२०८२ माघ १६ , शुक्रबार 30, January 2026, Friday

दुई फिट हिउँ जमेपछि कोरला नाका ठप्प

सत्यपाटीसत्यपाटी । मुस्ताङ । २०८२ माघ १६ गते शुक्रबार

मङ्गलबारको भारी हिमपातपछि माथिल्लो मुस्ताङस्थित नेपाल—चीन उत्तरी कोरलानाकाबाट हुने निकासी तथा पैठारी प्रभावित बनेको छ । बाक्लो हिउँ जमेका कारण बुधबारदेखि नै आयात–निर्यात पूर्ण रूपमा ठप्प भएको मुस्ताङ भन्सार कार्यालयले जनाएको छ । माथिल्लो मुस्ताङमा यस वर्ष तेस्रो पटक हिमपात भएको हो ।

लोमान्थाङ–२ छोसेरस्थित भन्सार कार्यालयका नायब सुब्बा जीवन देवकोटाका अनुसार जोमसोम–कोरला सडकमा दुई फिटभन्दा बढी बाक्लो हिउँ जमेकाले सवारी साधन चल्न सकेका छैनन् । यसले गर्दा भन्सारको नियमित कामकाज समेत रोकिएको छ । चीनतर्फ सामान लिन गएका र आउँदै गरेका एक दर्जनभन्दा बढी कन्टेनरहरू अहिले छोसेर र चिनियाँ भन्सार क्षेत्रमै अलपत्र परेका छन् ।

कतिपय कन्टेनरको भन्सार प्रक्रिया सकिए पनि सडक बन्द हुँदा गन्तव्यतर्फ जान पाएका छैनन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार करिब ९० किलोमिटर सडक खण्डमा हिउँ जमेकाले सडक खुलाउन अझै केही दिन लाग्न सक्छ । कालीगण्डकी करिडोर सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले आजदेखि छुसाङबाट हिउँ पन्छाउने उपकरण (डोजर) प्रयोग गरी सडक खुलाउने प्रयास गरिने बताएका छन् ।

सशस्त्र प्रहरी बल (बिओपी) छोसेरका इन्चार्ज सुरज श्रेष्ठका अनुसार चिसो अत्यधिक बढेपछि कोरला नाकामा पाल टाँगेर बसेका स्थानीय व्यापारीहरू पनि घर फर्किएका छन् । अहिले माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्री सेल्सियससम्म झरेको छ, जसका कारण मानिससँगै पशुचौपायालाई पनि ठूलो समस्या परेको छ ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार