नेपालमा दैनिक प्रयोग हुने सौन्दर्य प्रसाधन तथा व्यक्तिगत सरसफाइका सामग्रीमै जनस्वास्थ्यका लागि अत्यन्तै घातक मानिने सिसा (लिड) अत्यधिक मात्रामा फेला परेको एक अध्ययनले देखाएको छ ।
जनस्वास्थ्य तथा वातावरण प्रवर्धन केन्द्र (सेपेड)ले गरेको पछिल्लो अध्ययनले सिन्दूर, टुथपेस्ट र गाजलजस्ता सामग्रीमा अन्तर्राष्ट्रिय मापदण्डभन्दा बढी लिड भेटिनुले उपभोक्ताको स्वास्थ्य सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ ।
‘लिड एक्सपोजर एलिमिनेसन प्रोजेक्ट अमेरिका’को प्राविधिक तथा आर्थिक सहयोगमा गरिएको अध्ययन काठमाडौं, पोखरा, विराटनगर र जनकपुरका खुद्रा पसलमा बिक्री भइरहेका उत्पादनमा केन्द्रित थियो ।
गत अक्टोबरदेखि डिसेम्बर २०२५ सम्म संकलन गरिएका १०० नमुनामध्ये ३१ प्रतिशतमा लिड भेटिनुले उपभोक्ताले दैनिक प्रयोग गरिरहेका सामग्री सुरक्षित छैनन् भन्ने स्पष्ट सन्देश दिएको छ ।
‘एटोमिक एब्जोप्र्सन स्पेक्ट्रोस्कोपी’ (एएएस) विधिबाट गरिएको परीक्षणमा लिड भेटिएका नमुनामध्ये ८७ प्रतिशतले युरोपियन युनियनले तोकेको ०.५ पीपीएम र ७७ प्रतिशतले अमेरिका तथा क्यानडाको १ पीपीएमको सीमा नाघेका छन् ।
अझ गम्भीर पक्ष के छ भने नेपालमै स्वेच्छिक रूपमा तोकिएको १० पीपीएमको मापदण्डसमेत ५१ प्रतिशत नमुनाले उल्लङ्घन गरेका छन् । उत्पादन अनुसार विश्लेषण गर्दा सिन्दूर सबैभन्दा जोखिमयुक्त देखिएको छ ।
विवाहित महिलाले नियमित प्रयोग गर्ने सिन्दूरका ४० प्रतिशत नमुनामा लिड भेटिएको छ भने केही नमुनामा १२४ पीपीएमसम्म लिड पाइएको छ । बालबालिकाका लागि भनेर बजारमा उपलब्ध केही टुथपेस्टमा समेत लिड भेटिनु बालस्वास्थ्यका लागि झनै चिन्ताजनक विषय बनेको छ ।
गाजलमा लिडको मात्रा तुलनात्मक रूपमा कम देखिए पनि आँखामा प्रत्यक्ष प्रयोग हुने भएकाले यसले गम्भीर स्वास्थ्य जोखिम निम्त्याउन सक्ने अध्ययनले औंल्याएको छ । भौगोलिक रूपमा हेर्दा काठमाडौं उपत्यकामा सबैभन्दा बढी (४२.५ प्रतिशत) नमुनामा लिड भेटिएको छ ।
‘हर्बल’ वा ‘प्राकृतिक’ भनेर प्रचार गरिएका उत्पादनहरू समेत लिडमुक्त नभएको तथ्यले बजारमा हुने दाबी र वास्तविकता बीचको गहिरो अन्तर उजागर गरेको छ । स्वास्थ्य विज्ञहरूका अनुसार लिडको दीर्घकालीन असर अत्यन्तै गम्भीर हुन्छ ।
विश्व स्वास्थ्य संगठनले मानव शरीरका लागि लिडको कुनै पनि मात्रा सुरक्षित नहुने स्पष्ट गरिसकेको छ । लिडको सम्पर्कले बालबालिकाको बौद्धिक विकासमा असर पार्नुका साथै व्यवहारमा आक्रामकता बढ्ने, सिकाइ क्षमता घट्ने र स्नायु प्रणालीमा स्थायी क्षति पुग्ने जोखिम रहने बताइएको छ ।
अध्ययन प्रतिवेदन सार्वजनिक कार्यक्रममा नियमनकारी निकायका प्रतिनिधिहरूले कानुनी कमजोरी स्वीकार गरेका छन् । औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले कस्मेटिक सामग्रीलाई प्रभावकारी रूपमा नियमन गर्न औषधि ऐन संशोधन आवश्यक रहेको बताए ।
’कतिपय उपभोग्य सामग्रीमा न्यूनतम मात्रामा सिसा पाइने समस्या छ, त्यसका लागि स्पष्ट र कडा नियमन अपरिहार्य छ,’ उनले भने । ऐन संशोधन प्रक्रिया अघि बढिरहेको जानकारीसमेत उनले दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले नेपालीहरू अनजानमै यस्ता विषालु पदार्थ प्रयोग गरिरहेको हुन सक्ने भन्दै यसले जनस्वास्थ्यमा दीर्घकालीन संकट निम्त्याउन सक्ने चेतावनी दिए । मन्त्रालयका उपसचिव डा. समिरकुमार अधिकारीले लिडसम्बन्धी अध्ययनलाई जनस्वास्थ्य नीतिमा गम्भीर रूपमा लिनुपर्ने उल्लेख गर्दै सहकार्य गर्न मन्त्रालय तयार रहेको बताए ।
सेपेडका कार्यकारी निर्देशक रामचरित्र साहले सिसाजस्ता रसायन नियमन गर्ने स्पष्ट अधिकार सम्पन्न सरकारी निकाय नहुनु ठूलो कमजोरी भएको बताए । ’साना बालबालिकामा लगाइने काजल, हरेक बिहान प्रयोग हुने दन्तमंजन र विवाहित महिलाले नियमित प्रयोग गर्ने सिन्दूरमै सिसा भेटिनु जनस्वास्थ्य संकटको संकेत हो,’ उनले भने ।
कार्यक्रममा मिस नेपाल कस्मो २०२५ दीपशिखा नेपालले लिड फ्री उत्पादनको पक्षमा अभियान चलाइरहेको बताउँदै आफू ब्रान्ड एम्बेसडर बन्दा लिड फ्री उत्पादनसँग मात्र आबद्ध हुने प्रतिबद्धता जनाइन् ।
अध्ययनले सरकारलाई कस्मेटिक सामग्रीका लागि अनिवार्य मापदण्ड, नियमित परीक्षण र प्रभावकारी कार्यान्वयन संयन्त्र निर्माण गर्न आग्रह गरेको छ । साथै उपभोक्तालाई सामग्री खरिद गर्दा ‘लिड फ्री’ लेबल भएको उत्पादन छनोट गर्न र शिशुमा परम्परागत रूपमा काजल लगाउने अभ्यास कम गर्न सुझाव दिएको छ ।
दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका सामग्रीमै लिड भेटिनु अब केवल उपभोक्ताको रोजाइको विषय नभई राज्यको जिम्मेवारी र जनस्वास्थ्य सुरक्षाको गम्भीर प्रश्न बनेको छ ।
सत्यपाटी