२०८३ असार २५ , बिहीबार 9, July 2026, Thursday

जुम्लाका ४२५ भेडापालक किसानलाई गोठालो भत्ता

सत्यपाटीसत्यपाटी । जुम्ला । २०८३ असार २५ गते बिहीबार

कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको प्रोत्साहन भत्ता कार्यक्रमले जुम्लाका भेडापालक किसानलाई राहत मिलेको छ । भेडापालन व्यवसायलाई प्रवर्द्धन गर्दै किसानको आयस्तरमा सुधार ल्याउने लक्ष्यसहित सञ्चालनमा ल्याइएको गोठाला भत्ता कार्यक्रमले भेडापालक किसान उत्साहित भएका हुन् ।

जुम्लाका आठ पालिकामध्ये पातारासी, गुठिचौर, तातोपानी र कनकासुन्दरीमा भेडापालन व्यवसाय बढी मात्रा हुने गरेको छ । विभिन्न प्राकृतिक विपत्तिले गर्दा बेला बेला नोक्सानी व्यहोर्दै आएका किसान पशु बीमाको पहुँचमा नहुँदा क्षतिपूर्ति राहत पाउन सकेका छैनन् । हरेक वर्ष बाढी पहिरो र चट्याङबाट सयौँको सङ्ख्यामा भेडा मर्दै आएका छन् ।

एकातिर विपत्तिको कहर, अर्कोतिर कतैबाट क्षतिपूर्ति नपाइरहेको स्थितिमा प्रदेश सरकारले गोठालो भत्ता दिन थालेपछि भेडापालन व्यवसायमा केही राहत भएको किसान भीम बुढा बताउँछन् । प्रदेश सरकारले पशु अस्पताल तथा पशु सेवा कार्यालयमार्फत वर्षेनीप्रति किसानलाई वार्षिक १८ हजारका दरले भत्ता दिने गरेको छ ।

जुन खर्चले खर्क तथा पाटनमा भेडा चराउन जाँदा चाहिने टर्च, पालन, आधारभूत खाद्यान्न लगायतका सामाग्रीको जोहो गर्न सहज भएको उनको भनाई छ । गत वर्ष ५५० जना किसानलाई गोठालो भत्ता दिइएको यस बर्ष जुम्लाका करिब ४२५ जना किसानलाई गोठालो भत्ता उपलब्ध गराइएको पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्लाका प्रमुख ज्ञानेन्द्रसिंह बुढ्थापाले बताए ।

‘आठ वटै स्थानीय तहका भेडापालन किसानलाई प्रवर्द्धन गर्नका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ,’ उनले भने, ‘यो कार्यक्रमले थोरै भए पनि व्यवसाय प्रवर्द्धनमा टेवा पुगेको छ । किसान भेडापालनमा पनि आकर्षित भएका छन् । कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वार्षिक नियमित कार्यक्रममै राख्दै आएको छ ।’

५० भन्दामाथि भेडा बाख्रापालन गरिरहेका र व्यवसायीक रुपमा भेडापालन गर्ने किसानहरूलाई विशेष प्राथमिकता दिएर प्रोत्साहन रकम दिने गरिएको छ । प्रत्येक महिनाको एक हजार ५०० का दरले एक वर्षमा कुल १८ हजार प्रतिकिसानले प्रोत्साहन अनुदानबाट रकम पाउँदै आएका छन् । यो कार्यक्रमबाट बढीभन्दा बढी पातारासी क्षेत्रका किसान लाभान्वित भएको देखिन्छ ।

कृषि उत्पादनमा पनि अब्बल देखिएको पातारासी भेडापालनको पकेट क्षेत्रका रुपमा समेत रहेको छ । जुम्लामा हाल १७ सयभन्दा बढी भेडा किसान छन् । भने ८८ हजार ३८८ भेडा र ४३ हजार ३०६ बाख्रा किसानले पालिएका छन् । जिल्लाभर ६९ हजार हेक्टर चरण क्षेत्र रहेको छ । राज्यले व्यवसाय प्रवर्द्धन र किसानलाई हौसला दिन प्रोत्साहन दिने व्यवस्था गरे पनि चरण क्षेत्रको अभाव, रोगको समयमै उपचारजस्ता समस्या भेडापालक किसान झेल्दै आएका छ ।

गोठालो भत्ता भेडा बिरामी पर्दा सामान्य औषधीमुलो गर्न पनि सहज भएको छ । राहत रकमले थोरै भए पनि सहज भएको भन्दै सरकारले भेडापालनमा सहुलियत कर्जा, अनुदानका कार्यक्रम थप सञ्चालन गर्नुपर्ने किसानको माग छ । चरण क्षेत्र व्यवस्थापनमा लगानी बढाएको खण्डमा भेडापालन, गाईभैँसी पालन व्यवसाय बढ्दै जाने भएकाले स्थानीय सरकारले कृषि पशु क्षेत्रमा उल्लेखीय रुपमा लगानी बढाउनु पर्ने समेत देखिएको छ ।

प्रकाशित मिति : २०८३ असार २५ गते बिहीबार