२०८३ भदौ ७ , आइतबार 23, August 2026, Sunday

एमाले पुनःगठनको मुद्दाबाट पछि हटे विष्णु र शंकर !

फागुन २१ को लज्जास्पद चुनावी नतिजायता नेकपा एमालेभित्र केही नेता कार्यकर्ताहरूले नेतृत्वविरुद्ध मौन विद्रोह गरिरहेका छन् । चुनावी धक्काले निराश बनेका उनीहरू पार्टीको शीर्ष नेतृत्वमाथि प्रश्न उठाउँदै नेतृत्व परिवर्तन नभएसम्म एमालेलाई जनताले विश्वास नगर्ने ठान्छन् । त्यसैले उनीहरूले पार्टी पुनर्गठनको मागसहित शीर्ष नेताहरूलाई ज्ञापन पत्र बुझाउनेदेखि हस्ताक्षर अभियान नै चलाइसकेका छन् ।

एमाले कार्यकर्ता पङ्क्तिको यो दबाब स्थानीय तहदेखि सचिवालयसम्मै पुगिसकेको छ । हेडक्वाटर मानिएको १९ सदस्यीय एमाले सचिवालयमध्ये अधिकांश सदस्यहरू समेत केपी शर्मा ओली नै अध्यक्ष रहेर अबको स्थानीय निर्वाचनमा जाँदा एमाले थप कमजोर हुने भन्दै पार्टी पुनर्गठन जरुरी रहेको निष्कर्षमा पुगिसकेका छन् । तर, ओलीलाई कसरी विस्थापन गर्ने ? ओलीको विकल्पमा कसले पार्टीको नेतृत्व गर्ने ? भन्ने प्रश्नमा पार्टी पुनःगठन पक्षधहरुसँग स्पष्ट जवाफ र ठोस कार्य योजनाको भने अभाव देखिन्छ ।

उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट, महासचिव शंकर पोखरेलदेखि उपमहासचिव योगेश भट्टराई र अधिकांश सचिवहरू पुनःगठनको पक्षमा छन् । तर उनीहरू पुनःगठनपछि कसले पार्टी नेतृत्व गर्ने भन्नेमा अलमल छन् । कतिपयले ओलीको ठाउँमा पौडेल, पोखरेल आउनुलाई मात्र पार्टी पुनःगठन भन्न नमिल्ने तर्क समेत गरिरहेका छन् । यस्तो अवस्थामा अध्यक्ष ओलीले पुनःगठन पक्षधरलाई तर्साउने, थर्काउने त्यसले नपुगे फकाउने रणनीति अनुसार तितरबितर पार्ने प्रयास गरिरहेका छन् ।

केही महिनाअघि पार्टी पुनःगठनको आवाज चर्कँदै गएपछि उक्त विषय सम्बोधन गर्न अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा गत जेठ दोस्रो साता निर्वाचन समीक्षा र पार्टी पुनःगठन सुझाव कार्यदल गठन गरेको थियो । कार्यदल गठन भएपछि तत्काललाई साम्य भएको एमालेभित्रको नेतृत्व परिवर्तनको मुद्दा अहिले ओझेलमा पर्न पुगेको छ । कार्यदलको सुझाव ओलीको चाहाना विपरीत आएपछि प्रतिवेदन नै गुपचुप राख्दा उक्त मुद्दा ओझेलमा परेको जस्तो देखिएको केही नेताहरूको भनाइ छ ।

उपाध्यक्ष रामबहादुर थापा बादल नेतृत्वमा गठित कार्यदलले सातै प्रदेश पुगेर सुझाव सङ्कलन गरी प्रतिवेदन मस्यौदा तयार पारेको थियो । उक्त प्रतिवेदन मस्यौदा अन्तिम रूपमा परिणत नहुँदै अध्यक्ष ओलीले अस्वीकार गर्दा पुनःगठन पक्षधर नेता कार्यकर्ता सशङ्कित बन्न पुगेका छन् । कार्यदलले सङ्कलन गरेको सुझावमा पार्टी पुनःगठन गर्नुपर्ने ८० प्रतिशत सुझाव आएपछि अध्यक्षबाट आफू हट्नुपर्ने बुझेका अध्यक्ष ओली अहिले पार्टी पुनःगठन नभएर पार्टी पुनःजागरण भन्न थालिसकेका छन् ।

