२०८२ माघ १६ , शुक्रबार 30, January 2026, Friday
प्रतिनिधिसभा निर्वाचन

पुरुष उम्मेदवारलाई टक्कर दिँदै बाँकेका चार महिला चुनावी मैदानमा

पुरुषमात्रै राजनीतिमा सक्रिय हुन सक्ने र महिलाले नेतृत्व गर्न नसक्ने मानसिकतालाई चिर्दै चार जना महिला प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा सहभागी भएका छन् ।
सत्यपाटीसत्यपाटी । बाँके । २०८२ माघ १३ गते मंगलबार

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि ५६ जनाले उम्मेदवारी दिएर चुनावी मैदानमा होमिएका छन् । चुनावी दौडमा प्रतिस्पर्धा गर्ने अधिकांश पुरुष उम्मेदवार छन् । तर बाँकेमा चार जना महिलाले भने हिम्मतका लागि प्रत्यक्ष निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । बाँकेमा प्रतिनिधिसभा सदस्यका लागि महिला उम्मेदवार चुनावमा होमिएका छन् ।

पुरुषमात्रै राजनीतिमा सक्रिय हुन सक्ने र महिलाले नेतृत्व गर्न नसक्ने मानसिकतालाई चिर्दै चार जना महिला प्रतिनिधिसभा सदस्यका लागि निर्वाचनमा सहभागी भएका छन् । उम्मेदवार बनेका धेरै पुरुष उम्मेदवारकाबीच उम्मेदवारी दिँदै चार जना महिलाले निर्वाचन लड्ने साहस देखाएका छन् । बाँकेको क्षेत्र नं.१ बाट कृष्णा केसी (नमूना) तथा बाँके क्षेत्र नं.३ बाट विद्या शर्मा, भूमि महतारा र भगवती शाहले उम्मेदवारी दिएका छन् ।

केसीले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट, शर्माले आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट, महतारा नेपाल मजदुर किसान पार्टी र शाहले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् । बाँके राप्तीसोनारी गाउँपालिका–९ ढकेरी निवासी केसी लुम्बिनी प्रदेशसभा सदस्य थिइन् । प्रतिनिधिसभा निर्वाचनमा सहभागि हुन उनले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएकी छन् ।

प्रदेशसभा सदस्यका रुपमा रहँदा उनले थुप्रै योजनाहरु आफ्नो निर्वाचन क्षेत्रमा सम्पन्न गरेकी छन् । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीबाट प्रदेशसभा सदस्य बनेकी केसीले पदमा रहँदा र नरहँदा जनताको सेवामा खटिएको दाबी गरिन् । ‘प्रदेश तहमा अनुभव भइसकेको छ, सङ्घीय संसदमा पुगेर जनताका मुद्दा अझ प्रभावकारीरूपमा उठाउने लक्ष्य छ,’ चुनावी मैदानमा उाले भन्दै आएकी छन् ।

केसीले आफ्नो उम्मेदवारी विकास, सुशासन र महिलाको अधिकारलाई केन्द्रमा राखेर अघि बढेको बताउँछिन् । उनले प्रदेशसभामा रहँदा शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका क्षेत्रमा काम गरेको दाबी गर्दै प्रतिनिधि सभामा पुग्दा त्यसलाई अझ व्यापक रूपमा अघि बढाउने प्रतिबद्धता जनाइन् । २०७९ को निर्वाचनमा प्रदेशसभा सदस्यमा बाँके क्षेत्र नं.१ मा तत्कालीन गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेदवार केसी निर्वाचित भएकी थिइन् ।

उनले एक हजार १३७ मतान्तरले विजय हासिल गरेकी थिइन् । केसीले नौ हजार १०३ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उनमुक्ति पार्टीका सोमराज चौधरीले सात हजार ९६६ मत पाएका थिए । यसैगरी निर्वाचन क्षेत्र नं.३ बाट उम्मेदवार बनेका तीनै जना महिला स्थानीय स्तरमा चर्चित अनुहार हो । आम जनता पार्टीबाट उम्मेदवारी दिएकी नेपालगन्ज उपमहानगरपालिका–१६ जैसपुरकी शर्मा स्थानीय स्तरमा सामाजिक अभियानमा सक्रिय छन् ।

शर्मा जनताको दैनिक समस्या संसदमा पुर्याउने उद्देश्यले उम्मेदवारी दिएको बताउँछिन् । उनले शिक्षा स्वास्थ्य लगायत स्थानीय मुद्दालाई उठाउँदै आएकी छन् । बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ सिर्जना टोल निवासी महत्तरा मजदुर किसान पार्टीको राजनीतिमा सक्रिय छन् । उनले सामाजिक समस्या, मतभेद, उत्पीडनलगायतका मुद्दा उठाउँदै आएकी छन् । खासगरी तल्लो तहमा जीवन निर्वाह गर्ने जनताको समस्या आफ्नो मुद्दा हुने गरेको महत्तरा बताउँदै आएकी छन् ।

यसैगरी, बाँके बैजनाथ गाउँपालिका वडा नं.४ बानियाभार निवासी शाहले स्वतन्त्र रुपमा उम्मेदवारी दिँदै समाजको स्तरमाथि उकास्न आफु निर्वाचनमा होमिएको दाबी गर्दै आएकी छन् । जनताको वास्तविक समस्यालाई उठाएर सुसज्जित समाज निर्माण गर्न आफ्नो उम्मेदवारी भएको बताउँछिन् । बाँकेको तीनवटै निर्वाचन क्षेत्रमा ६० जनाले उम्मेदवारी दिएका थिए ।

जसमध्ये क्षेत्र नं.२ मा उम्मेदवार बनेका सरस्वतीप्रसाद बर्मा र बिजयकुमार गुप्ता, क्षेत्र नम्बर ३ मा प्रदिप पौडेल र दिपकबहादुर शाही गरी चार जनाले उम्मेदावरी फिर्ता लिएका छन् । तीनवटै क्षेत्रमा उम्मेदवार फिर्ता भएसँगै क्षेत्र नं.१ मा १४ जना र क्षेत्र नं.२ मा २० जनाको उम्मेदवारी कायम भएको छ भने क्षेत्र नं.३ मा २२ जना उम्मेदवार गरी जिल्लामा ५६ जना उम्मेदवार बनेका हुन् ।

प्रकाशित मिति : २०८२ माघ १३ गते मंगलबार