२०८३ वैशाख १४ , सोमबार 28, April 2026, Tuesday

देउवा परिवारको सम्पत्ति कहाँ कति छ ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ चैत २७ गते शुक्रबार

छ दशकको देउवा दम्पत्तिको चमक, एकै झट्कामा कलंक । सिंहदरबारको पावर सेन्टरबाट फरार सूचीसम्म । बुढानीलकण्ठको खरानीदेखि सम्पत्ति शुद्धीकरणको मुद्दासम्म । अन्तर्राष्ट्रिय स्तरमै वान्टेड बन्ने सम्भवना । अब कसरी पक्राउ पर्लान् देउवा दम्पत्ति ? देउवा परिवारको कहाँ कति छ सम्पत्ति ? छ दशकसम्म नेपाली राजनीतिको ‘पावर सेन्टर’मा रहेका, पाँच–पाँच पटक देशको बागडोर सम्हालेका शेरबहादुर देउवाकोे राजनीतिक यात्रा दुखान्त मोडमा पुगेको छ ।

हिजोसम्म हुकुमी शैलीमा पार्टी र सरकार चलाउने देउवा दम्पती आज राज्यको नजरमा ‘फरार’ अभियुक्त बनेका छन् । सरकारले देउवा र उनकी पत्नी एवं पूर्वपरराष्ट्रमन्त्री आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि मंगलबार पक्राउ पुर्जी जारी गरेको छ । योसँगै उनीहरूमाथि पदको दुरुपयोग गरेर अकुत सम्पत्ति कमाएको विषयमा औपचारिक छानबिन सुरु भएको छ ।

भदौ २३ र २४ को ‘जेनजी आन्दोलन’नै देउवाको राजनीतिक जीवनको दुखान्त मोड बन्न पुग्यो । आन्दोलनका क्रममा बूढानीलकण्ठस्थित निवासमा आगजनी हुँदा ठूलो परिमाणमा नेपाली तथा विदेशी मुद्रा जलेको घटनाले उनलाई छानबिनको दयारमा ल्याएको छ । देउवाले उक्त दृश्य एआईबाट बनाइएको दाबी गर्दै खण्डन गरे । तर, त्यसै घटनाबाट सुरु भएको अनुसन्धान अहिले पक्राउ पुर्जीसम्म आइपुगेको छ । सम्पत्ति शुद्धीकरण कसुरको अनुसन्धानमा पूर्वप्रधानमन्त्रीविरुद्ध पक्राउ पुर्जी जारी भएको सम्भवतः यो पहिलो घटना हो ।

त्यस्तै सरकारले अन्य पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहालविरुद्ध पनि सम्पत्ति शुद्धीकरण कसुरमा विस्तृत अनुसन्धान अघि बढाएको छ । यसअघि सोही कसुरमा पूर्वमन्त्री दीपक खड्का पक्राउ परिसकेका छन् । त्यतिमात्रै होइन, एमाले नेता रघुवीर महासेठ र कांग्रेसका नेता प्रकाश शरण महतमाथि पनि सम्पत्ति शुद्धिकरणमा छानबिन सुरु भएको स्रोतले जनाएको छ । यी त सुरुवाती मात्रै हुन्, सम्पत्ति शुद्धिकरण मुद्दामा अरु नेताहरु पनि क्रमश तानिँदै जानेछन् ।

कसरी पक्राउ पर्छन् देउवा दम्पत्ति ?

देउवा दम्पत्तिविरुद्ध पक्राउ पुर्जी जारी भएपछि हङकङमा रहेका उनीहरुलाई सरकारले कसरी नेपाल ल्याउँछ भन्ने विषय यतिबेला चासोको विषय बनेको छ । देउवा दम्पती भने निर्वाचन अघि नै सिंगापुर उडेका थिए । १३ फागुनमा देउवा र उनका प्रमुख स्वकीय सचिव एवं भतिज भानु देउवा सिंगापुर उडेका थिए । त्यसको तीन दिनअघि दिल्ली गएकी आरजु स्वदेश नफर्की त्यतैबाट सिंगापुर गएकी थिइन् ।

