जेनजी आन्दोलनका क्रममा बाँकेका दुई वटा बाल सुधार गृह र एउटा कारागारबाट भागेका १६९ जना बालबन्दी तथा कैदी एक वर्ष बितिसक्दा पनि सम्पर्कमा आएका छैनन् । गत वर्ष भदौ २३ गते राति र २४ गते आन्दोलनका क्रममा सुधार गृह तथा कारागारबाट भागेका ३४० जनामध्ये हालसम्म १७१ जना पक्राउ परेका छन् ।
बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधार गृह, डुडुवा गाउँपालिकास्थित जयन्दु बाल सुधार गृह र नौबस्ता क्षेत्रीय कारागारबाट गरी ३४० जना भागेका थिए । तीमध्ये जयन्दु बाल सुधार गृहबाट भागेका ११५ जनामध्ये ६८ जना, नौबस्ता बाल सुधार गृहबाट भागेका ७८ जनामध्ये ४७ जना र क्षेत्रीय कारागारबाट फरार भएका १४७ जनामध्ये ५६ जना पक्राउ परेका छन् ।
जयन्दु बाल सुधार गृहका प्रमुख किशोर शर्माका अनुसार आन्दोलनका समयमा सुधार गृहमा रहेका २२८ बालबन्दीमध्ये ११५ जना भागेका थिए । उनले फरारमध्ये ६८ जना पक्राउ परिसकेको र ४७ जना अझै सम्पर्कमा आएका छैनन् । उनले फरार भएकामध्ये केहीलाई विभिन्न स्थानबाट पक्राउ गरिएको र केही आफैँ सुधारगृहमा फर्किएको जानकारी दिए ।
नौबस्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाका अनुसार आन्दोलनका क्रममा सुधार गृहमा रहेका १७६ बालबन्दीमध्ये ७८ जना भागेका थिए । सो क्रममा प्रहरीसँगको झडपमा पाँच जना बालबन्दीको मृत्यु भएको उनले बताए । फरारमध्ये ४७ जना पक्राउ परिसकेका छन् भने ३१ जनाको खोजी भइरहेको छ । त्यस्तै नौबस्ता क्षेत्रीय कारागारबाट फरार भएका १४७ कैदीमध्ये एक वर्षको अवधिमा ५६ जना पक्राउ परेका छन् ।
नौबस्ता क्षेत्रीय कारागार प्रमुख दलबहादुर बस्नेतका अनुसार १८ जना विदेशी नागरिकसहित ९१ जना अझै सम्पर्कविहीन छन् । आन्दोलनका बेला कारागारमा ५८५ कैदी रहेका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार फरार भएकामध्ये कतिपयलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ भने बाँकीको खोजी भइरहेको छ । सम्पर्कविहीनमध्ये धेरै जना भारततर्फ गएको हुन सक्ने अनुमानसमेत गरिएको प्रहरीले जनाएको छ ।
जेनजी आन्दोलनका क्रममा बाँकेसहित देशका विभिन्न स्थानका कारागार तथा बाल सुधार गृहबाट कैदीबन्दी भागेका थिए । नेपालगन्जस्थित जिल्ला कारागारबाट भने कैदीबन्दी भाग्न सकेका थिएनन् । उनीहरूले भाग्ने प्रयास गरे पनि नेपाली सेनाले कारागारलाई घेराबन्दी गरेका थिए । त्यस क्रममा सेनाले गोली चलाउँदा कैलाली घर भएका एक कैदीको खुट्टामा गोली लागेको थियो ।

