२०८३ भदौ २८ , आइतबार 13, September 2026, Sunday

म्याद गुज्रेका खाद्य सामग्री बेच्ने तीन व्यवसायीलाई जरिवाना

म्याद गुज्रेका खाद्य तथा उपभोग्य सामग्री विक्री वितरण गर्ने नेपालगन्जका तीन वटा व्यवसायीक फर्मलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । ती फर्ममा ठूलो परिमाणका म्याद गुज्रेका खाद्य तथा उपभोग्य सामग्री फेला परेपछि ती फर्मलाई जरिवाना गरिएको हो ।

बजार अनुगमनका क्रममा संयुक्त बजार अनुगमन समितिले नेपालगन्ज–१२ स्थित वेष्टर्न मार्ट प्रालि, नेपालगन्ज–१ धम्बोझीस्थित बर्दिया सप्लायर्स र नेपालगन्ज बौद्धगुम्बा नजिकको मिस्टर बेकर बेकरी उद्योगलाई उपभोक्ता संरक्षण ऐनबमोजिम जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा बुधवार र विहिबार गरिएको बजार अनुगमनका क्रममा तीन वटै व्यवसायमा म्याद गुज्रेका सामग्री बिक्रीका लागि राखिएको र अतिनै फोहोर अखाद्य सामाग्री भेटिएकोले ती तीन वटै फर्मलाई जनही ५० हजारको जरिवाना गरेर त्यहाँ रहेका म्याद गुज्रेका सामग्री समेत नष्ट गरिएको थियो ।

संयुक्त बजार अनुगमन समितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले बर्दिया सप्लायर्समा सञ्चालकको रोहबरमा ३३ हजार २३७ रुपियाँ बराबरका म्याद गुज्रेका खाद्य सामग्री नष्ट गरिएको र वेष्टर्न मार्टबाट पनि २३ हजार ३१३ रुपियाँ बराबरका म्याद गुज्रेका सामग्री नष्ट गरिएको जानकारी गराए ।

सोही प्रकारले मिस्टर बेकर बेकरीको ११ हजारभन्दा बढीको अखाद्य सामाग्री नष्ट गरिएको थियो । उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने सामग्री बिक्रीमा राखिएको पाइएपछि कानुन अनुसार कारबाही गरिएको बजार अनुगमन समितिले जनाएको छ ।

अनुगमन समितिका अनुसार बजार अनुगमनका क्रममा कतिपय व्यवसायमा मूल्यसूची नराखिएको भेटिएको थियो भने केहीले राखेको मूल्यसूचीसमेत अद्यावधिक नगरेको पाइएको थियो । बजार अनुगमनमा खाद्य सामग्रीसम्बन्धी सबैभन्दा कैफियत भेटिएको जनाउँदै संयोजक गुरुङले अनुगमनका क्रममा कृत्रिम रङ मिसाइएको मासको दाल फेला परेको, सडेगलेका खाने कुरा भेटिएको र फोहोर सबैभन्दा बढी भएको बताए ।

कर बीजक नराखी कारोबार गर्ने तथा दर्ता नगरेर कारोबार गर्नेहरुलाइ कारवाही र चेतावनी दुबै दिइएको समितिले जनाएको छ । बजारमा वस्तुको गुणस्तर, मूल्य र बिक्रीका लागि राखिएका सामग्रीको म्यादलगायत विषयमा नियमित निगरानी गरिरहेको अनुगमन टोलीले जनाएको छ । व्यवसायीलाई प्रचलित कानुन अनुसार कारोबार गर्न र उपभोक्तालाई बिक्री गरिने सामग्रीको गुणस्तर तथा म्यादबारे सचेत रहन पनि निर्देशन दिइएको समितिले जनाएको छ ।

संयुक्त बजार अनुगमनमा जिल्ला प्रशासन कार्यालय, आन्तरिक राजस्व कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगन्ज उपमहानगरपालिकाका र उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ साउन २२ गते शुक्रबार