२०८३ वैशाख १७ , बिहीबार 1, May 2026, Friday

निर्वाचनमा रास्वपाको अप्रत्याशित सफलता

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ फागुन २५ गते सोमबार

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक परिणामले नेपाली राजनीतिमा ठूलो शक्ति सन्तुलन परिवर्तनको संकेत गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीमा उल्लेखनीय मत प्राप्त गर्दै नयाँ राजनीतिक शक्ति रूपमा उदाएको छ ।

अहिलेसम्मको मतगणना अनुसार प्रत्यक्षतर्फ १६१ निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । यसमध्ये रास्वपाले १२४ सिट जित्दै स्पष्ट बहुमततर्फ अग्रसर देखिएको छ । बाँकी एक क्षेत्रमा पनि रास्वपा नै अग्रस्थानमा रहेको छ । यस परिणामले लामो समयदेखि नेपाली राजनीतिमा प्रभाव जमाइरहेका परम्परागत दलहरूको प्रभाव कमजोर हुँदै गएको संकेत गरेको विश्लेषण गरिएको छ ।

समानुपातिकतर्फ पनि रास्वपाले सबैभन्दा धेरै मत प्राप्त गरेको छ । हालसम्मको गणनाअनुसार पार्टीले ३६ लाख ५० हजार २१ मत प्राप्त गरेको छ । यसले प्रत्यक्ष प्रणालीमा मात्र होइन, जनमतको व्यापक आधार पनि रास्वपाको पक्षमा रहेको देखाएको छ । दोस्रो ठूलो दल बन्ने देखिएको नेपाली कांग्रेसले प्रत्यक्षतर्फ १७ सिटमा मात्र जित हासिल गरेको छ । समानुपातिकतर्फ कांग्रेसले १२ लाख ३० हजार ३६२ मत पाएको छ ।

यस्तै, तेस्रो स्थानमा रहेको नेकपा (एमाले)ले प्रत्यक्षतर्फ आठ सिट जितेको छ भने एक क्षेत्रमा अग्रता कायम राखेको छ । समानुपातिकतर्फ एमालेले १० लाख ४० हजार १६८ मत प्राप्त गरेको छ । अन्य दलहरू भने सीमित उपस्थितिमा सीमित देखिएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ सात सिट जित्दा समानुपातिकमा पाँच लाख ३४ हजार १५६ मत प्राप्त गरेको छ ।

हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रत्यक्षतर्फ तीन सिट जितेको छ भने समानुपातिकमा दुई लाख ३९ हजार ७२ मत पाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रत्यक्षतर्फ एक सिट जितेको छ भने समानुपातिकमा दुई लाख ५७ हजार ६ मत प्राप्त गरेको छ । हालसम्मको मतपरिणाम हेर्दा राप्रपा र श्रम संस्कृति पार्टीले मात्र समानुपातिक प्रणालीमा तीन प्रतिशतको थ्रेसहोल्ड पार गर्ने सम्भावना देखिएको छ ।

अन्य दलका लागि भने थ्रेसहोल्ड पार गर्न कठिन देखिएको छ । निर्वाचन आयोगका अनुसार प्रत्यक्षतर्फ सबै निर्वाचन क्षेत्रको अन्तिम परिणाम आज दिउँसोसम्म सार्वजनिक गरिनेछ । समानुपातिकतर्फको अन्तिम मतपरिणाम भने मंगलबारसम्ममा सार्वजनिक गर्ने तयारी आयोगले जनाएको छ । यसपटकको निर्वाचन परिणामले नयाँ राजनीतिक शक्ति उदाएको र मतदाताले परम्परागत दलहरूलाई स्पष्ट सन्देश दिएको विश्लेषकहरूको भनाइ छ ।

प्रकाशित मिति : २०८२ फागुन २५ गते सोमबार