२०८३ वैशाख ४ , शुक्रबार 17, April 2026, Friday

प्रकृतिप्रेमी पर्यटकलाई भुलाउँदै ‘ढकेरी वनस्पति उद्यान’

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ चैत १ गते आइतबार

पूर्वपश्चिम राजमार्गको ढकेरीस्थित वनस्पति उद्यान । जसको सुगन्धले जो कोहीको मन लोभ्याउँछ । त्यही भएर पनि यहाँ नपुगेका ब्यक्ति कमै मात्रामा भेटिन्छन् । नेपालगन्ज उपमहानगरपालिकाबाट करिव २६ किमी टाढा पूर्वपश्चिम राजमार्गको ढकेरीस्थित दक्षिणतर्फ स्थापित रहेको छ, यो उद्यान ।

समुद्री सतहबाट १६० मिटर उचाईमा करिव पाँच हेक्टर क्षेत्रफलमा फैलिएको उद्यानमा वनस्पतिको अध्ययन, जडिबुटी एव् गैरकाष्ठ वनपैदवार सर्भेक्षण, सम्र्वद्धन तथा वनस्पतिको रासायनिक गुणहरूको प्रतिफल स्थानीय स्तरमा पुर्याउने काम गरिन्छ ।

२०५६ सालमा स्थापित उद्यान वनस्पतिको स्व–स्थानीय र पर–स्थानीय संरक्षण स्थल, शैक्षिक उद्यान तथा वनस्पतिको क्षेत्रमा अध्ययन गर्नेहरूको लागि महत्वपूर्ण मानिएको छ । बाँकेमै पहिलो वनस्पति उद्यान भएकोले आन्तरिक पर्यटनलाई समेत बढवा दिएको ढकेरी वनस्पति उद्यानका अधिकृत रामकृष्ण भण्डारीले जानकारी दिए ।

‘यसबाट उद्यान विकास कार्यक्रम अन्तर्गत स्वदेशी शोभनीय फूलबिरुवा अनुसन्धान, मौषमी शोभनिय फूलबिरुवा बेर्ना उत्पादन, प्रर्दशनी स्थल स्थापना, शैक्षिक वाटिका ब्यवस्थापन तथा जाति विशेष उद्यान ब्यवस्थापन ईत्यादी कामहरू सञ्चालनमा छन्,’ उनी भन्छन् । उद्यान अवलोकनका लागि सजिलैसँग बस, जिप, कार तथा अन्य भाडाका सवारी साधन उपलब्ध छन् ।

जैविक विविधताको संरक्षण गर्ने उद्देश्यले विभिन्न वनस्पति प्रजातिको स्व–स्थानीय र पर–स्थानीय संरक्षण कार्य भइरहेको छ । वैज्ञानिक तथा शैक्षिक प्रयोजनका लागि यहाँ दुर्लभ तथा लोपोन्मुख प्रजातिको संरक्षण, आर्किड–संरक्षण तथा अन्य प्रदर्शन प्लटहरूको ब्यवस्थापन गरिएको छ । उद्यानभित्र श्रीखण्ड बगैचा, वनस्पतिक पारिवारीक बगैचा, शैक्षिक बाटिका, जडिबुटी नर्सरी, क्याक्टस हाउस इत्यादी रहेका छन् ।

‘यहाँ रहेका वनस्पतिको अवलोकन गर्न विद्यार्थी, अनुसन्धानकर्ता तथा सम्बन्धित पेशाकर्मी एवम् मनोरञ्जन स्थलको रुपमा घुम्न आउँछन्, यसले गर्दा उद्यानलाई शैक्षिक केन्द्रको साथ साथै पर्यार्यटकीय क्षेत्रको रुपमा समेत विकास गर्न सकिने पर्याप्त सम्भावना रहेको छ,’ ढकेरी वनस्पति उद्यानका अधिकृत रामकृष्ण भण्डारी भन्छन् ।

ढकेरी वनस्पति उद्यानको पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् । ‘शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा पार्क घुम्ने मान्छेको भिडभाड हुने गर्छ,’ ढकेरी वनस्पति उद्यानका अधिकृत भण्डारी भने, ‘वनस्पति उद्यान र रिम्ना सामुदायिक वनमा घुम्न आउने आन्तरिक पर्यटकले ढकेरी बजारमा चहलपहल हुने गरेको छ ।’

वनस्पति उद्यान घुम्न आउने आन्तरिक पर्यटकलाई ढकेरी बजारमा रहेका होटलले स्थानीय स्वाद चखाउने गरेका छन् । वनस्पति उद्यान र रिम्ना सामुदायिक वनको उद्यानमा दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको लर्को लाग्ने गरेको स्थानीय अगुवा विश्वराज खनालले बताए । खासगरी यहाँ कुखुराको बँदिया भालेलाई साँधेर मौलिक परिकारका रूपमा आन्तरिक पर्यटकलाई खुवाउने गरिएको खनालको भनाइ छ ।

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न अहिले ढकेरी बजारमा साधारणदेखि सुविधा सम्पन्न होटल व्यवसाय सञ्चालन भएका छन् । ढकेरी क्षेत्रमा पाइने कुखुराको मौलिक परिकारको स्वाद लिन कोहलपुर बजार र सदरमुकाम नेपालगन्जबाट सर्वसाधारण पुग्ने गरेको स्थानीय अग्र्यानिक घरबास (होमस्टे)का सञ्चालक भरत खड्काले बताए ।

खड्काले ढकेरी क्षेत्रमै एकदशकदेखि होमस्टे सञ्चालन गरेर यहाँको मौलिक स्वादलाई प्रवद्र्धन गर्दै आएका छन् । ‘यहाँको विशेषता भनेकै कुखुराका मौलिक परिकारको स्वाद हो । पाहुनाको अनुरोधमा कुखुराको बँदिया भाले समेत उपलब्ध गराउने गरेका छौँ,’ उनले भने । ढकेरी बजारमै वनस्पति उद्यान रहेको छ ।

वि.सं २०५६ मा स्थापना भएको यस उद्यानमा ४५० बढी सङ्ख्याका वनस्पति प्रजातिको संरक्षण भइरहेको छ । विद्यार्थी तथा सर्वसाधारणले ढकेरी क्षेत्रमा सधैँ चहलपहल हुने गरेको छ । सदरमुकाम नेपालगन्जबाट करिब २५ किलोमिटर पूर्वतर्फ पूर्व–पश्चिम राजमार्गमा रहेको ढकेरी क्षेत्रमा अहिले पूर्वाधार विकासको काम पनि भइरहेको छ ।

ढकेरी क्षेत्रको करिब एक किलोमिटर सडक दुवैतर्फ विस्तार गरी फराकिलो बनाइएको राप्तीसोनारी गाउँपालिका–९ का वडाध्यक्ष सोहनलाल थारुले बताए । उनका अनुसार, ढकेरी क्षेत्रमा सडक विस्तारसँगै नाली निर्माण, विद्युत विस्तार लगायत पूर्वाधार विकासका काम भइरहेका छन् । आन्तरिक पर्यटन प्रवद्र्धनका लागि रिम्ना उद्यानलाई थप व्यवस्थित गरिने भएको छ ।

ढकेरी वनस्पति उद्यान पछिल्लो समय प्रकृतिप्रेमीका लागि प्रमुख गन्तव्य बनेको छ । बगैँचाभरि फुलेका रङ्गीचङ्गी फूल, हरियालीयुक्त खुला वातावरण र शान्त प्राकृतिक परिवेशले पर्यटकलाई आकर्षित गरिरहेको छ । प्राकृतिक सौन्दर्यमा रमाउन चाहनेहरूका लागि यो उद्यान पहिलो रोजाइ बन्न थालेको हो ।

अहिले उद्यान अवलोकनका लागि दैनिक ३०० देखि ४०० जनासम्म आन्तरिक पर्यटक तथा विद्यार्थी आउने गरेका छन् । अवलोकनका लागि आउने पर्यटकको संख्या शनिबार र सार्वजनीक विदाका दिन भने पाँच गुणासम्म बढि हुने गरेको ढकेरी वनस्पति उद्यानका अधिकृत भण्डारीले जानकारी दिए । उनका अनुसार उद्यान केवल घुमफिरका लागि मात्र नभई वनस्पति अध्ययनका लागि समेत महत्त्वपूर्ण केन्द्रका रूपमा विकास हुँदै गएको छ ।

