२०८३ असार १ , सोमबार 15, June 2026, Monday

चैते धान खेतीतर्फ बाँकेका किसानको आकर्षण

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ असार १ गते सोमबार
????????????????????????????????????????????????????????

बाँके जिल्लामा चैते धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको विभिन्न गाउँपालिकाका किसानहरुको सो खेतीप्रति आकर्षण बढ्दै गएको हो । सो क्रममा जिल्लाको जानकी गाउँपालिकामा चैते धान खेतीप्रति किसानको आकर्षण बढेको छ ।

आधुनिक कृषि प्रविधि, उन्नत बिउ र सिँचाइ सुविधाको विस्तारसँगै किसानले वर्षमा दुई बालीबाट तीन बाली उत्पादन गर्ने अभ्यास अपनाउन थालेपछि उत्पादन तथा आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ ।

जानकी–२ का किसान कृपाराम बर्माले केही वर्षअघिसम्म वर्षमा दुई बाली मात्र उत्पादन गरेर जीविकोपार्जन गर्दै आएका थिए । तर अहिले उनले परम्परागत खेती प्रणालीलाई परिमार्जन गर्दै आधुनिक प्रविधि र उन्नत बिउको प्रयोगमार्फत वर्षमा तीन बाली उत्पादन गर्न थालेका छन् ।

गहुँ वा तोरी भित्र्याएपछि खाली रहने जमिनमा लगाइने चैते धानले अतिरिक्त आम्दानीको स्रोत बनेको बर्माको भनाइ छ । उनले चैते धान किसानका लागि बोनस बालीजस्तै बनेको जनाउँदै यस वर्ष आफुले पहिलो पटक १० कठ्ठा क्षेत्रफलमा चैते धान खेती गरेको बताए ।

यस्तै, जानकी बनकटवाका किसान साबितराम खटिकले पनि चैते धानबाट उत्पादन र आम्दानी दुवै बढेको जनाए । उनका अनुसार पहिले खाद्यान्न किन्नुपर्ने अवस्था रहेकामा अहिले चैते धानबाट बर्खे धानभन्दा समेत बढी उत्पादन लिन किसान सफल भएका छन् ।

गाउँपालिकाका अनुसार ‘सिँचित क्षेत्र विस्तार कार्यक्रम’ अन्तर्गत चैते धान खेतीलाई विशेष प्राथमिकताका साथ प्रवर्धन गरिएको छ । कृषि शाखा प्रमुख मनोज मण्डलले यस वर्ष पालिकाभित्र करिब ५५ कठ्ठा क्षेत्रफलमा चैते धान खेती विस्तार गरिएको जानकारी दिए ।

किसानहरूले चैते–४, चैते–५, हरदिनाथ–१ र हरदिनाथ–४ जातका उन्नत बिउ प्रयोग गरिरहेका छन् । किसानलाई प्रोत्साहन गर्न गाउँपालिकाले अनुदानमा बिउ, कृषि उपकरण तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

गाउँपालिका अध्यक्ष छब्बन खाँले चैते धानबाट सामान्य धानको तुलनामा करिब डेढ गुणासम्म बढी उत्पादन हुने बताउँदै सिँचाइ सुविधा विस्तार र बोरिङ व्यवस्थापनलाई थप प्रभावकारी बनाउने प्रयास भइरहेको जानकारी दिए ।

यद्यपि, सिँचाइ र विद्युत आपूर्तिसम्बन्धी समस्या अझै किसानका प्रमुख चुनौतीका रूपमा रहेका छन् । किसानहरूले न्यून भोल्टेजका कारण आवश्यक समयमा सिँचाइ गर्न कठिनाइ हुने गरेको गुनासो गरेका छन् । सिँचाइ समस्या समाधानका लागि गाउँपालिकाले बोरिङ विस्तार गर्ने तथा सिक्टा सिँचाइ आयोजनाको पहुँच गाउँपालिकासम्म विस्तार गर्न पहल थालेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार