२०८३ भदौ १७ , बुधबार 2, September 2026, Wednesday

निगमको ट्यांकरबाट ९७३ लिटर पेट्रोल चोरी, ढुवानीकर्ताबाट रकम असुल

नेपाल आयल निगमअन्तर्गत कोसी प्रादेशिक कार्यालय, विराटनगरका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएको नविन ढुवानी सेवा प्रा.लि.को ट्यांकरबाट पेट्रोल चोरी भएको घटना सार्वजनिक भएको छ । निगमका अनुसार को १ ख ६१९० नम्बरको ट्यांकरले भारतीय आयल कर्पोरेसनको सिलिगुडी डिपोबाट २० हजार लिटर पेट्रोल लोड गरी ल्याएको थियो ।

उक्त ट्यांकर असार ७ गते बिहान विराटनगरस्थित डिपो नजिकैको कञ्चनबारी पार्किङमा राखिएको थियो । तर, असार ८ गते बिहान ट्यांकर पार्किङ स्थलबाट हराएको जानकारी ढुवानीकर्ताले निगमलाई दिएको थियो । त्यसलगत्तै नेपाल आयल निगमले जिल्ला प्रहरी कार्यालय मोरङलाई जानकारी गराउँदै खोजी कार्य सुरु गरेको थियो ।

सीसीटीभी फुटेजको अध्ययन गर्दा ट्यांकर असार ८ गते बिहान ३ बजेर ३ मिनेटमा पार्किङ स्थलबाट बाहिरिएको र नोबेल अस्पतालतर्फ गएको देखिएको थियो । त्यसपछि निगम, प्रहरी र ढुवानीकर्ताका प्रतिनिधिले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए । खोजीका क्रममा ट्यांकर विराटनगरबाट करिब १७ किलोमिटर टाढा सुनसरीको भोक्राहा गाउँपालिका–८ अन्तर्गत हुलाकी राजमार्ग क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको थियो ।

ट्यांकरको सिल तथा ताला काटिएको अवस्थामा भेटिएपछि जिल्ला प्रहरी कार्यालय सुनसरी, निगमका कर्मचारी तथा ढुवानीकर्ताका प्रतिनिधिको उपस्थितिमा मुचुल्का तयार गरी थप अनुसन्धान प्रक्रिया अघि बढाइएको थियो । असार १० गते जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय मोरङ, पत्रकार, निगम तथा ढुवानीकर्ताका प्रतिनिधिको रोहवरमा ट्यांकरको सिल खोली पेट्रोलको गुणस्तर र परिमाण परीक्षण गरिएको थियो ।

परीक्षणका क्रममा पेट्रोलको गुणस्तर सामान्य रहेको पाइए पनि २० हजार लिटरमध्ये ९७३ लिटर पेट्रोल चोरी भएको पुष्टि भएको निगमले जनाएको छ । ट्यांकरमा बाँकी रहेको १९ हजार २७ लिटर पेट्रोल निगमको भण्डारणमा सुरक्षित रूपमा खाली गरिएको छ । साथै निगमको पेट्रोलियम पदार्थ ढुवानी विनियमावली–२०७३ अनुसार चोरी भएको पेट्रोलको परिमाण बराबरको दोब्बर रकम ढुवानीकर्ताबाट असुल गरिएको निगमले जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार