बाँकेका उद्योगी, व्यवसायीले उद्योग दर्ता, नवीकरण र कर भुक्तानीको जटिल प्रक्रियाका कारण उद्योगी व्यवसायीले विभिन्न समस्या भोग्न बाध्य भएको गुनासो गरेका छन् । एउटै व्यवसाय सञ्चालनका लागि विभिन्न निकायमा छुट्टाछुट्टै दर्ता गर्नुपर्ने, पटकपटक कर तिर्नुपर्ने र नवीकरण प्रक्रियामा ढिलाइ हुने समस्याले व्यवसाय सञ्चालन कठिन बन्दै गएको उनीहरूको भनाइ छ ।
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओलीले लगानीमैत्री वातावरणको अभाव र सरकारी नीतिका कारण उद्योगी–व्यवसायी निरुत्साहित बन्दै गएको बताए । उनले सरकारले निजी क्षेत्रलाई राजस्व संकलनको माध्यमका रूपमा मात्र हेर्ने गरेको आरोप लगाउँदै व्यवसायीहरूले रोजगारी सिर्जना गर्नुका साथै राज्यको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याइरहेको बताए ।
वरिष्ठ उपाध्यक्ष ओलीले साना व्यवसायीमाथि अनावश्यक कानुनी तथा प्रशासनिक दबाब सिर्जना गरिँदा उनीहरू व्यवसायबाट पलायन हुने अवस्था समेत आएको जनाए । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा कपडा व्यवसायी नन्दलाल वैश्यले व्यवसायीले पाउने सास्ती र अनावश्यक दुखकै कारण नयाँ उद्योग दर्ता हुने क्रम घट्दै गएको र कतिपय उद्योगी–व्यवसायी व्यवसाय नै छाडेर पलायन हुन थालेको बताए ।
उनले उद्योग दर्ता, नवीकरण र कर भुक्तानीको प्रक्रियालाई सहज बनाउन पनि सरकारसँग माग गरे । संघका अर्का पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले एउटै उद्योग सञ्चालनका लागि विभिन्न सरकारी निकायमा छुट्टाछुट्टै दर्ता गर्नुपर्ने र विभिन्न शीर्षकमा कर तिर्नुपर्ने व्यवस्था प्रमुख समस्या बनेको जनाउँदै स्थानीय तह, कर कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय लगायत निकायमा फरक–फरक प्रक्रिया पूरा गर्नुपर्ने बाध्यताले समय, श्रम र लागत बढाएको दुखेसो गरे ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख मोहन घर्ती मगरले पछिल्ला वर्षहरूमा उद्योग दर्ताको दर निरन्तर घट्दै गएको जनाउँदै उद्योग दर्तामा आएको कमीले निजी क्षेत्रको लगानीप्रतिको आकर्षण घट्दै गएको संकेत गरेको बताए । आन्तरिक राजस्व कार्यालय नेपालगन्जका प्रमुख पूर्णप्रसाद न्यौपानेका अनुसार जिल्लाका करिब आधा व्यवसायी अझै कर प्रणालीमा सक्रिय छैनन् ।
आयकरतर्फ दर्ता भएका करदातामध्ये करिब ६० प्रतिशतले नियमित विवरण बुझाएका छैनन् भने मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता भएका धेरै करदाता पनि निष्क्रिय अवस्थामा रहेको उनले जनाए । प्रमुख न्यौपानेले धेरै व्यवसायी दर्तापछि सम्पर्कविहीन हुने, नियमित विवरण नबुझाउने र उनीहरूको वास्तविक अवस्था पहिचान गर्न कठिन भइरहेको बताए । उनका अनुसार बाँकेमा दर्ता भएका धेरै व्यवसाय अहिले निष्क्रिय अवस्थामा छन् ।
सत्यपाटी