२०८२ माघ १६ , शुक्रबार 30, January 2026, Friday

बाल सुधार गृहबाट भागेका ३५ बालबन्दी अझै बेपत्ता

सत्यपाटीसत्यपाटी । बाँके । २०८२ माघ १४ गते बुधबार
बाँकेको बैजनाथ गाउँपालिका-२ नौवस्तामा रहेको बाल सुधार गृह ।

जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३५ जना अझै बेपत्ता छन् । भागेकामध्ये ४३ जनालाई पक्राउ गरेर फिर्ता ल्याइएको बाल सुधार गृहले जनाएको छ ।

नौबस्स्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दी भागेकोमा हालसम्म ४३ जना पक्राउ परेको बताए । उनले अझै ३५ जना बालबन्दी फरार रहेकोले उनीहरुको खोजी कार्य विभिन्न माध्यमबाट भइरहेको जानकारी प्रहरीले गराएको बताए ।

फरार भएका बालबन्दी लगायत सबै प्रकारका कैदीबन्दीलाई बाल सुधार गृह र कारागारमा फर्किनका लागि गत असोज २० गतेसम्मको समयसीमा दिइएको थियो । तर सो समयसीमा सकिएको लामो समय बिते पनि अझै पनि ३५ जना बालबन्दीहरु पक्राउ नपरेको र उनीहरुको अवस्था अज्ञात रहेको नौबस्ता बाल सुधार गृहले जनाएको छ । भदौ २४ गते देशभरिका अधिकांश कारागार र बालसुधार गृहबाट कैदी बन्दी भागेका थिए ।

सोही समयमा नौबस्ता बालसुधार गृहबाट पनि ७८ जना बालबन्दी भागेका थिए । नौबस्ता बालसुधार गृहबाट प्रहरीमाथि आक्रमण गरेर बालबन्दी भाग्ने क्रममा प्रहरीले गोली प्रहार गर्दा अछामका २१ वर्षीय उमेश विष्ट, दाङका २० वर्षीय विनेश घर्ती मगर, बाँकेका २० वर्षीय समिर थापा, दैलेखका २१ वर्षीय भुपेन्द्र खत्री र कैलालीका १९ वर्षीय जगत देउवा गरेर पाँच जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए ।

प्रकाशित मिति : २०८२ माघ १४ गते बुधबार