२०८३ वैशाख २० , आइतबार 3, May 2026, Sunday

भन्सारमा कडाईले नेपालगन्ज चलायमान, व्यवसायी उत्साहित

सत्यपाटीसत्यपाटी । बाँके । २०८३ वैशाख २० गते आइतबार

वैशाख महिनाको सुरुबाटै भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियमलाई सरकारले कडाईका साथ लागु गर्दा नेपालका स्थानीय बजारमा व्यापार व्यवसाय बढ्न थालेको छ । नाकामा गरिएको कडाईका कारण खरिदका लागि सीमापारी जाने नेपाली उपभोक्ताको संख्या ह्वात्तै घटेपछि सीमापारीको रुपैडिहा बजार सुनसान हुँदै गएको छ भने सीमावारिको नेपालगन्ज बजार चलायमान हुन थालेको छ ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामीले सरकारले वैशाख २ गतेदेखि भन्सार महसुल नियममा कडाइका साथ कार्यान्वयन गर्दै १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार शुल्क लाग्ने व्यवस्था लागू गरेपछि सीमाक्षेत्रको व्यापारिक गतिविधिमा असर परेको बताए । उनले नाकामा कडाई गरिएपछि नेपालगन्ज लगायतका स्थानीय सीमावर्ती नेपाली बजारमा चहलपहल र व्यापार व्यवसाय बढेको जनाउँदै सीमापारिको व्यापार ह्वात्तै घटेको बताए ।

यसअघि बाँकेका मात्र नभई दाङ, बर्दिया र सुर्खेतसम्मका नेपाली उपभोक्ताले सीमापारी रुपैडिहा गएर दैनिक खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायत सामग्री खरिद गरी ल्याउने गरेकोमा सरकारको निर्णय कार्यान्वयनमा आएपछि नेपाली बजार चलायमान बन्दै गएको नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अब्दुल वाहीद मन्सुरीले बताए । उनले आफुहरुले लामो समयदेखि यो नियम कार्यान्वयनका लागि संघर्ष गर्दै आएकोमा हाल आएर वर्तमान सरकारले सुनुवाई गरेकोमा राहत मिलेको बताए ।

नेपालगन्ज उपमहानगरपालिका–३ का कपडा व्यवसायी केदार गुप्ताले धेरै समयपछि हाल आएर पसलमा स्थानीय ग्राहकको आगमन वृद्धि हुनुका साथै व्यापार समेत बढेको बताए । उनले सरकारले नाकामा गरेको कडाईपछि कपडा खरिद गर्ने नेपाली उपभोक्ता सीमापारी जानेक्रम घट्दै गएको पाइएको बताए । स्थानीय व्यापारी, उद्यमी तथा स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सरकारको यो निर्णय प्रशंसायोग्य रहेको भन्दै यसलाई नेपालगन्जका अधिकांश व्यवसायीले अति नै सकारात्मक कदम भएको बताएका छन् ।

यसअघि खुला सीमा र कमजोर निगरानीका कारण दैनिक रूपमा हजारौँ नेपाली उपभोक्ता रुपैडिहा पुग्ने गरेका थिए । अहिले कडाई बढेपछि अधिकांश उपभोक्ताले नेपाली बजार नै रोज्न थालेको नेपालगन्जको त्रिभुवन चोकका किराना व्यवसायी अशोक गुप्ताले बताए । उनले यसलाई निरन्तरता दिनुपर्ने माग गर्दै नेपाली बजारलाई थप चलायमान बनाउन सरकारले धेरै वस्तुको भन्सार शुल्क समेत परिमार्जन गर्नु आवश्यक रहेको माग गरे ।

रुपैडिहा बजार सुनसान

भारतबाट १०० रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सार महसुल तिर्नुपर्ने नियमलाई कडाईका साथ लागु गरिएपछि सीमापारिको रुपैडिहा बजार सुनसान हुन थालेको छ । नाकामा कडाईका कारण रुपैडिहामा ग्राहक संख्या ह्वात्तै घटेको भारतीय व्यापारीहरूको भनाइ छ । जमुनाहा नाकामा १०० रूपैयाँभन्दा बढी मूल्यको सामान भएमा भन्सार तिर्नैपर्ने नियमलाई कडाईका साथ लागु गरिएपछि रुपैडिहा पुग्ने नेपाली उपभोक्ता ह्वात्तै घटेको रुपैडिहाका व्यवसायी महेन्द्र जयसवालले बताए ।

