२०८३ जेठ ६ , बुधबार 20, May 2026, Wednesday

नेपाली चियामा हुँदै आएको भारतीय अवरोध हट्यो

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ जेठ ६ गते बुधबार

भारतले नेपाली चिया निर्यातमा लगाएको गैरभन्सार अवरोध २० दिनपछि हटाएको छ । चिया निर्यातको मुख्य सिजनमै भारतले एक्कासी कडाइ गरेपछि समस्यामा परेका व्यवसायीलाई बुधबारदेखि राहत मिलेको हो । भारतीय वाणिज्य तथा उद्योग मन्त्रालय अन्तर्गतको चिया बोर्डले मंगलबार राति नयाँ सूचना जारी गर्दै प्रयोगशाला परीक्षणसम्बन्धी व्यवस्था खुकुलो पारेको हो ।

नयाँ व्यवस्था अनुसार अब नेपालबाट भारततर्फ जाने चियाको हरेक खेप र प्रत्येक ट्रकको अनिवार्य परीक्षण गर्नुपर्ने व्यवस्था हटाइएको छ । अब ‘ र्‍यान्डम स्याम्पलिङ’ अर्थात् आकस्मिक नमूना छनोटका आधारमा मात्रै परीक्षण गरिने बोर्डले जनाएको छ । यसअघि नेपाली चिया बोकेका प्रत्येक ट्रक र ब्रान्डको छुट्टाछुट्टै नमूना संकलन गरी प्रयोगशाला परीक्षणमा पठाइने गरिएको थियो ।

परीक्षण रिपोर्ट आउन ढिलाइ हुँदा सीमामा चिया बोकेका गाडी दिनौं रोकिनुपर्ने अवस्था बनेको थियो । त्यसबाट व्यवसायीले ठूलो आर्थिक नोक्सानी व्यहोर्नुपरेको बताएका थिए । चिया व्यवसायी सुरेश मित्तलका अनुसार भारतले लगाएको गैरभन्सार अवरोध हटाएको पत्र आएपछि निर्यात प्रक्रिया सहज बनेको हो । नेपाल चिया उत्पादक संघका अध्यक्ष आदित्य पराजुलीले पनि नयाँ सूचनासँगै निर्यातको बाटो खुलेको जानकारी दिए ।

भारतीय खाद्य सुरक्षा एवं मानक प्राधिकरण (एफएसएसएआई)सँगको समन्वयपछि अब भारतीय भन्सारमा पुग्ने सबै खेपको परीक्षण नहुने व्यवस्था गरिएको छ । भन्सारमा पुगेका केही नमूना मात्रै परीक्षणका लागि पठाइनेछ । यस निर्णयसँगै काँकडभिट्टा लगायत पूर्वी नाकाबाट हुँदै आएको नेपाली अर्थोडक्स तथा सिटीसी चियाको निर्यातमा देखिएको ठूलो अवरोध हटेको व्यवसायीहरूले बताएका छन् ।

यसले निर्यात लागत घटाउनुका साथै भारतीय बजारमा नेपाली चियाको पहुँच सहज हुने अपेक्षा गरिएको छ । भारत नेपाली चियाको प्रमुख बजार हो । नेपालमा उत्पादित अर्थोडक्स तथा सिटीसी चिया उच्च गुणस्तरका कारण अन्तर्राष्ट्रिय बजारमा समेत लोकप्रिय मानिन्छ । आर्थिक वर्ष २०८१–०८२ मा नेपालमा २० हजार ६०२ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट दुई करोड ६१ लाख २३ हजार १११ किलोग्राम तयारी चिया उत्पादन भएको थियो ।

सोही अवधिमा नेपालले चार अर्ब ५९ करोड आठ लाख रुपैयाँ बराबरको चिया निर्यात गरेको तथ्यांक छ । हाल देशभर १७० वटा ठूला चिया बगान तथा १२० वटा साना र मझौला चिया बगान सञ्चालनमा छन् । चिया क्षेत्रमा १५ हजारभन्दा बढी साना किसान प्रत्यक्ष संलग्न छन् भने बगानदेखि उद्योगसम्म गरी एक लाखभन्दा बढी श्रमिकले रोजगारी पाएका छन् ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार