२०८३ वैशाख ६ , आइतबार 19, April 2026, Sunday

आफ्नै पौरखमा बाँच्नेहरू

राधिका बुढाथोकीराधिका बुढाथोकी । सिन्धुली । २०८३ वैशाख ४ गते शुक्रबार

वैशाखको चर्को घामले जमिन तातेको छ । शीतल दिने छहारी छैन । छाता ओढेर ग्राहकको प्रतिक्षामा छन्, ढाटिमाया दर्जी, सुकुमाया थिङ र फूलमाया वाइवा । छाताले शीर ढाकिए पनि जीवनका सङ्घर्षहरु ढाकिन सकेका छैनन् । फागुन–चैतको आँधीहुरी होस्, वैशाख–जेठको चर्को घाम वा असार–साउनको झरी किन नहोस्, दैनिक हाट र फुटपाथमा संर्घष गरिरहेका भेटिन्छन् ।

७१ वर्षीया ढाटिमाया दर्जीले यो यात्रा सुरु गरेको झन्डै तीन दशक बित्नै लागिसकेको छ । २७ वर्षअघि उहाँले ३५ रुपैयाँको लगानीमा व्यापार सुरुवात गर्नुभएको थियो । ढाटिमायाको व्यापारीक यात्रा फापरको सागबाट भएको हो । ‘किसानसँग प्रतिमुठ्ठा दुई रुपैयाँका दरले १८ मुठ्ठा सागलाई ३६ रुपैयाँ पथ्र्यो, मलाई किसानले एक रुपैयाँ छुट दिनुभयो । मैले त्यो साग तीन रुपैयाँ नाफा लिएर प्रतिमुठा पाँच रुपैयाँमा बेचेँ । ३५ रुपैयाँको लगानी बढेर ५५ रुपैयाँको भयो,’ उनले विगत सम्झिदै सुनाइन् ।

पहिला सिन्धुलीसँगै रामेछाप, दोलखासम्मका हाट, मेला, महोत्सवमा व्यापार गर्न पुग्ने ढाटिमायाले त्यसरी नै व्यापार विस्तार गर्दै गइन् । ३५ रुपैँयाबाट सुरुवात गरेको व्यापार बढेर अहिले झन्डै ३५ हजारको भएको छ । सिन्धुलीको सदरमुकाम सिन्धुुलीमाढीमा साप्ताहिक रुपमा लाग्ने शनिबारे हाटको उनी नियमित व्यापारी हुन् । आज पनि गाउँमा उत्पादित मौसम अनुसारका उत्पादन बेचिराखेकी छन् । साग, अदुवा, बेसार, केरा, खुर्सानी, अमला, बदाम, अम्बा, गुन्द्रुकजस्ता सामान उनी बिक्रीमा राख्छिन् ।

उनी भन्छिन्, ‘मेरो हैसियत अनुसारको व्यापार गरिरहेको छु । आजसम्म कसैसँग मागेर खानुु परेको छैन । म आफ्नै पौरखमा बाँचेको छु । जेनतेन घरखर्च धानेकै छु ।’ आज आमाको मुख हेर्ने दिन । उनलाई पनि आफ्ना सन्तानले आज अरु आमाका छोरोछोरीले जस्तै मुख हेर्न आउनान् कि भन्ने आशा लाग्छ तर कसैले वास्ता गर्दैनन् । ढाटिमायाका आठ सन्तान थिए–पाँच छोरी र तीन छोरा । सबै छोरी र कान्छो छोरो अकाल्मै बिते । बाँचेका दुई छोरा–बुहारीको पनि साथ छैन उनलाई ।

टन्टलापुर घाममा व्यापार गर्ने ढाटिमायालाई घामको तापले भन्दा बितेका सन्तानको शोकले पिरोलिरहन्छ । उनको साथमा श्रीमान त छन् । तर कठिन सङ्र्घषमा सधैँ एक्लै जुध्न परेको तीतो अनुभवले सुनाइन् । ढाटिमायाकै सारथी हुन्, सुकुमाया । उमेरले ८० कटेकी सुकुमाया ३५ वर्ष भयो व्यापारमा लागेको । यस अवधिमा भिमानमा लाग्ने शुक्रबारे हाट, सिन्धुलीमाढीमा लाग्ने बुधबारे र शनिबारे हाटदेखि दोलखा, रोमछापमा लाग्ने हाटमासमेत उनी पुगेकी छन् । अझैसम्म पनि यो यात्रा रोकिएको छ ।