उनले नेपाली उपभोक्ताकै कारण बाह्रै महिना अत्यधिक भिड हुने रुपैडिहा बजार अहिले सुनसान बन्दै गएको जनाउँदै बजारमा नेपाली उपभोक्ता देखिन छाडेपछि बिक्री पनि आधाभन्दा बढी घटेको बताए । रुपैडिहाका कपडा व्यवसायी रजा इमामले अहिले रुपैडिहा बजारमा नेपाली उपभोक्ता आउने क्रम धेरै कम भएको जनाउँदै सोही कारणले व्यापार व्यवसाय घट्दै गएको बताए । यस्तै अर्का भारतीय व्यवसायी नरेश मित्तलले पनि दिनभरी कुरा गर्ने समेत फुर्सद नहुने रुपैडिहामा अहिले नेपाली ग्राहकको प्रतिक्षामा दिन वित्ने गरेको सुनाउँदै व्यापार बन्द जस्तै भएको बताए ।

भन्सार महसुलमा वृद्धि

१०० रुपैयाँभन्दा बढीको सामान भारतबाट ल्याउँदा महसुल तिर्नुपर्ने नियमलाई कडाईका साथ कार्यान्वयन गरिँदा नेपाल भारत नाकाको जमुनाहामा रहेको फुटकर महसुल संकलन काउन्टर यात्रु शाखामा भन्सार राजस्व असुली वृद्धि भएको छ । नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले जमुनाहाको नाकामा रहेको भन्सारको यात्रु शाखा पहिलेदेखि नै सक्रिय रहेपनि अहिले प्रहरी र सशस्त्र प्रहरीको संयुक्त प्रयासमा १०० रुपैयाँभन्दा बढीको सामानमा कडाई गरिएपछि राजस्व संकलन वृद्धि भएको बताए ।

उनले वैशाख २ गतेभन्दा अघिसम्म फुटकर भन्सार शुल्क असुली गर्ने यात्रु शाखामा दैनिक दुई लाख ५० हजारसम्म राजस्व संकलन हुँदै आएकोमा २ गतेपछि हाल आएर दैनिक तीन लाखदेखि तीन लाख ७५ हजारसम्म राजस्व संकलन भइरहेको बताए । राजस्व संकलन धेरै ठुलो परिमाणमा नबढेपनि यो कडाईले आफ्नै बजारमा खरिद गर्नुपर्ने सन्देश दिएर धेरै नेपाली उपभोक्तालाई रोक्न सफल भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।

तस्करी नियन्त्रण गर्न माग

नाकामा सय रुपियाँको नियममा कडाई गरिएपछि नेपाली उपभोक्ता सीमापारी जानेक्रम घट्दै गएको र नेपाली बजार चलायमान हुँदै गएको अवस्थामा भारतबाट हुने गरेको अवैध तस्करी र आयात बढ्ने आशंका भएकोले सो रोक्न पनि कडाई गर्नुपर्ने माग स्थानीय उपभोक्ताले गरेका छन् ।

नेपालगन्जका नागरिक अगुवाहरुले नाकामा कडाई गर्नु धेरै राम्रो र सराहनीय कार्य भएको जनाउँदै सोसंगै भारतबाट हुँदै आएको तस्करी, अवैध क्यारिंग र अवैध आयातलाई पनि शुन्यमा झार्नुपर्ने माग गरे । उनीले सर्वसाधारणले भन्सार राजस्व नतिरेर सीमापारीबाट सामान ल्याउन नपाउने तर व्यवसायीले अवैध रुपमा क्यारिङ्ग गराएर सामान भित्रयाई महंगोमा विक्री गर्ने कार्य हुन नहुनेतर्फ सरोकारवालाई सचेत गराए । नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले पनि खुला सीमानाकाका कारण हुने गरेको तस्करी र अवैध आयातलाई पनि कडाईका साथ रोक्नुपर्ने बताए ।

उनले तस्करी र अवैध आयातले वैध कारोबार गर्ने र उपभोक्तालाई समेत ठुलो प्रभाव पार्ने हुँदा सो रोक्न आवश्यक रहेको जनाए । यसैबीच बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले अवैध आयात र तस्करीलाई कडाईका साथ रोक्ने जनाउँदै दैनिकजसो ठुलो परिमाणको अवैध सामान बरामद हुन थालेकोले प्रहरी प्रशासनले कडाई शुरु गरेको पुष्टि भएको बताए । उनले तस्करी रोक्नुका साथै बजार अनुगमनलाई पनि कडाईका साथ कार्यान्वयन गरिने जानकारी गराए ।

स्रोत : गोरखापत्र अनलाइन
प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार