत समावेश हुनसक्ने भएकाले तथ्याङ्क रुजु गर्ने कार्य भइरहेको जनाएको छ । हालसम्म १३ हजार ५८३ जनाको सफल उद्धार गरिएको छ ।

घाइते भएका छ हजार ८२७ जनामध्ये विभिन्न अस्पतालमा ३२७ जनाको उपचार भइरहेको छ भने दुई हजार ४२० जना उपचारपश्चात् डिस्चार्ज भएका छन् । नेपाली सेना र सशस्त्र प्रहरी बलले आफ्ना संयन्त्रमार्फत छ हजार ५०० भन्दा बढी घाइतेको उपचार गरेका छन् । विस्थापितहरूका लागि रसुवा, नुवाकोट र धादिङमा ३९ वटा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ, जहाँ तीन हजार ५३३ जना आश्रित छन् ।

उद्धार र राहत कार्यका लागि २१ हजार ४०२ जना सुरक्षाकर्मी परिचालन गरिएको छ । जसमा नेपाली सेनाका नौ हजार २८७, नेपाल प्रहरीका सात हजार ९१२ र सशस्त्र प्रहरी बलका चार हजार २०३ जना रहेका छन् । उद्धार कार्यका लागि नेपाली सेना, निजी क्षेत्र र सशस्त्र प्रहरीका हेलिकप्टरहरूले एक हजार ४०० भन्दा बढी पटक उडान भरेका छन् । सरकारले राहत वितरण प्रक्रियालाई पनि तिव्रता दिएको छ । रसुवा र नुवाकोट जिल्लालाई एक–एक करोड रुपैयाँ र धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराइएको छ ।

यसका अतिरिक्त प्रभावित १५ वटा पालिकाका लागि १३ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । खाद्यान्न र गैर–खाद्य सामग्री ढुवानीका लागि हेलिकप्टर र ट्रकहरूको प्रयोग भइरहेको छ । पूर्वाधारतर्फ धादिङमा ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा ७८ प्रतिशत घरधुरीमा विद्युत् आपूर्ति सुचारु भएको छ । प्रभावित क्षेत्रमा इन्धनको मौज्दात सुनिश्चित गरिएको र ४५७ वटा ग्यास सिलिन्डर अनुदानमा पठाइएको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २०८३ भदौ २३ गते मंगलबार