‘आफैँमा आत्मनिर्भर भएमा कसैले हेप्न सक्दैन । शरीरले साथ दिएसम्म मिहेनत गर्छु । मलाई कसैको आशा पनि छैन,’ सुकुमायाले भनिन् । सानो लगानीमा मुठ्ठी, मानोको व्यापार गरेरै पनि जीविका चलाउन सकिने उनी बताउँछिन् । सुको मानो खुर्सानी बेचेकी फूलमायालाई बजारमा सामानको मूल्य आकासिएको देख्दा आत्तेसै लाग्छ । उनले शनिबारे हाटमा मात्रै ३१ वर्ष भयो व्यापार गर्नुभएको । गाउँघरमा उत्पादन भएका अर्गानीक सागसब्जी, फलफूल लगायतका सामान उनले बेच्दै आएकी छन् ।

उमेरले ७२ वर्ष पुगेकी फूलमायालाई आफ्ना पाखुरा चलुन्जेल कसैलाई पनि दुःख दिने मन छैन । ‘मेरो छोरा नेपाली सेनामा जागिरे छ । तर, आजसम्म छोरालाई दुख दिएको छैन । म आफ्नै कमाइले बाँचिरहेको छु । यसैगरी काम गर्दागर्दै, पैसा कमाउँदा–कमाउँदै मर्न पाइओस्,’ उनले भनिन् । ढाटिमाया, सुकुमाया र फूलमाया एकअर्काको सारथी हुन् । प्रायः हाटमा व्यापार सँगै–सँगै गरेको देखिन्छ । आज पनि उहाँहरु शनिबारे हाटमा लहरै बसेर व्यापार गरिराख्नु भएको छ । हाटमा मात्रै कहाँ हो र ! फुटपाथमा पनि सानो लगानीमा व्यापार गर्नेहरु महिला बाक्लै भेटिन्छन् । सावित्री थापाले फुटपाथमा व्यापार सुरु गरेको चार वर्ष वित्यो ।

उनी दैनिक बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सिन्धुलीमाढी क्षेत्रकै फुटपाथमा व्यापार गर्छिन् । यसका बाध्यता धेरै छन् । उनी दुई सन्तानकी आमा हुन् । छोरीको विवाह भइसकेको छ । छोराका दुई नाति छन् तर कमाएर पाल्ने छोरो विरामी भएर थलिएपछि उनले ६० वर्षको उमेर फुटपाथमा व्यापार गर्नुपरेको हो । आज उनले सिन्धुलीमाढीस्थित भेटेनरी चोकमा खुर्सानी, कुखुराको अण्डा, केरा, गुन्द्रिुक, वन सिलाम, टिमुर, बेसार बेच्न राखेकी छन् । व्यापारबाट दैनिक कमाइ ४०० देखि एक हजारसम्म हुने गरेको उनले बताइन् ।

त्यसो त ८० वर्षीया देवकुमारी भुजेल पनि फुटपाथमै सङ्र्घष गरिराखेकी छन् । पोलेको र हरियो मकै, बेसार, खुर्सानी, अमला उनले बेच्छिन् । सामाजिक सुरक्षा भत्ताले औषधि खान नपुगेपछि उनी अझैसम्म पनि सडकमा सङ्घर्ष गर्न बाध्य छन् । आफ्ना सन्तानको अपहेलना सहन नसकेर उनी छुट्टै कोठा भाडामा लिएर बस्दै आएकी छन् । देवकुमारीलाई एक्लो बुढेसकाल बिताउन जति सङ्र्घष छ, त्यत्तिकै कठिन छ, अनितादेवी रामलाई तीन सन्तानको पालनपोषण गर्न । श्रीमान् बितेपछि फुटपाथमा उनको सङ्घर्ष सुरु भएको हो ।

महोत्तरीका गौशलाकी अनितादेवीको परिवार १२ वर्षदेखि कमलामाई नगरपालिका–५ चिसापानीमा कोठा भाडामा बस्दै आएको छ । परिवारको एक मात्रै साहारा बनेका विजय राम रोगले थलिएर बितेपछि अनितादेवी बेसहारा भए । आफन्त, परिवारको समेत उनले साथ पाइनन् । विजय बित्दा जेठो छोरो १० वर्षका थिए । भोक मेटाउन गासको समस्या बढ्न थालेपछि उनले विजयले गरेको कामलाई निरन्तरता दिन थाले । गौमती नमूना माध्यमिक विद्यालयमा कक्षा पाँचमा पढ्दै गरेका चन्दनको पढाइ छुटेपछि अनितादेवी आफैँले चुत्ता–चप्पल सिलाउन, पोलिस लगाउन सिकिन् ।

आफूले सीप जानेपछि छोरालाई पढ्न विद्यालय पढाइन्, आफू काममा खटिइन् । यो यात्राको सुरुआत सजिलो थिएन । श्रीमानको निधनपछि जीवनले एका–एक कठिन मोड लियो । ‘पहिला म घरायसी धन्दामै व्यस्त हुन्थेन । मैले यो काम जानेकै थिइन । बुबाले गरेका काम देखेर बरु छोराले जानेको रहेछ, मैले उसैसँग काम सिकेर गर्न थालेकी हुँ,’ उनले सुनाइन् । श्रीमान् साथमा हुँदा घरधन्दामा मात्रै सीमित रहेकी अनितादेवीले पछिल्लो समय बाहिरको काम पनि भ्याउनुपर्ने बाध्यता छ ।

बिहानको घरधन्दा सकेर छोराछोरीलाई विद्यालय पठाउनु अनि आफूलाई आवश्यक पर्ने औजार बोकेर फुटपाथमा चुत्ता–चप्पल सिलाउन निस्किनु उहाँको दैनिकी हो । ‘दिनभरि चुत्ता–चप्पल सिलाउँदा हातका औँला छेडिन्छन्, पाखुरा दुखेर कहिले राम्रो निन्द्रा पर्दैन । काम दुःखको छ । तर, गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन् । अनितादेवीले जुत्ता, चप्पल सिलाएको १०० र जुत्ता पोलिस गरेको रु ५० लिने गरेकी छन् । पोलिस, जुत्ता सफा गर्ने ब्रस, सोल र जुत्ताको लेस बेच्न राखेकी छन् । उनका श्रीमानले त्यही जुत्ता सिलाउने पेसाबाटै दैनिक १५ सयदेखि १८ सयसम्म कमाउँथे । अनितादेवीको भने कमाई कम हुन्छ ।

उनी भन्छिन्, ‘कहिले कमाइ नै हुँदैन । कहिले ५०० देखि रु एक हजारसम्म हुन्छ ।’ महिला भएकाले अनितादेवीलाई पुरुषले जुत्ता, चप्पल सिलाउन, पोलिस गर्न दिनुहुँदैन । लक्ष्मीको रुप मानेर होला, महिलाबाट मात्रै काम आउँदा आम्दानी कम हुने उनको भनाइ छ । फुटपाथमा बसेर काम गर्दा उनले धेरै खालका व्यवहार पनि भोगिन् । समाजको दृष्टि, आफ्नै सङ्कोच र लाजले उनलाई धेरैपटक टुटाएको थियो । ‘कतिपयले खिसिटिउरी गर्थे । यो काम पुरुषले मात्रै गर्ने हो, तिमी भाँडा माझ्ने काम खोज्न जाउ पनि भने,’ अनितादेवीले सुनाइन् । उनले सुरु–सुरुमा अप्ठ्यारो मान्दै, लजाउँदै सुरु गरेको यो यात्राले साढे तीन वर्ष पार गर्न लागिसकेको छ ।

तर, फुटपाथमा जुत्ता–चप्पल सिलाएर जीविका धान्ने कठिन सङ्र्घष कम भएको छैन । फुटपाथमा व्यापार गर्ने साना व्यापारीलाई बेला–बेलामा नगर प्रहरीले उठाउँछन् । यसले फुटपाथमा सानो व्यापार, व्यवसाय गरेर जीविका चलाइरहेकाहरु समस्यामा पर्ने गरेका छन् । स्थानीय सरकारले पनि यसको उचित व्यवस्थापना गर्न सकेको छैन । व्यस्थापन गर्ने प्रयास भने गरिएको पालिकाका जनप्रतिनिधिहरु बताउँछन् । चरम अभाव र दबाबका कारण फुटपाथमा पसिना बगाइरहेका यस कथाका पौरखी महिलाहरुलाई थोरै विस्मात आफ्नो भाग्यसँग छ तर कसैसँगै गुनासो छैन । आजको कठिन सङ्र्घषले एक दिन भाग्य बदलिने आशा भने सबैमा जीवित छ ।

स्रोत : रासस
प्रकाशित मिति : २०८३ वैशाख ४ गते शुक्रबार