नेपाल सरकारले लोपोन्मुख वनस्पतिको संरक्षण गर्ने उद्देश्यले स्थापना गरेको यस उद्यानमा दुर्लभ प्रजातिका वनस्पति सुरक्षित रूपमा हुर्काइँदै आएको छ । बाँकेका साथै दाङ, कपिलवस्तु लगायतका जिल्लाबाट समेत विद्यार्थीहरू अध्ययन तथा अवलोकनका लागि यहाँ आउने गरेका छन् । उद्यान अवलोकन गर्न पुगेका नेपालगन्ज–१ का समद सिद्दिकीले जैविक विविधता र शान्त वातावरणले गर्दा यो क्षेत्र उत्कृष्ट पर्यटकीय स्थलका रूपमा स्थापित भइरहेको बताए ।

उनले यसको थप प्रचार–प्रसारमा जोड दिनुपर्ने आवश्यकता औँल्याए । प्राकृतिक सौन्दर्य र शैक्षिक महत्त्व बोकेको ढकेरी वनस्पति उद्यानले पश्चिम नेपालको पर्यटन र वनस्पति संरक्षणमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको छ । २०७२–०७३ मा गरिएको सर्वेक्षण, अनुसन्धान अनुसार उद्यानभित्र २८६ प्रजातिका वनस्पति रहेका छन् । हाल वनस्पतिको प्रजाति करिव ४०० पुगेको छ ।

ती मध्ये अधिकतम वनस्पति झारका १२१ प्रजाति, त्यसैगरी बुट्यानका ८३, रुख ५६ र २९ प्रजातिका लहराहरू संरक्षण गरिएको छ । उद्यानभित्र संरक्षित मुख्य प्रजातिमा सर्पगन्धा, कुचिला, श्रीखण्ड, सिकाकाई, अपामार्ग, बोझो, बेल, अमला, करिलो, बेतलौरी, आँक, राजबृक्ष, कालो मुस्ली, तेजपात, सितलचिनी, सोनटाटा, सिन्दुर, खयर, अनन्तमुल, गुडमार, सिमलतरुल, विजयसाल, सतिसाल, अर्जुन, गुर्जो लगायत रहेका छन् ।

उद्यानमा दूर्लभ, लोपोन्मुख तथा रैथाने वनस्पति प्रजातिको संकलन तथा संरक्षण एवम् ब्यवस्थापन गर्ने, स्वदेशी फूल विरुवाको अध्ययन तथा अनुसन्धान गर्ने, ल्याण्डस्केप तथा जाति विशेष उद्यानको नियमित संरक्षण तथा व्यवस्थापन गर्ने, मौसमी फूल विरुवाहरुको उत्पादन तथा रोपण गरी वनस्पति उद्यानलाई आर्कषक तथा मनमोहक पर्यटकिय केन्द्रको रुपमा विकास गरिएको छ ।

यस्तै उद्यानमा सूचना केन्द्र ब्यवस्थापन गरी आम जनमानसमा विभिन्न उपयोगी वनस्पति प्रजातिको संरक्षण संवद्र्धनका लागि सूचना प्रवाह गर्ने, विभिन्न उपयोगी वनस्पतिको प्रर्दशन तथा जर्मप्लाज्म संरक्षण गर्ने, उद्यानलाई विभिन्न वनस्पति प्रजातिको अध्ययन तथा अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने, उद्यान व्यवस्थापन सम्बन्धमा कार्यरत कर्मचारीलाई क्षमता अभिवृद्धि गर्ने रहेको छ ।

यसैगरी विभिन्न अन्तर्राष्ट्रिय उद्यानमा भगिनी सम्बन्ध स्थापित गरी उद्यान ब्यवस्थापन सम्बन्धमा एक–आपसमा ज्ञानको आदान प्रदान गर्ने, सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाको सदस्यता प्राप्त गरी अन्तर्राष्ट्रिय स्तरमा वनस्पति उद्यानको पहिचान स्थापित गर्ने लगायत क्रियाकलाप रहेको छ । उद्यान संरक्षणका लागि सात जना कर्मचारी कार्यरत छन् ।

प्रकाशित मिति : २०८२ चैत १ गते आइतबार