२०८३ भदौ १३ , शनिबार 30, August 2026, Sunday

बाँकेमा दुई अर्ब ९९ करोड २७ लाख विकास बजेट फ्रिज

गत आर्थिक वर्ष २०८२–०८३ मा बाँके जिल्लाको विकासका लागि आएको करिब तीन अर्ब रुपियाँ बजेट खर्च हुन नसकी फिर्ता भएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) नेपालगन्जका अनुसार संघ र प्रदेश सरकारबाट प्राप्त पुँजीगत (विकास) बजेटमध्ये दुई अर्ब ९९ करोड २७ लाख ४७० रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको हो ।

कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका प्रमुख कोष नियन्त्रक सर्वोदय उपाध्यायले संघीय सरकारको एक अर्ब ९१ करोड ४१ हजार १३१ रुपैयाँ र प्रदेश सरकारको एक अर्ब आठ करोड २६ लाख ५९ हजार ३३९ रुपैयाँ पुँजीगत बजेट खर्च हुन नसकी फिर्ता भएको बताए ।

कोलेनिकाका अनुसार त्यसअघिको आर्थिक वर्ष २०८१–०८२ मा पनि दुई अर्बभन्दा बढी पुँजीगत बजेट खर्च हुन नसकी फिर्ता भएको थियो । उक्त आर्थिक वर्षमा संघीय र प्रदेश सरकारको गरी दुई अर्ब १८ करोड १७ लाख ५८ हजार २७२ रुपैयाँ पुँजीगत बजेट खर्च नभएको हो ।

आर्थिक वर्ष २०८१–०८२ मा संघीय सरकारतर्फको एक अर्ब ३६ करोड ३३ लाख ५४ हजार १३९ रुपियाँ र प्रदेश सरकारतर्फको ८१ करोड ८४ लाख चार हजार १३३ रुपैयाँ पुँजीगत बजेट खर्च हुन नसकी फिर्ता भएको कोलेनिकाको तथ्याङ्क छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय नेपालगन्जका प्रमुख कोष नियन्त्रक उपाध्यायले गत आर्थिक वर्ष २०८२–०८३ मा बाँकेमा संघीय सरकारतर्फ चालु र पुँजीगत गरी कुल बजेट खर्च ८६.७४ प्रतिशत रहेको जानकारी दिए ।

उनका अनुसार संघीय सरकारतर्फ बाँकेका लागि चालु बजेट १३ अर्ब ५४ करोड चार लाख १२ हजार ८३३ रुपैयाँ र पुँजीगत बजेट सात अर्ब पाँच करोड ८१ लाख ९७ हजार १२६ रुपैयाँ प्राप्त भएको थियो ।

त्यसमध्ये चालुतर्फ १२ अर्ब ७१ करोड ९८ लाख चार हजार ८२८ रुपैयाँ अर्थात् ९३.९४ प्रतिशत र पुँजीगततर्फ पाँच अर्ब १४ करोड ८१ लाख ५५ हजार ९९५ रुपैयाँ अर्थात् ७२.९४ प्रतिशत खर्च भएको छ ।

तीन तहका सरकारले असार मसान्तअघि नै बजेट ल्याउने गरे पनि त्यसको पूर्ण कार्यान्वयन हुन नसकेको तथ्याङ्कले देखाएको छ । जिल्लाको विकासका लागि आएको ठुलो रकम खर्च हुन नसकी फिर्ता हुँदा विकास निर्माणका काम प्रभावित हुने स्थानीयको गुनासो छ ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले विकासका लागि आएको करिब तीन अर्ब रुपियाँ खर्च हुन नसकी फिर्ता हुनु जिल्लाको विकासमा ठुलो असर पर्ने बताए । उनले जिल्लाका लागि विनियोजन भएको विकास बजेट प्रभावकारी रूपमा खर्च गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : २०८३ साउन १० गते आइतबार