२०८२ फागुन ५ , मंगलबार 17, February 2026, Tuesday

नेपालको चुनावबारे पोलिमार्केट र काल्शीको बाजी, रास्वपाले जित्ने ७२ प्रतिशतको दावी

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ १० गते शनिबार

नेपालको चुनावबारे पोलिमार्केटले बाजी कारोबार सुरु गरेको समाचार प्रकाशित भएपछि अर्को अनुमान बजार (प्रेडिक्सन मार्केट) काल्शी डटकमले पनि त्यस्तै बाजी राखेको छ । अमेरिकाबाट सञ्चालित अनुमान बजारको दुनियाँमा पोलिमार्केट र काल्शी डटकम प्रतिस्पर्धी हुन् ।

काल्शीले पनि नेपालको सन् २०२६ को प्रतिनिधिसभा निर्वाचनमा कसले जित्ला भनी सोधेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, एमाले, नेपाल कम्युनिष्ट पार्टी (नेकपा), राष्ट्रिय प्रजातन्त्र पार्टी, नागरिक समाजवादी पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी र जनमत पार्टीलाई छान्न सकिने विकल्प दिइएको छ ।

उस्तै पोलिमार्केट र काल्शीका लगानीकर्ताको अनुमान

पोलिमार्केटमा जस्तै काल्शी डटकममा पनि अधिकांश बाजी कन्ट्र्याक्ट खरिदकर्ताहरूको आत्मविश्वास रास्वपा पार्टीप्रति उच्च देखिएको छ । पोलिमार्केटको बाजी खरिद तथ्यांक हेर्ने हो भने रास्वपा पहिलो दल हुन्छ भनी ७२ प्रतिशतले भनेका छन् । काल्शी डटकममा ६८ प्रतिशतले रास्वपाले जित्छ भनेका छन् ।

कांग्रेस पहिलो दल बन्ने सम्भावना पोलिमार्केटमा १६ प्रतिशत मात्र देखिएको छ भने काल्शीमा यो प्रतिशत २० छ । एक हप्ताको अवधिमा पोलिमार्केटमा रास्वपाको स्थिति २० प्रतिशतले सुदृढ भइ ७२ प्रतिशत देखिएको इन्टरएक्टिभ डेटाले देखाएको छ । मानिसहरूको सहभागिताका आधारमा सम्भावनाका प्रतिशतहरू बदलिरहन्छन् ।

पोलिमार्केटको प्रेडिक्सन अनुसार एमालेको जित्ने सम्भावना ९ प्रतिशत र नेकपाको जित्ने सम्भावना जम्मा ७ प्रतिशत छ । राप्रपा, लोसपा र राजमोको त जित्ने सम्भावना १ प्रतिशतभन्दा पनि कम अर्थात् नगण्य देखिएको छ । काल्शी डटकमको बजार तथ्यांक अनुसार एमालेको ६ प्रतिशत र नेकपाको ८ प्रतिशत छ ।

अरू दलहरूको जित्ने सम्भावना १ प्रतिशतभन्दा पनि कम वा नगण्य देखिएको छ । यी दुवै प्रेडिक्सन मार्केटका बजार अंकहरू लगभग उस्तै छन् । एमाले, नेकपा, राप्रपा र अन्य दलहरू पुछारमा छन् । गत डिसेम्बरदेखि सुरु भएको पोलिमार्केटको नेपालको चुनाव सम्बन्धी अनुमान बजारमा हालसम्म करिब ११ हजार ८ सय डलरको कारोबार वा भोल्युम छ भने केही दिनयता सुरु भएको काल्शी डटकममा करिब ८ सय ४६ डलर जम्मा भएको छ ।

निकट वा टाढाको भविष्यमा हुन सक्ने घटना वा नतिजामा आधारित रही बाजीको कारोबार गरिने प्रचलन पछिल्लो समय अमेरिकामा निकै बढेको छ । जुनसुकै चर्चित विषयवस्तुदेखि व्यक्ति तथा संस्थादेखि अनुमानित घटनामा बाजी राखेर कारोबार गरिन्छ । विश्वका सर्वाधिक धनी व्यक्ति इलन मस्क नै यस्तो प्रडिक्सन मार्केटका प्रवद्र्धनकर्ता जस्तो देखिन्छन् ।

किनभने उनले आफ्नो एक्स पोस्टमा बेला–बेला पोलिमार्केटका भावी प्रक्षेपणहरूमाथि टिप्पणी गरिरहेका भेटिन्छन् । त्यसो त, पोलिमार्केटले बेला–बेलामा उनकै कम्पनी र उनकै विविध कदमबारे पनि अनुमानको कारोबार गरिरहेको हुन्छ । जस्तो उदाहरणका लागि कसैलाई नेपाली कांग्रेसले जित्छ भनी बाजी राख्नुप¥यो भने एउटा कन्ट्र्याक्ट किन्न १८ सेन्ट लाग्छ । अनि वास्तवमै नेपाली कांग्रेसले जित्यो भने त्यसको कन्ट्र्याक्टबाट कुल १ डलर प्राप्त हुन्छ ।

त्यसैगरी रास्वपाले जित्छ भन्ने कन्ट्र्याक्ट किन्नुप¥यो भने ७४ सेन्ट लाग्छ र वास्तवमै रास्वपाले जित्यो भने बाजी लगाउने व्यक्तिले उक्त १ कन्ट्र्याक्ट बराबर १ डलर पाउने छ । यदि आफूले भनेको मिलेन भने जुवामा जस्तै दाउमा हालेको सम्पूर्ण पैसा गुम्नेछ । पोलिमार्केट र काल्शी दुवै क्रिप्टोजस्ता देखिए पनि यी दुईबीच भिन्नता छन् ।

पोलिमार्केटमा ब्लकचेनको प्रयोग, स्टेबल क्वाइन, विकेन्द्रीकृत संरचना र क्रिप्टो समुदायसँग सम्बन्धका कारण यो क्रिप्टोजस्तै अनुमान बजारको रूपमा मानिएको छ । तर काल्शी डटकम भने अमेरिकाको कमोडिटी फ्युचर्स ट्रेडिङ कमिसनबाट नियमन हुन्छ । ब्लकचेनको प्रयोग नहुने भएको र डलर भुक्तानी हुने कारणले काल्शीलाई पोलिमार्केटजस्तो प्रत्यक्ष रूपमा क्रिप्टोसँग जोडेर हेरिँदैन ।

नेपालमा गैरकानुनी

क्रिप्टो करेन्सीमा आधारित पोलिमार्केट प्लेटफर्महरूले यस्तो देशको चुनावी परिणामबारे कारोबार गरिरहेका छन्, जहाँ स्वयं क्रिप्टो करेन्सी नै गैरकानुनी मानिन्छ । विदेशी कारोबार नियमन ऐन र नेपाल राष्ट्र बैंक ऐन दुवैले नेपालमा क्रिप्टो करेन्सीहरू किन्ने, बेच्ने, माइन गर्ने, खरिद गरेर राख्ने, ट्रान्सफर गर्ने र प्रवद्र्धन गर्नुलाई गैरकानुनी मानेका छन् । फलस्वरूप नेपालमा यी क्रिप्टोलाई वित्तीय आविष्कारको रूपमा नमानी अनधिकृत विदेशी मुद्रा कारोबारको रूपमा श्रेणीबद्ध गरिन्छ ।

परिवर्तनप्रति बेखबर प्रेडिक्सन मार्केट

प्रेडिक्सन मार्केट पोलिमार्केटमा उक्त बाजी आएदेखि यता नेपाली कांग्रेस दलको आन्तरिक नेतृत्व संरचनामा विशेष महाधिवेशनपछि ठूलो परिवर्तन आएको छ । तर अनुमान बजारमा उक्त परिवर्तन प्रतिविम्बित भएको छैन । कांग्रेसमा गगन थापा सभापति भइसकेपछि जनस्तरमा नेपाली कांग्रेसप्रति समर्थन बढेको मिडिया तथा सामाजिक सञ्जालमा देख्न सकिन्छ । तर पोलिमार्केट र काल्शी डटकमका लगानीकर्ताहरूको क्रेज र विश्वास भने रास्वपामा बढेको देखिन्छ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ माघ १० गते शनिबार