२०८२ माघ २८ , बुधबार 11, February 2026, Wednesday

इन्स्पेक्टर पुस्कर पन्त बने ‘महिनाकै सर्वोत्कृष्ठ प्रहरी’

सत्यपाटीसत्यपाटी । कैलाली । २०८२ माघ १६ गते शुक्रबार

इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) पुस्कर पन्त जिल्ला प्रहरी कार्यालय कैलालीबाट ‘पुलिस अफ द मन्थ’ अर्थात् ‘महिनाकै सर्वोत्कृष्ठ प्रहरी’ घोषित भएका छन् ।

प्रहरी संगठनमा अब्बल र कर्मठ अधिकृतका रूपमा परिचित पन्तले आफ्नो जिम्मेवारीप्रति देखाएको व्यावसायिकता, अनुशासन र नेतृत्व क्षमताको उच्च मूल्याङ्कनस्वरूप उक्त सम्मान प्राप्त गरेका हुन् ।

शान्ति–सुरक्षा, अपराध नियन्त्रण तथा सेवाग्राहीमैत्री प्रहरी सेवामा उल्लेखनीय योगदान पु¥याउँदै आएका निरीक्षक पन्तले यसअघि लुम्बिनी प्रदेशको ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण मानिँदै आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको प्रमुखका रूपमा पनि सफलता पूर्वक जिम्मेवारी सम्हालिसकेका छन् ।

ट्राफिक व्यवस्थापन सुधार, जनचेतना अभिवृद्धि तथा संस्थागत समन्वयमा उनले खेलेको भूमिका प्रशंसनीय मानिएको थियो । हाल मालाखेति क्षेत्रमा कार्यरत रहँदा पन्तले समुदाय–प्रहरी साझेदारीलाई प्राथमिकता दिँदै शान्ति सुरक्षालाई प्रभावकारी बनाउने, अपराध न्यूनीकरण गर्ने तथा नागरिकको विश्वास जित्ने दिशामा निरन्तर प्रयास गर्दै आएका छन् ।

उनको कार्यशैली, निर्णय क्षमता र निष्ठाले प्रहरी संगठनभित्र सकारात्मक सन्देश प्रवाह गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । यस सम्मानले प्रहरी निरीक्षक पन्तलाई थप जिम्मेवारी र प्रेरणा मिलेको छ भने प्रहरी संगठनमा उत्कृष्ट कार्यसम्पादन गर्ने अन्य प्रहरी कर्मचारीका लागि पनि उदाहरणीय बनेको छ ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार