२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

गीत बज्छ स्रष्टा हराउँछन् !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८३ वैशाख ६ गते आइतबार

गीत बज्ने तर त्यसका स्रष्टा ओझेलमा पर्ने प्रवृत्ति विरुद्ध पोखराबाट सशक्त आवाज उठेको छ । अब कुनै पनि साङ्गीतिक प्रस्तुति दिँदा गीतकार, सङ्गीतकार र गायक तथा गायिकाको नाम अनिवार्य रूपमा उच्चारण गर्नुपर्ने माग सरोकारवालाहरूले गरेका छन् ।

पोखरामा गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित ‘नेपाली गीत सङ्गीतमा रचनाकार, सङ्गीतकार र गायक तथा गायिकाको भूमिका’ विषयक अन्तरक्रियामा प्रस्तुत अवधारणापत्र मार्फत यस्तो माग अघि सारिएको हो ।

प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीले साङ्गीतिक क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेर सात बुँदे अवधारणापत्र तयार पारिएको जानकारी दिए । अधिकारीका अनुसार अवधारणापत्रले एउटा गीत शब्द, सङ्गीत र स्वरको संयुक्त सृजना भएकाले तीनै पक्षको समान पहिचान सुनिश्चित हुनुपर्नेमा जोड दिइएको छ ।

त्यसअनुसार रियालिटी शो, प्रतियोगिता, मञ्चीय कार्यक्रम वा नृत्य प्रस्तुतिमा समेत गीतकार, सङ्गीतकार र गायक तथा गायिकाको नाम अनिवार्य उच्चारण गर्नुपर्ने प्रस्ताव गरिएको छ । कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति सरुभक्तले साङ्गीतिक क्षेत्रभित्र देखिएको पहिचानको समस्या समाधान गर्न अब केवल बहस होइन, व्यवहारमै परिवर्तन आवश्यक रहेको सन्देश पोखराबाट उठेको बताए ।

गीतसँगै स्रष्टाको नाम पनि गुञ्जिने वातावरण बनाउन सकेमात्र सर्जकको सम्मान र अधिकार सुनिश्चित हुने तथा स्रष्टाको नाम उच्चारण गर्ने विषयमा विशेषगरी सञ्चारमाध्यमहरू सचेत हुनुपर्ने उनको भनाइ छ । उनले स्रष्टाले आफ्नो अस्तित्वको खोजी गरिरहेको उल्लेख गर्दै रोयल्टी व्यवस्थापनमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।

वरिष्ठ लोकगायिका हरिदेवी कोइरालाले आफ्ना गीत अरूकै नाममा रेकर्ड हुने र प्रस्तुति दिँदा नामसमेत नलिइने अवस्थाप्रति दुःख व्यक्त गर्दै कार्यक्रम स्रष्टाको न्यायका लागि केन्द्रित भएको बताइन् । उनले प्रतिलिपि अधिकारबारे सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिइन् । विम्बकवि तथा गीतकार रमेश श्रेष्ठले स्रष्टाबिना सृजना सम्भव नहुने भन्दै स्रष्टालाई प्राथमिकता दिनुपर्ने बताए ।

त्रिवेणी सङ्गीतालयका प्रबन्ध निर्देशक नवराज बरालले गुणस्तरीय सङ्गीत उत्पादनका लागि गीतकार, सङ्गीतकार र गायक तथा गायिकाबीच संवाद र सहकार्य आवश्यकतामा जोड दिए । गण्डकी प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘बिखर्ची’ले एकले अर्काको अस्तित्व स्वीकार्नुपर्ने बताए । गायक कर्णदास, गायक रामभक्त जोजिजू, गायक विनोद बानियाँले देश विदेशमा हुने प्रस्तुतिहरूमा गीतसँग सम्बद्ध सबैको नाम अनिवार्य उच्चारण गर्नुपर्ने धारणा राखे ।

प्रकाशित मिति : २०८३ वैशाख ६ गते आइतबार