साथै उनले आफू महाधिवेशनबाट आएकाले नेतृत्व नछाड्ने अडान बारम्बार दोहोर्याइरहेका छन् । साउन अन्तिम साता झापा पुगेका ओलीले पार्टीमा पुनःगठन नभई पुनःजागरण आवश्यक रहेको दाबी गरेका हुन् । साउन ३१ गते झापाको बिर्तामोडमा झापा एमालेको मिसन पार्टी जागरण अभियान शुभारम्भ गर्दै उनले एमाले पुनःगठनको कुरा सडकको विषय भएको जवाफ दिए । त्यति मात्रै होइन ओलीले इतिहास स्मरण गर्दै अहिले पार्टी पुनःगठनको विषय नै सान्दर्भिक नरहेको घोषणा गरे ।

‘मलाई पार्टीबाट हटाउनुपर्छ भन्ने कुरा आजको होइन । सीपी मैनाली, आरके मैनालीहरूले षड्यन्त्र गर्दा २९ सालदेखि ३३ सालसम्म मेरो पार्टी सदस्यता थिएन,’ पार्टी पुनःगठनबारे भइरहेका बहसलाई सङ्केत गर्दै ओलीले भने, ‘मलाई जेल हाल्दा, गोलघरमा बस्दा मेरो पार्टी सदस्यता थिएन । मैले फेरि ३३ सालमा सदस्यता जेलमै प्राप्त गरेँ ।’ कार्यदलले तयार पारेको प्रतिवेदन दस्ताबेजमा पार्टीलाई नयाँ जीवन दिन र पुनःगठन गर्न ११ औँ महाधिवेशनबाट निर्वाचित कमिटी भङ्ग गरी विशेष महाधिवेशनमा जानुपर्ने र ओलीले नेतृत्वबाट निकास दिनुपर्ने प्रस्ताव छ ।

जुन अध्यक्ष ओलीलाई चित्त बुझ्ने कुरै भएन । महासचिव शंकर पोखरेलले तयार पारेर बादल हुँदै ओलीको हातमा पुगेको कार्यदलको उक्त प्रस्ताव सुझाव मात्र थिएन, ओलीको एकछत्र नेतृत्वमाथि चुनौती भएकाले उनले उक्त दस्ताबेज सिधै अस्वीकार गर्न पुगेका हुन् । ‘आफैलाई हटाउने प्रस्ताव अध्यक्षले स्वीकार गर्ने कुरै हुँदैन,’ एमालेका एक पदाधिकारी भन्छन्, ‘उक्त प्रस्ताव पुनःलेखन गर्न महासचिवलाई निर्देशन दिनुभएको छ ।’

सचिवालयमा पार्टी पुनःगठनको विषयले रक्षात्मक बन्न पुगेका ओली केन्द्रीय समितिमा बहुमतमा छन् । बहुमतबाट आफ्नो पक्षमा निर्णय गराउने कसरतमा लागेका ओलीले यो रणनीतिसँगै विरोधी खेमालाई एकताबद्ध हुन नदिने रणनीति पनि अख्तियार गरेको नेता कार्यकर्ताहरूको बुझाइ छ । सोही रणनीति अनुसार ओलीले प्रदेश तहको शक्ति सन्तुलनमा प्रभाव पार्ने र नेताहरूबिचको आपसी अन्तर्विरोध गराउने रणनीति अपनाएको एमालेका ती नेता कार्यकर्ताहरू बताउँछन् ।

‘कोशी प्रदेशमा हिक्मत बहादुर कार्कीको नेतृत्व रोक्न गरिएको कसरत होस् वा बागमती प्रदेशमा जगन्नाथ थपलियालाई किनारा लगाउन गरेको चलखेल नै किन नहोस् यी सबै पार्टी आफ्नो नियन्त्रणमा राख्ने ओली रणनीति हो,’ पुनःगठन पक्षधर एक पदाधिकारी भन्छन्, ‘विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सम्भावित सक्रियता र अन्य नेताहरूबिचको मनोवैज्ञानिक दूरीलाई ओलीले आफ्नो रक्षाकवच बनाएका छन् ।’

विष्णु र शंकर पछि हटेका हुन् ?

अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन महासचिव शंकर पोखरेलले पटक पटक आग्रह गरिसकेका छन् । तर ओली सचिवालय बैठक बोलाउन आनाकानी गरिरहेका छन् । ओलीकै आदेश पालक रहेका उपाध्यक्ष तथा कार्यदल संयोजक रामबहादुर थापा बादल कार्यदल बैठक बोलाउनबाट पछि हटिरहेका छन् । यही क्रममा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल भदौ ४ गते अध्यक्ष ओली भेट्न गुण्डु पुगेका थिए ।

त्यहाँ पौडेल र पोखरेलले ओलीलाई सचिवालय बैठक बोलाउन पुन आग्रह गरेका थिए । तर, ओलीले उल्टै पौडेललाई सचिवालय बैठक बोलाउन आवश्यक नभएको जवाफ दिएका थिए । ‘किन चाहियो सचिवालय बैठक ? मलाई हटाउन ?’, पौडेललाई ओलीको प्रश्न थियो । ओलीको यस्तो रुखो प्रश्नपछि पौडेल र पोखरेल गुण्डुबाट नाजवाफ भएर फर्कनुपरेको स्रोतको दाबी छ । भदौ ६ गते विराटनगर पुगेका महासचिव पोखरेलले पार्टीमा सुधार जरुरी छ भन्ने कुरा पार्टीको साझा विषय भएको बताए ।

‘यो हाम्रो सचिवालयले निर्णय गरेको कुरा पनि हो । सुधार भनेको शुद्धीकरण, सुदृढीकरण र रूपान्तरणसहितको पुनःगठन हो,’ महासचिव पोखरेलले भने, ‘उहाँ (अध्यक्ष)ले पुनःजागरण मात्रै भन्नुभयो भने त्यो पनि ठिकै हो, किनकि अहिले चलिरहेको अभियान नै पुनःजागरण अभियान हो । कार्यदलको माध्यमबाट सुधारका कामहरू जारी छन् ।’ महासचिव पोखरेलले नेतृत्व परिवर्तन संस्थागत प्रक्रिया र विधान अनुसार हुने पनि बताएका छन् ।

‘नेतृत्व परिवर्तन संस्थागत प्रक्रिया र विधानअनुसार हुन्छ,’ पोखरेलले विराटनगरमा भनेका छन्, ‘सामाजिक सञ्जालको बहस वा सार्वजनिक छलफलले नेतृत्व परिवर्तन हुने होइन । महाधिवेशन नै यसको मुख्य थलो हो । पार्टीमा रूपान्तरण आवश्यक छ । तर त्यो विधि र प्रक्रियाबाटै हुन्छ । अहिले नै नेतृत्व परिवर्तन गरिहाल्नुपर्ने स्थिति पार्टीमा छैन ।’ महासचिव पोखरेलेको यस्तो अभिव्यक्तिसँगै कतिपयले महासचिव पोखरेल पुनःगठनको मुद्दाबाट पछि हटेको विश्लेषण गर्न थालेका छन् ।

तर, महासचिव पोखरेल पुनःगठनको मुद्दाबाट पछि नहटेको पुनःगठन पक्षधर नेताहरूको बुझाई छ । ‘महासचिवले विधि र प्रक्रिया अनुसार हुन्छ भन्नु सामान्य हो । त्यसो भन्दैमा पछि हटेको भन्न मिल्दैन,’ एमाले पुनःगठन अभियान चलाउँदै आएका बुद्धिजीवी परिषद्का अध्यक्ष गजेन्द्र थपलिया भन्छन्, ‘अव पुनःगठनबाट जो पछि हट्छ पार्टी त सकिन्छ नै त्योसँगै केपी ओलीभन्दा पहिला उनीहरू पनि सकिन्छन् ।’

प्रकाशित मिति : २०८३ भदौ ७ गते आइतबार