बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भएको दुई दशकमा करिब २४ अर्ब रुपैयाँ खर्च हुँदा २४ हजार भन्दा बढी हेक्टरमा सिँचाइ सुविधा पुगेको छ । सिक्टा सिँचाइ आयोजनाका निर्देशक राजु आचार्यले आयोजना सुरु भएदेखि हालसम्मको कुल खर्च २३ अर्ब ७७ करोड २९ लाख रुपैयाँ पुगेको जानकारी दिए ।
सो लगानीमा हालसम्म जिल्लाको २४ हजार ७६६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको उनले बताए । आयोजनाका निर्देशक आचार्यले बाँकेको राप्तीसोनारी गाउँपालिका–२, अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी सञ्चालन गरिएको आयोजनाले जिल्लाको ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइ पुर्याउने लक्ष्य लिएकोमा आर्थिक वर्ष २०८२–०८३ को चैत मसान्तसम्म २४ हजार ७६६ हेक्टर जमिनमा प्रत्यक्ष सिँचाइ सुविधा पुर्याएको जानकारी दिए ।
आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर मनोजकुमार साहका अनुसार अन्तिम पटकको संशोधित गुरुयोजना बमोजिम ५२ दशमलव ६४ अर्बको लागत अनुमानमा आव २०८९–०९० मा सम्पूर्ण काम सम्पन्न गर्नेगरी अहिले निर्माण कार्य भइरहेको छ । उनले आयोजनाको काम शुरु भएको दुई दशक बितिसक्दा हालसम्म ४६ प्रतिशत भौतिक प्रगति हासिल भएको भए पनि आकाशे पानीको भरमा मात्र खेती गर्ने जिल्लाका किसानको २४ हजार बढी हेक्टरमा सिँचाइ सुविधा पुग्दा खेती गर्न सहज भएको बताए ।
योजनाको निर्माणमा ढिलाई हुनुका कारणहरूमध्ये एक कारण माग गरे जतिको बजेट नपाउनु पनि रहेको आयोजनाले जनाएको छ । आयोजनाका निर्देशक आचार्यले चालु आवका लागि स्वीकृत गुरुयोजना बमोजिम तीन अर्ब ३० करोड ५९ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको बताए । उनले मागको आधाभन्दा कम एक अर्ब ५७ करोड मात्र बजेट प्राप्त भएको बताउँदै भने, ‘चालु आवको चैत मसान्तसम्मको विवरण अनुसार कुल ८५ करोड ७७ लाख ९८ हजार ३११ खर्च भइसकेको छ, यो अवधिको तथ्याङ्क अनुसार आयोजनाले ७६ दशमलव ३१ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ भने वित्तीय प्रगति ५४ दशमलव ४८ प्रतिशत रहेको छ ।’
सिक्टा सिँचाइ आयोजनाको निर्माणमा तिव्रता ल्याउन माग गरिए बमोजिमको बजेट उपलब्ध गराउनुका साथै अन्य विभिन्न बाधा अवरोधलाई पनि समयमै हटाउन आवश्यक रहेको किसान र नागरिक अगुवाको माग छ । कुनै पनि आयोजनाको निर्माणलाई समयमै पुरा गर्न आवश्यक बजेट उपलब्ध गराउनुका साथै अन्य विभिन्न सहयोग पनि समयमै गर्नुपर्ने बाँकेका किसानको माग छ । आयोजनाका अनुसार पश्चिमी नहर र पूर्वी नहर गरी दुई मुख्य नहरबाट पानी वितरण गरी शाखा नहरबाट सिँचाइको व्यवस्था गरिएको छ ।
सत्यपाटी