२०८३ भदौ २१ , आइतबार 6, September 2026, Sunday

रसुवागढी र तातोपानी नाका ठप्प हुँदा कोरलामा चाप

रसुवागढीको नाका बाढीले ध्वस्त पारेको केही दिन नबित्दै चीनले ‘तातोपानी नाका पनि अस्थायी रूपमा बन्द गरेपछि’ चीन–नेपाल व्यापारको सम्पूर्ण दबाव मुस्ताङको कोरला नाकामा परेको अधिकारीहरूले बताएका छन् । यसअघि सबैभन्दा कम व्यस्त रहने गरेको उक्त नाका अहिले चीनसँगको व्यापारका लागि एकमात्र सञ्चालनमा रहेको नाका बन्न पुगेको छ ।

‘भदौ १० सम्म मुस्ताङमा कोरला नाका मात्र थियो तर त्यसयता रसुवागढी र तातोपानी पनि यतै आएको छ,’ अचानक चाप बढेपछिको स्थिति दर्शाउँदै उक्त नाकाका भन्सार प्रमुख विदुर चुडालले भने । नयाँ परिस्थितिमा जनशक्ति अपुग भएकाले उक्त कार्यालयले विभागसँग अतिरिक्त कर्मचारी मागेको थियो ।

‘विभागले छ जनाको जनशक्ति थपेको छ, त्यसमा तीन जना भन्सार अधिकृत र अन्य छन्,’ उनले भने, ‘यही सोमवार वा बुधवारसम्म आइसक्ने ठानेको छु ।’ चीनतर्फका दुईवटा प्रमुख नाका ठप्प भएसँगै बजारमा महँगी बढ्न सक्ने आकलन व्यापारीहरूले गरेका छन् । किनकि अन्यको तुलनामा काठमाडौं–कोरलाको दूरी धेरै छ ।

‘ढुवानी खर्च ह्वात्तै बढ्ने भएकाले बजारमा त्यसको असर पर्ने देखिन्छ,’ नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले भने । यद्यपि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अधिकारीहरूले तातोपानी नाका पुनः सञ्चालनमा ल्याउने विषयमा चिनियाँ पक्षसँग छलफल भइरहेको बताएका छन् ।

‘बाटो साँघुरो भएकाले थप दुर्घटना हुने हो कि भन्नेबारे उनीहरूलाई सन्देह छ तर उक्त नाका केही दिनका लागि खुले पनि पुनः बन्द हुन सक्ने म देख्छु,’ मन्त्रालयका प्रवक्ता नेत्रप्रसाद सुवेदीले भने, ‘बाटो फराकिलो पार्नेबारे भने सकारात्मक छन् । यद्यपि त्यो अहिले नै भइहाल्ने कुरा भएन ।’

महँगी बढ्ने आकलन

चीनबाट सामान आयात गर्न कोरला नाकाको विकल्प नहुँदा चाडबाडको मुखमा महँगी बढ्न सक्ने व्यवसायी पराजुलीको आकलन छ । सम्भावित महँगीमा सबैभन्दा ठूलो योगदान ढुवानी खर्चले गर्ने उनले बताए । ‘किनकि तातोपानी नाका चीनसँग व्यापार गर्ने नेपालको सबैभन्दा नजिकको नाका हो । यो काठमाडौंबाट करिब ११३ किमिको दूरीमा थियो,’ पराजुलीले भने ।

उनका अनुसार रसुवागढीबाट लगभग १८६ किमी थियो भने कोरला ४०० किमीभन्दा धेरैको दूरीमा छ । उनका अनुसार यस्तो अवस्थामा सबैभन्दा बढी खर्च ढुवानीमै बढ्ने छ । ‘सामान बोकेको एउटा कन्टेनर तातोपानी हुँदै काठमाडौं ल्याउँदा ७५ हजार रुपैयाँ र रसुवागढीबाट ल्याउँदा डेढ लाख रुपैयाँजति खर्च लाग्थ्यो भने कोरलाबाट ल्याउँदा चार लाख रुपैयाँको हाराहारी खर्च लाग्छ । त्यसले गर्दा अब सामानहरू महँगिन्छन्,’ उनले भने ।

त्यसमाथि अहिले बन्द रहेका नाकाका तुलनामा कोरला नाकासम्म पुग्ने सडक पनि अप्ठेरो रहेको अधिकारीहरू बताउँछन् । उक्त नाकामा पुग्न मुस्ताङको जोमसोम हुँदै माथितिर जानुपर्छ । ‘जोमसोमबाट कागबेनीसम्म १० किमिजति पक्की छ, त्यसभन्दा माथि १०० किमिजति कच्ची छ,’ भन्सार प्रमुख चुडालले भने, ‘यो बाटोलाई राम्रो भन्न मिल्दैन तर कामे चल्ने किसिमकोे छ ।’

उनका अनुसार जोमसोम–बेनी खण्डमा समेत ‘बाटो साँघुरो नभए पनि पहिरो गएका कतिपय ठाउँमा अझै पनि ‘डिस्टर्ब’ छ ।’ रसुवागढीबाट अब बिस्तारै ट्रकहरू कोरलातर्फ अघि बढ्न थालेका उनले बताए । उनले भने ‘रि–रूट गरिएका गाडीहरू आइतवारसम्ममा कोरला भन्सार आइपुग्ने जानकारी हामीले पाएका छौँ ।’

तातोपानीमा के भएको हो ?

बाढीपहिरोबाट प्रभावित भएको कोदारी सडक सञ्चालनमा आएको डेढ महिना पनि भएको थिएन । तर भदौ १० को भोटेकोशी त्रिशूली बाढीलगत्तै चीनले तातोपानी नाका बन्द गरेको हो । अधिकारीहरूका अनुसार नाका बन्द गर्नुको कारणबारे चिनियाँ पक्षले नेपाललाई आधिकारिक रूपमा केही जानकारी दिएको छैन ।

‘अहिले खोलिदियो भने रसुवागढीतिरका पनि सबै सवारीसाधनहरू आउन थाल्छन् र त्यसले अर्को घटना घटाउने हो कि भन्ने सन्देह उनीहरूमा देखिन्छ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता सुवेदीले भने । तातोपानी भन्सारका प्रमुख दीपेन्द्रप्रकाश गिरीका अनुसार आधिकारिक जानकारी नदिइए पनि ‘अर्को सूचना नहुँदासम्मका निम्ति कार्गो गाडीको आवतजावत बन्द गरिएको’ जानकारी उनीहरूले पाएका छन् । उनले भने, ‘पछि हामीले यसबारे हाम्रो परराष्ट्र मन्त्रालयसँग बुझ्दा चीनतर्फ सडक मर्मत भइरहेको जानकारी पायौँ ।’

विभिन्न जानकार स्रोतहरूका अनुसार चीनले तातोपानी भन्सारस्थित आफ्नो कार्यालय साबिकको स्थानबाट केही माथि सारिसकेको छ । चीनबाट सामान आयात गर्दै आएका व्यवसायी पराजुलीले भने, ‘तातोपानीमा साह्रै अप्ठेरो परिस्थिति त हामीले देखेका होइनौँ ।’ प्राविधिकहरूले हिमतालहरूको अध्ययन गरेर बन्द गरेका पनि हुन सक्छन् । उनीहरूले भन्सार समेत सारेकाले हामीलाई दबाव परेको छ ।’ कोभिडपछि पनि उक्त नाका लामो समयसम्म बन्द थियो ।

विकल्प खोज्नुपर्ने दबाव

व्यापारीहरूले एक हदसम्म तातोपानीबाटै सामान ओसारपसार गर्नुलाई विकल्पका रूपमा हेरेका छन् । कोरला नाका हिउँदमा हिमपातका कारण प्रभावित हुन सक्ने र चीनतर्फको सम्पूर्ण सडकमार्ग नै अवरुद्ध हुन सक्ने उनीहरूको ठम्याइ छ । ‘सकेसम्म तातोपानीको नाका खुलाउन पहल गर्न भनेर हामीले सरकारलाई भनिराखेका छौँ, अन्यथा कोरलाबाट आएका सामानहरू सोझै चोभार ड्राइपोर्ट लैजाने व्यवस्था गरौँ ।’

‘त्यसले पनि केही सहज हुन सक्छ भनिराखेका छौँ,’ नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पराजुलीले भने । सरकारी अधिकारीहरू भने तातोपानी नाका निर्बाध रूपमा सञ्चालन गर्न चीनसँग छलफल भइरहेको तर चीन अहिलेकै साँघुरो सडकको अवस्थामै नाका सञ्चालन गर्ने मनस्थितिमा नदेखिएको बताउँछन् ।

‘तातोपानीको प्रयोग पनि बढाऔँ र कोरला नाका पनि चलाऔँ भन्ने हाम्रो कुरा छ र हामीले यस विषयमा वार्ता जारी राखेका छौँ,’ वाणिज्य मन्त्रालयका प्रवक्ता सुवेदीले भने, ‘त्यसमा अहिलेसम्म आधिकारिक रूपमा केही प्रतिक्रिया आएको छैन ।’ रसुवागढीमा भएका हाम्रा कतिपय गाडीहरू ल्याउनुपर्ने पनि छ । तातोपानीबाट भएछ भने त्यहाँबाट ल्याउने नभए कोरलाले धान्छ भन्ने नै छ ।’

स्रोत : बीबीसी
प्रकाशित मिति : २०८३ भदौ २१ गते आइतबार