सरकारी ठेक्का प्रणालीमाथि गम्भीर प्रश्न उठाउने एउटा नयाँ प्रकरण हालै सार्वजनिक भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयको अनलाइन बोलपत्र प्रणाली ‘इ–गभन्र्मेन्ट प्रोक्युर्मेन्ट’ (इ–जीपी) नै ह्याक गरेर ठूल–ठूला सरकारी ठेक्का कब्जा गरिएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
पहिलो चरणमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दिवाकर देउजा, भरत धामी, संजय भट्ट, भाष्करराज अर्याल, सागर कटुवाल र जीवनकुमार दास रहेका छन् ।
प्राप्त विवरण अनुसार, केही समूहले प्रणालीमा अनधिकृत पहुँच पुर्याई अन्य कम्पनीहरूले पेश गरेका आर्थिक प्रस्तावहरू हेर्ने गरेका थिए । त्यसपछि बोलपत्र बन्द हुनुअघि अन्तिम समयमा सबैभन्दा कम रकम राखेर ठेक्का आफ्नो पक्षमा पार्ने गरिएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ । कसरी चल्यो ‘सिस्टम ह्याक’ खेल ?
अनुसन्धानमा संलग्न अधिकारीहरूका अनुसार
- बोलपत्र प्रणालीमा अनधिकृत प्रवेश
- प्रतिस्पर्धी कम्पनीहरूको बिड एमाउन्ट हेर्ने
- अन्तिम समयमा थोरै कम रकम राखेर जित्ने
यसले निष्पक्ष प्रतिस्पर्धालाई पूर्णरूपमा कमजोर बनाएको र सरकारी परियोजनाहरूमा मिलेमतोको आशंका बढाएको छ । नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो र साइबर ब्यूरोको संयुक्त टोलीद्वारा करिब दुई महिनादेखि अनुसन्धान भइरहेको छ ।
प्रारम्भिक रूपमा धेरै प्रमाण भेटिए पनि अन्तिम निष्कर्ष आउन अझ समय लाग्ने बताइएको छ । सरकारी बोलपत्र प्रणाली ह्याक गरी ठेक्का कब्जा गरिएको प्रकरणमा प्रहरीले १०० भन्दा बढी ठेकेदार, केही उच्चस्तरीय सरकारी अधिकारी तथा संलग्न ह्याकर समूहमाथि अनुसन्धान केन्द्रित गरिएको स्रोतले जनाएको छ ।
अनुसन्धानबाट प्राप्त संकेत
- ठेकेदार, कर्मचारी र ह्याकरबीच संगठित गिरोह
- प्रणालीमा अनधिकृत पहुँच पुर्याएर बिड डेटा लिक गर्ने
- अन्तिम समयमा रकम घटाएर ठेक्का कब्जा गर्ने रणनीति
यो एक–दुई जनाको काम नभई ठूलो सेटिङ नेटवर्क भएको आशंका गरिएको छ । अनुसन्धानका लागि केही निर्माण व्यवसायिलाई समातेको भए पनि ठूलो निर्माण कम्पनी ठेकेदार कोही पनि पक्राउ परेका छैनन् । अहिले पक्राउ परेका साना ठेकेदार र इन्जिनियरहरु मात्र भएको बताइएको छ ।
नेपालमा भरखरै प्रारम्भ भएको डिजिटल प्रणाली अभ्यासलाई कमजोर गराउने खेल विभिन्न निकायहरुको बारम्बार भइरहेको छ । मालपोल, राहदानी शाखा, यातायात व्यवस्था विभाग, कम्पनी रजिष्टारको कार्यालय एवं अध्यागमन कार्यालयका सिस्टमा समेत ह्याकर समुहको बेला बेलामा प्रहार भएको छ ।
सत्यपाटी