कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानीको खेतीमा लागेका छन् । तरकारी र गोलभेँडा भन्दा अकबरे खुर्सानीबाट राम्रो आम्दानी हुन लागेपछि मोतीबहादुर अकबरे खुर्सानीको खेतीमा लागेका हुन् ।
गोलभेँडा तथा अन्य तरकारी खेती भन्दा खुर्सानीमा लगानी र मेहनत पनि काम लाग्ने भएकोले यता लागेको उनी बताउँछन् । ‘गोलभेँडालाई टनले राख्नु पर्यो, अन्य तरकारीमा रोग किरा पनि बढी लाछ, तर खुर्सानी खुल्ला बारीमा लगाउन मिल्यो, एक पटक लगाएपछि तीन–चार वर्षसम्म आम्दानी दिन्छ, बजार भाउ पनि राम्रो छ, आलो बिक्री भएन भने सुकाएर पनि बिक्री गर्न सकिन्छ, त्यसैले यो खेती सुरक्षित छ,’ उनले भने ।
उनले करिब एक रोपनी जमिनमा एक हजार २०० बोट खुर्सानी लगाएका छन् । जसबाट उत्पादित ५ क्विन्टल बढी खुर्सानी बजार गइसकेको छ । अझै चारदेखि पाँच क्विन्टल खुर्सानी यो सिजनमा उत्पादन हुने उनको अनुमान छ । उनको बारीमा उत्पादन भएको खुर्सानी रामेछापको सदरमुकाम मन्थली बाहेक सिन्धुली, बर्दिबास, काठमाडौँ र विदेशसम्म पुग्ने बताए । लोकल खुर्सानी भएकाले बजारमा राम्रो माग भएको मगर बताउँछन् ।
एक रोपनी जग्गामा लगाएको खुर्सानीबाटै वर्षमा ३ लाखभन्दा बढी कमाउन सकिने उनको भनाइ छ । ‘अन्य बाली लगाउने हो भने १० हजारको पनि उत्पादन हुँदैन तर तीन–चार लाखको खुर्सानी त यत्ति बारीमै फल्छ,’ उनले भने । बजारमा सहज पहुँच हुँदा अहिलेको भन्दा दुईदेखि तीनगुना बढी आम्दानी हुने भए पनि बजारसम्म आफूहरूको पहुँच नभएको मोती बताउँछन् ।
‘काठमाडौंमा ५००–६०० रुपैँया किलो छ, हामीले २०० पनि पाउँदैनौँ,’ उनले गुनासो गरे । किसानले गरेको उत्पादनको उचित मूल्य सरकारले नै ग्यारेण्टी गरिदिने हो भने कृषिबाट राम्रो आम्दानी गर्न सकिने उनको भनाइ छ । यस्ता अगुवा किसानलाई प्रोत्साहित गर्ने र कृषि उपजको बजार ग्यारेण्टी गर्ने कुरामा राज्यको ध्यान जान आवश्यक देखिन्छ ।
