२०८३ जेठ १७ , आइतबार 31, May 2026, Sunday

बजारमा विषादी हालेर पकाएका आँपको खुलेआम बिक्री

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ जेठ १७ गते आइतबार

मौसम नसकिँदै बाँकेका प्रमुख व्यापारिक केन्द्रहरूमा विषादी हालेर पकाइएका आँपको खुलेआम बिक्री वितरण भइरहेको छ । सदरमुकाम नेपालगन्ज, खजुरा, कोहलपुर लगायनका मुख्य बजारहरूमा मानव स्वास्थ्यका लागि अत्यधिक हानिकारक मानिने कार्बाइड (क्याल्सियम कार्बाइड) रसायन प्रयोग गरिएका आँप छ्यापछ्याप्ती भेटिएका हुन् ।

नेपालमा प्राकृतिक रूपमा आँप पाक्ने समय असार महिना भए पनि व्यापारीहरूले बढी नाफा कमाउने उद्देश्यले जेठ महिनामै कृत्रिम रूपमा पकाइएका पहेँला आँप बजारमा सजाएर राखेका छन् । स्थानीय उपभोक्ताका अनुसार यस्ता अस्वस्थकर आँप बजारमा प्रति किलो २०० रुपैयाँदेखि २४० रुपैयाँसम्मको उच्च मूल्यमा बिक्री भइरहेको छ ।

बजारमा जनस्वास्थ्यमाथि यसरी गम्भीर खेलबाड भइरहँदा पनि नियमनकारी निकाय भने मौन बसेको नेपाालगन्जका स्थानीय प्रविण शाहीको आरोप छ । उपभोक्ताहरूको हकहित संरक्षणका लागि भन्दै गठन गरिएको उपभोक्ता संरक्षण मञ्च र स्थानीय पालिकाका बजार अनुगमन टोलीहरू बजारमा देखिएको यो बेथितिप्रति पूर्ण रूपमा उदासीन बनेका छन् ।

अर्का स्थानीय दीपक हमाल भन्छन्, ‘बजारमा विष जस्तो आँप बिक्री भइरहेको सबैलाई थाहा छ, तर पालिकाको अनुगमन टोली र प्रशासनले ध्यान दिएको छैन । अहिले उपभोक्ताहरू चर्को मूल्य तिरेर बिरामी पार्ने फलफूल किन्न बाध्य छन् ।’ नेपाली बजारमा अझै स्थानीय आँप पाकिसकेका छैनन् ।

बजारमा उपलब्ध अधिकांश आँप सीमावर्ती भारतीय बजारबाट सस्तो मूल्यमा कच्चा अवस्थामै आयात गरिएका हुन् । भारतीय भन्सार नाकाहरूबाट कच्चा आँप भित्र्याएर स्थानीय गोदाम र घुम्ती पसलहरूमा कार्बाइडको प्रयोग गरी एकै रातमा पहेंलो र आकर्षक बनाइने गरेको जानकारहरू बताउँछन् ।

कृत्रिम रूपमा कार्बाइड हालेर पकाइएको आँप सेवन गर्नु स्वास्थ्यका लागि निकै घातक हुने स्वास्थ्यकर्मीहरूले बताएका छन् । बजारमा मौलाएको यो कालोबजारी र जनस्वास्थ्यमाथिको खेलबाड रोक्न स्थानीय प्रशासन तथा स्थानीय तहहरुले संयुक्त रूपमा तत्काल आकस्मिक बजार अनुगमन सुरु गर्नुपर्ने माग उठिरहेको छ ।

प्रकाशित मिति : २०८३ जेठ १७ गते आइतबार