पछिल्लो दुई सातामा करिब ३० हजार मेट्रिक टन खाना पकाउने (एलपी) ग्यास नेपाल भित्रिएको व्यवसायीहरूले दाबी गरेका छन् । उद्योगीहरूका अनुसार अहिले दैनिक औसत १०० भन्दा बढी बुलेट ग्यास आयात भइरहेको छ । तर, बजारमा आपूर्ति पर्याप्त रहेको तथ्यांकले देखाए पनि काठमाडौँ उपत्यकासहित देशका विभिन्न भागमा उपभोक्ता भने अझै ग्यास पाउन लाइन बस्न बाध्य छन् ।
नेपाल आयल निगमको टेकुस्थित पुरानो कार्यालय परिसरमा दिनहुँजसो ग्यास सिलिन्डर साट्न आउने उपभोक्ताको लामो घुइँचो लाग्ने गरेको छ । स्थानीय डिलर र पसलहरूमा ग्यास नपाएपछि उपभोक्ता सास्ती भोग्न बाध्य भएका हुन् । एकातिर ग्यासको आयात उच्च देखिनु र अर्कातिर बजारमा अभाव कायम रहनुले एउटा गम्भीर प्रश्न उब्जाएको छ, समस्या ग्यास आपूर्तिको हो कि वितरण प्रणालीको ?
‘सामान्य अवस्थाभन्दा बढी आयात’
एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार गत असार ३१ गतेदेखि पछिल्लो १६ दिनको अवधिमा करिब ३० हजार मेट्रिक टन ग्यास नेपाल भित्रिसकेको छ । यही गतिमा आयात भइरहे साउन महिनाभरमा मात्रै करिब ५० हजार मेट्रिक टनसम्म ग्यास भित्रिने उनको भनाइ छ ।
‘असार ३१ देखि नेपालमा दैनिक बढीमा १२५ वटासम्म र औसतमा १०५ वटासम्म बुलेट ग्यास आइरहेका छन्,’ अध्यक्ष चन्दले भने, ‘सामान्य अवस्थामा नेपालका लागि दैनिक ८० देखि ९० बुलेट ग्यास पर्याप्त हुन्छ ।’ सामान्य अवस्थाको तुलनामा बढी ग्यास भित्रिँदा पनि उपभोक्ताले सहज रूपमा पाउन नसकेको उनले स्वीकार गरे ।
उद्योगीहरूका अनुसार अहिलेको मुख्य समस्या ग्यासको आपूर्तिमा भन्दा पनि ‘खाली सिलिन्डर’ व्यवस्थापनमा देखिएको हो । १४.२ केजीको सिलिन्डर पुनः सहज भएपछि लामो समयदेखि थन्किएर रहेका खाली सिलिन्डर उपभोक्ताले एकैपटक साट्न ल्याउँदा बजारमा एकाएक चाप बढेको उनीहरूको दाबी छ ।
‘ग्यास भण्डारण गर्ने मुख्य माध्यम नै सिलिन्डर हो । कि बुलेटमा हुन्छ, कि त सिलिन्डरमा,’ अध्यक्ष चन्दले थपे, ‘उपभोक्ताबाट खाली सिलिन्डर समयमै बजारमा नफर्किएसम्म आपूर्ति व्यवस्थालाई पूर्ण रूपमा सहज बनाउन कठिन हुन्छ ।’
खपतअनुसार नै आयात भइरहेको निगमको दाबी
नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुर भने बजारमा अहिले देखिएको समस्या ग्यासको अभाव नभई अचानक बढेको मागको व्यवस्थापन मात्र भएको बताउँछन् । उनका अनुसार नेपालमा सामान्यतया मासिक करिब ४५ हजार मेट्रिक टन एलपी ग्यास खपत हुने गर्छ र पछिल्लो समय खपतका आधारमै आयात भइरहेको छ ।
‘फागुनमा ५१ हजार मेट्रिक टन ग्यास आयात हुँदा पनि बजारमा अभावजस्तै थियो । तर त्यसपछिका चैतमा ३८ हजार, वैशाखमा ३२ हजार र जेठमा ३३ हजार मेट्रिक टन आयात हुँदा खासै ठूलो समस्या देखिएको थिएन,’ प्रवक्ता ठाकुरले स्पष्ट पारे, ‘असारमा करिब ४४ हजार मेट्रिक टन र साउन १५ गतेसम्म मात्रै २६ हजार मेट्रिक टन ग्यास भित्रिसकेको छ ।’
१४.२ केजीको सिलिन्डर फर्किएपछि बढेको चाप
निगमका अनुसार १४.२ केजीको सिलिन्डर पुनः बजारमा उपलब्ध हुन थालेपछि धेरै उपभोक्ता एकैपटक बजारमा जाँदा माग अस्वाभाविक रूपमा बढेको हो । ‘जसजसको घरमा खाली सिलिन्डर थन्किएका थिए, सबैले एकैपटक साट्ने प्रयास गर्दा बजारमा चाप बढेको हो,’ ठाकुरले भने ।
यसैबिच, केही उपभोक्ताले ७.१ केजीको आधा सिलिन्डर प्रयोग गर्दासमेत सोचेजस्तो नतिजा नपाएको गुनासो गरेका थिए । कतिपय अवस्थामा सिलिन्डरमा ग्यासको तौल पुगे पनि आवश्यक ‘प्रेसर’ (चाप) नपुग्दा भान्छामा समस्या देखिएको निगमले जनाएको छ ।
डिलरमा नपाएपछि टेकुमा घुइँचो
खुद्रा डिलर र खुद्रा पसलहरूमा ग्यास नपाएपछि काठमाडौंको टेकुस्थित निगमको साविक कार्यालय परिसरबाट ग्यास उद्योगहरूले प्रत्यक्ष बिक्री सुरु गरेका छन् । नेपाल ग्यास, एभरेस्ट, सुगम, एचपी र श्रीराम लगायतका कम्पनीहरूले सोही स्थानबाट सिलिन्डर वितरण गरिरहेका छन् ।
निगमले भने आफूले सिधै ग्यास बिक्री नगरेको स्पष्ट पारेको छ । डिलरहरूबाट ग्यास पाउन छाडेपछि उपभोक्ताको सहजताका लागि उद्योगहरूलाई निगमको खाली स्थान प्रयोग गर्न मात्र दिइएको प्रवक्ता ठाकुरले जानकारी दिए ।
सरकारी तथा व्यावसायिक तथ्यांकले ग्यासको आयात पर्याप्त भइरहेको देखाए पनि उपभोक्ताको दैनिक भोगाइले भने अभावकै सङ्केत गरिरहेको छ । यसले नेपालको एलपी ग्यास व्यवस्थापनमा आपूर्ति मात्र पर्याप्त भएर नपुग्ने, बरु वितरण प्रणाली, खाली सिलिन्डरको चक्रिय व्यवस्थापन र बजार अनुगमन उत्तिकै प्रभावकारी हुनुपर्ने यथार्थलाई पुनः उजागर गरेको छ ।
सत्यपाटी