२०८३ भदौ २६ , शुक्रबार 11, September 2026, Friday

मधेशबाट कालीकोट पुगेर निर्वाचन प्रहरीमा भर्ना

निर्वाचन प्रहरी बन्न कालीकोट पुगेका बाँकेका युवराजकुमार चौधरी, चित्रवती थारु र कैलालीकी इमालुजा चौधरी (दायाँबाट) ।

कैलालीबाट निर्वाचन प्रहरीमा भर्ना हुन कालीकोट आएकी टीकापुर नगरपालिका–३ कटानपुरकी १८ वर्षीया इमालुजा चौधरीले सुनेको भन्दा देखेको कालीकोट फरक लागेको बताइन् । ‘डरलाग्दा पहाड देखेर मुटु नै काँम्यो,’ सदरमुकाम मान्म बजार आइपुगेकी उनले अनूभूति सुनाइन्, ‘पहिलो पटक पहाड यात्रा गर्दा चक्कर लाग्यो ।’

भविष्यमा नेपाल प्रहरी बन्ने लक्ष्य भएकाले भर्तीको अनुभव लिन यहाँ आएको उनले बताइन् । ‘कालीकोटमा विकास त भएकै रहेनछ,’ उनले भनिन्, ‘तराईको जस्तो हिलोमैलो नभए पनि मान्म बजारमा खानेपानीको अभाव रहेछ ।’ गाउँकै सरस्वती माविबाट २ जीपीएसहित एसईई उत्तीर्ण उनी अहिले स्थानीय रेडियन्ट मन्टेश्वरी इंग्लिस स्कुलमा १२ कक्षा पढिरहेकी छन् ।

दाइ नाता पर्ने कोहलपुरका युवराजकुमार चौधरीले निर्वाचन प्रहरीमा भर्ना हुन उनलाई कालीकोट बोलाएका हुन् । ‘घरमा बस्नुभन्दा पढाइ खर्च जुटाउन आएकी हुँ,’ उनले भनिन्, ‘पहाड घुम्ने रहर पनि पूरा भयो ।’ गाउँकै ठेक्कापट्टा गर्ने दाइसँग दैलेख आएका ३० वर्षीय युवराजले कालीकोटमा निर्वाचन प्रहरीमा भर्ना खुलेको जानकारी पाएपछि आफूले मात्र फारम भरेनन्, नजिकका नाता पर्ने अन्य तीन जनालाई पनि कालीकोट बोलाए ।

‘म दैलेखको राकमतिर थिएँ,’ युवराजले भने, ‘कालीकोटमा धेरै कोटा खुलेको सुनेर छनोट हुने सम्भावना धेरै भएकाले यतै आएँ ।’ वैदेशिक रोजगारीका लागि युवराजले दुईपटक न्यूजिल्याड जाने कोसिस गरे । त्यसका लागि धनगढी–१८ का अमर सुनारलाई पाँच लाख रुपैयाँ बुझाए । सुनारले उनलाई विदेश पठाएनन् । उल्टै रकम ठगी गरेर फरार भए । त्यसपछि ज्याला मजदुरी गर्ने क्रममा दैलेख आइपुगेको उनले सुनाए ।

‘पैसाजति दलालले खाइदियो,’ उनले भने, ‘ऋण तिर्न सकेको छैन ।’ निर्वाचन प्रहरी भएर घरखर्च जुटाउन सहज होला भनेर यहाँ आएको हुँ ।’ कोहलपुर–६ का २९ वर्षीय सुरेन्द्र थारु बिरामी परेर कोठामा आराम गरिरहेका छन् । वर्षासँगै भएको हिमपातले चिसो लागेपछि उनलाई रुघाखोकी र ज्वरोले सताएको छ । निर्वाचन प्रहरीमा छनोट भएकी बाँकेको बैजनाथ–६ टिटिरियाकी २१ वर्षीया चित्रवती थारुको अनुभव अरूको भन्दा फरक छ ।

‘मलाई त यहाँका पहाडै देखेर चक्कर आउलाजस्तो हुन्छ,’ उनले कान्तिपुरसित भनिन्, ‘अजंगका पहाडै पहाडको जिल्ला रहेछ ।’ गाडीमा आउँदा दैलेखको राकम कटेर कालीकोटको सिमाना सुरु हुनेबित्तिकै डरले आँखा चिम्लिएर यात्रा गरेको उनले बताइन् । भीर देखेर चक्कर आएपछि आँखा खोल्न नसकेको उनले बताइन् । १० कक्षासम्म पढेकी चित्रवतीले कालिकोटमा हिउँ परेपछि चिसोले सताएको बताइन् ।

‘कालीकोट आएको दुई–तीन दिनसम्म त बाहिर निस्किन पनि डर लाग्थ्यो,’ उनले सुनाइन्, ‘बिस्तारै बानी पर्ने रहेछ । अब हिँडडुल गर्न, दौडिन पनि बानी परिसके ।’ सप्तरीबाट आएका ४४ वर्षीय महेशलाल यादव पनि कालीकोट आएर निर्वाचन प्रहरीमा छनोट भएका छन् । नेपाल प्रहरीमा कार्यरत भतिजाले बोलाएर उनी यहाँ आएका हुन् । तराईबाट आएका उनीहरूले खटाएको ठाउँमा जानैपर्ने बताए ।

तर, नजिकको खाडाचक्र नगरपालिका अन्तर्गत ताडी, मान्मका मतदान केन्द्रमा खटाइदिए बस्न, खान सहज हुने उनीहरुको अपेक्षा सुनाए । ‘हामीलाई त अन्यत्रको भूगोल पनि थाहा छैन,’ यादवले भने, ‘सदरमुकाम मान्म नजिक खटाइ दिनुहुनेछ भन्ने आशा छ ।’ फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन प्रहरी बन्न तराईबाट पाँच जना कालीकोट आएका हुन् ।

उनीहरुलाई माघ १८ मा नियुक्ति पत्र पाएपछि तालिममा सहभागी गराइने जिल्ला प्रहरी प्रमुख हिमबहादुर खत्रीले बताए । ‘तराईबाट आँट गरेर आएका उनीहरू छनोट भए,’ उनले भने, ‘तराईमा धेरै प्रतिस्पर्धा हुने भएकाले यता आए होलान् ।’ हिउँदका बेला हिमपात पनि भएकाले दुई जनालाई रुघाखोकी र सामान्य ज्वरो आएको उनले सुनाए । कालीकोटमा एक हजार २९८ निर्वाचन प्रहरी छनोट भएका छन् ।

प्रकाशित मिति : २०८२ माघ १६ गते शुक्रबार