केही समयअघि उनको निजी सचिवालयले सिंगापुरबाट हङकङ गएको जानकारी गराएको थियो । पक्राउ पुर्जी जारीपछि सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएका देउवाले अहिले आफू कहाँ छु भन्ने खुलाएका छैनन् । उनले स्वास्थ्य उपचारका लागि विदेशमा रहेको र अझै उपचार जारी रहेको जानकारी दिएका छन् । देउवाले आफ्नो र परिवारबारे सम्पत्तिसम्बन्धी विषयमा भ्रामक प्रचार भएको दाबी गरेका छन् ।

विदेशमा रहेका व्यक्तिलाई पक्राउ गरी स्वदेश फर्काउन इन्टरपोलमार्फत रेड नोटिस जारी गर्ने गरिन्छ । देउवा दम्पतीको हकमा पनि रेड नोटिस जारी गर्ने प्रयोजनकै लागि पक्राउ पुर्जी जारी गरिएको हो । कुनै पनि व्यक्तिविरुद्ध रेड नोटिस जारी गर्नका लागि सबैभन्दा पहिले स्वदेशमा कानुनी प्रक्रिया पूरा भएको हुनुपर्छ । सम्बन्धित कसुरको अनुसन्धान गर्ने निकायले मुद्दा दर्ता गरेपछि मात्र अदालतबाट पक्राउ पुर्जी लिनुपर्छ ।

यही अनिवार्य कानुनी प्रक्रिया पूरा गर्न देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो । नेपाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सदस्य राष्ट्र हो । इन्टरपोलमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक पदेन सदस्य रहने व्यवस्था छ । प्रत्येक सदस्य राष्ट्रको प्रहरी प्रमुखलाई इन्टरपोलले नेसनल सेन्ट्रल ब्युरोको प्रमुख तोकेको हुन्छ । नेपालको हकमा प्रहरी प्रधान कार्यालयमा रहेको एनसीबी सचिवालयले फरार व्यक्तिको खोजीका लागि इन्टरपोलको मुख्य सचिवालयमा अनुरोध पठाउँछ ।

एनसीबी सचिवालयबाट प्राप्त विवरण र प्रमाणहरूलाई इन्टरपोलले अध्ययन गर्छ । विवरणहरू पर्याप्त र आवश्यक देखिएमा इन्टरपोलले रेड नोटिस जारी गरी विश्वभरका सदस्य राष्ट्रहरूमा सर्कुलर गर्छ । यसको अर्थ उक्त व्यक्ति अन्तर्राष्ट्रिय स्तरमै ‘वान्टेड’ सूचीमा रहेको जानकारी सबै देशका प्रहरीलाई पुग्छ । रेड नोटिस जारी भएपछि इन्टरपोलका आबद्ध १९६ वटा राष्ट्रका प्रहरीले ती व्यक्तिको खोजी सुरु गर्छन् ।

यदि ती व्यक्ति कुनै पनि सदस्य राष्ट्रमा फेला परे वा पक्राउ परेमा, उक्त देशले माग गर्ने राष्ट्रको प्रहरीसँग समन्वय गर्छ । त्यसपछि कानुनी प्रक्रिया र दुई देशबीचको समन्वयका आधारमा अभियुक्तलाई स्वदेश फिर्ता (सुपुर्दगी) गरिन्छ । देउवा दम्पतीको हकमा पनि यही स्थापित अन्तर्राष्ट्रिय प्रहरी प्रक्रिया अपनाउन लागिएको हो, जसले गर्दा उनीहरू जहाँ भए पनि कानुनी दायरामा आउनुपर्छ ।

देउवा परिवारको सम्पत्ति कहाँ कति छ ?

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको व्यक्तिगत नाममा घरजग्गा नदेखिए पनि उनको परिवार (पत्नी आरजु राणा र छोरा जयवीर सिंह देउवा)को नाममा अकुत सम्पत्ति रहेको पाइएको छ । विभिन्न तथ्याङ्क र प्रतिवेदनहरूका अनुसार देउवा परिवारको नाममा देशका विभिन्न स्थानमा ११५ रोपनी ८ आनाभन्दा बढी जग्गा रहेको देखिन्छ ।

गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा काठमाडौंको बूढानीलकण्ठ नगरपालिकास्थित ९६६ वर्गमिटर क्षेत्रफलको जग्गामा बनेको घर प्रदर्शनकारीले जलाइदिएका थिए । जलेको घर भत्काउन ठेक्का लागेर काम समेत शुरू भइसकेको थियो । सम्पत्ति शुद्धीकरणको छानबिनकै लागि सरकारले उक्त घर भत्काउने कार्यमा रोक लगाएको छ ।

आरजुको नाममा कति छ जग्गा ?

विवरण अनुसार आरजु राणाको नाममा देशका विभिन्न स्थानमा ७ कित्ता जग्गा रहेको देखिन्छ, जसको कुल क्षेत्रफल ३९ रोपनी १५ आना ३ पैसा बराबर हुन आउँछ ।

डडेलधुरा (खलङ्गा)

कित्ता नम्बर ७५ – २ आना १ पैसा १ दाम
कित्ता नम्बर १११ – १,०१० वर्गमिटर

मकवानपुर (हेटौँडा)

कित्ता नम्बर १०३०० – ३३८.६३ वर्गमिटर
कित्ता नम्बर १०३०१ – ३३८.६३ वर्गमिटर

बर्दिया (ढोडरी)

कित्ता नम्बर २०८ – ६,८३५ वर्गमिटर
कित्ता नम्बर १९१ – ३,३८० वर्गमिटर
कित्ता नम्बर ४९१ – ८,४३८.६ वर्गमिटर

यी विवरणहरूले आरजु राणाको नाममा मात्रै रहेको सम्पत्तिको एउटा हिस्सालाई प्रस्ट पार्छन् । यो बाहेक छोरा जयवीर सिंह र संयुक्त परिवारको नाममा रहेको भनिएको बाँकी जग्गा जोड्दा कुल संख्या ११५ रोपनी नाघ्ने देखिन्छ ।

जयवीरको नाममा कति छ जग्गा ?

जयवीरको नाममा वि.स. २०७४ देखि २०७९ सम्मको करिब ५ वर्षको अवधिमा देशका विभिन्न प्राइम लोकेसनमा ७३ रोपनी भन्दा बढी जग्गा खरिद भएको देखिन्छ । यसको अनुमानित बजार मूल्य एक अर्ब रुपैयाँ भन्दा बढी हुन आउने देखिन्छ ।

काठमाडौँ (चपली)

खरिद मिति – २०७४ चैत १४ गते
कित्ता नम्बर – २२, ३८६, ३९९ र ४७९
क्षेत्रफल – ९६६ वर्गमिटर (झण्डै २ रोपनी)
अनुमानित मूल्य – करिब १२ करोड रुपैयाँ

कास्की (ढिकुरपोखरी, पोखरा)

खरिद तथा नामसारी अवधि – २०७७ देखि २०७९ सम्म
कित्ता नम्बर – १९१८, १९१९, १९२०, १९२१, १९२२, ३८६, ३९९, ४७९
क्षेत्रफल – २२ रोपनीभन्दा बढी

बर्दिया (ढोढरी)

खरिद मिति – २०७५ साल (एकै दिनमा दुई कित्ता)
कित्ता नम्बर – २०८ र ३११
क्षेत्रफल – २५,०८४ वर्गमिटर (करिब ४९ रोपनी)

देउवा परिवारले पद र शक्तिको आडमा कतिसम्म आचक्ली गरेको रहेछ भन्ने यसले स्पष्ट हुन्छ । देउवा दम्पत्तिको शक्ति र सम्पत्तिको मोहले कसरी एउटा शक्तिशाली राजनीतिक कदलाई खरानी बनाउन सक्छ भन्ने ज्वलन्त उदाहरण हो । यदि उनीहरू निर्दोष छन् भने स्वदेश फर्किएर कानुनी प्रक्रियालाई सहयोग गर्नु नै राजनीतिक साख बचाउने अन्तिम विकल्प हुन सक्छ ।

यो प्रकरणले कानुनभन्दा माथि कोही छैन भन्ने सन्देश त दिएको छ, तर अबको चुनौती भनेको यो प्रक्रियालाई राजनीतिक प्रतिशोधको साधन बन्न नदिई निष्पक्ष रूपमा किनारा लगाउनु हो । अब सुशासनको मुख्य एजेण्डा बनाएको बालेन सरकारले यसलाई कसरी किनारा लगाउछ भन्ने प्रतिक्षाको विषय बनेको छ ।

प्रकाशित मिति : २०८२ चैत २७ गते शुक्रबार