पोखरा महानगरपालिका–१३ बगरकोट कसेरीस्थित विजयपुर खोलाको किनारमा गत फागुनमा रोपिएका तरबुजाका लहरामा अहिले लटरम्म फल लागेको छ । लामो समयदेखि बाँझो रहेको यहाँको २५ रोपनी बलौटे जमिनमा पोखरा–२२ पुम्दीभुम्दीका ३२ वर्षीय सुन्दर बरालले व्यावसायिक तरबुजाखेती सुरु गरेका हुन् ।
उनले फागुनमा सरस्वती जातका तीन हजार ५०० बिरुवा लगाएका थिए । अहिले उनको बारीबाट औसतमा दैनिक २०० केजी तरबुजा बिक्री भइरहेको छ । प्रतिकेजी ६० रुपैयाँका दरले दैनिक १२ हजार रुपैयाँको कारोबार भइरहेको बरालले बताए । यस वर्ष १५ लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनको लक्ष्य छ । ‘तरबुजाको बजारका लागि चिन्ता लिनुपर्दैन, व्यवसायीहरू बारीमै लिन आइपुग्नुहुन्छ,’ उनले भने ।
पहिलो वर्ष परीक्षणका रूपमा दुई रोपनीमा लगाएको तरबुजाले राम्रो उत्पादन दिएपछि खेती विस्तार गरिएको उनले जानकारी दिए । वर्षमा एक बाली धानखेती मात्र हुने र बाँकी समयमा बाँझै रहने खेतमा छोटो समयमै राम्रो आम्दानी लिन सकिने नगदे बालीका रूपमा तरबुजाखेती रोजेको उनको भनाइ छ । सोही स्थानमा अर्का किसान भरतबहादुर पराजुलीले पनि ११ रोपनी जग्गामा तरबुजाखेती गरेका छन् ।
फागुन अन्तिम साता सारेका बेर्नाले अहिले उत्पादन दिन थालेका छन् । ‘यस वर्ष तीन लाख रुपैयाँभन्दा बढी आम्दानी हुने विश्वास छ, बारीमा काँक्रो र सिमी लगायतका तरकारी पनि उत्पादन भइरहेको छ,’ पराजुलीले भने । उनका अनुसार पोखरा महानगरपालिका कृषि महाशाखाले बीउ र ‘मल्चिङ’ प्लास्टिक ५० प्रतिशत अनुदानमा उपलब्ध गराएको छ । बिरुवा फस्टाउँदै गर्दा चैत १७ गते र फूल खेल्दै गर्दा वैशाख १० गते परेको असिनासहितको पानीले खेतीमा केही क्षति गरेको उनले सुनाए ।
‘अहिले बाँदरले खाने र मानिसले चोरी गरेर लैजाने समस्या पनि थपिएको छ,’ उनले भने । तरबुजाखेतीका लागि बलौटे माटो र बढी तापक्रम आवश्यक पर्ने पराजुलीको अनुभव छ । पोखरा महानगरपालिका–१३ का अध्यक्ष किरण बरालका अनुसार दुई वर्षअघि माटो परीक्षण गरी सुरु गरिएको तरबुजाखेतीमा यतिबेला युवाहरू पनि आकर्षित भएका छन् । यस क्षेत्रमा अघिल्लो वर्ष एक करोड ५० लाख रुपैयाँको तरबुजा उत्पादन भएको थियो ।
यस वर्ष भने असिना र पानीका कारण क्षति पुगेकाले उत्पादनमा केही कमी आउने अध्यक्ष बरालले बताए । यस क्षेत्रमा अहिले २५ जना किसान व्यावसायिक रूपमा तरबुजाखेतीमा सक्रिय छन् । पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाका अनुसार महाशाखाले कृषकलाई कृषिप्रति प्रेरित गर्नका लागि विभिन्न सहुलियत प्रदान गर्दै आएको छ । तरबुजाखेतीका लागि बीउ, मल्चिङ प्लास्टिक, असिना छेक्ने जाली र प्राङ्गारिक मलमा ५० प्रतिशत अनुदान प्रदान गरिएको कडरियाले जानकारी दिए ।
दोस्रो तरबुजा मेला
तरबुजा र खरबुजाखेती गर्ने किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले यही जेठ ५ गते पोखरा महानगरपालिका–१३ को वडा कार्यालय परिसरमा ‘तरबुजा मेला’ आयोजना गर्न लागिएको छ । मेलामा उत्कृष्ट किसानलाई सम्मान गरिने कृषि सञ्जाल पोखरा–१३ का अध्यक्ष नरेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । मेलाको सम्पूर्ण तयारी पूरा भएको र मेलामा विभिन्न प्रतियोगिताहरू समेत गरिने अधिकारीले बताए । गर्मी बढेसँगै पोखरा बजारमा पर्यटकीय चाप बढेको र यसले तरबुजाको माग पनि उच्च बनाएको छ ।
सत्यपाटी