२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

३४ वर्षदेखिको अटुट संसदीय यात्राबाट शेरबहादुर विस्थापित

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ६ गते मंगलबार

नेपालमा २०४६ सालमा प्रजातन्त्र आएपछिका हरेक संसदीय चुनावमा अविच्छिन्न निर्वाचित हुँदै आएका नेपालको प्रजातान्त्रिक आन्दोलनका एक ‘हेभी वेट’ राजनीतिज्ञ शेरबहादुर देउवालाई जेनजी आन्दोलनले संसद् र पार्टीको शीर्षस्थान दुवैबाट विस्थापित गरिदिएको छ ।

उनको पार्टीले उनको निर्वाचन क्षेत्रबाट चुनावका लागि सधैँ झैँ उनको एकल नाम सिफारिस गरेको थियो र उनले ‘अन्तिम पटक संसदीय चुनाव लड्ने’ मनसुवा प्रकट गरेका पनि थिए । तर देशमा र उनकै पार्टीभित्र उठेको युवामुखी लहरले उनलाई किनाराका साक्षी बनाइदिएको छ ।

कांग्रेसका उम्मेदवारहरूको सूचीमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवादेखि उनकी पत्नी आरजु राणा देउवा, रमेश लेखक, कृष्ण सिटौला लगायतका नेता समेटिएका छैनन् । सो अवस्थामा पुग्न कांग्रेस पार्टीभित्रका सबै पक्षले आआफ्नो तर्फबाट ’सम्झौता गरेको’ नेताहरूको दाबी छ ।

डडेल्धुराबाट देउवाको विश्राम

डडेल्धुराबाट तीन दशकभन्दा बढी समय संसद् पुगेका देउवाले विसं २०४८ सालदेखि २०७९ सम्म भएका सबै प्रत्यक्ष निर्वाचनमा विजय हासिल गर्दै आएका थिए । देउवाले डडेल्धुराबाट विसं २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ मा भएका निर्वाचनमा फराकिलो मतान्तरले जितेका थिए ।

गन्यापधुरा गाउँपालिका–१ मटेला गाउँ डडेलधुरामा जन्मिएका देउवा विसं २०६४ र २०७० सालमा भएको संविधानसभा निर्वाचनमा देउवा डडेल्धुराका साथै कञ्चनपुर–४ र कैलाली–६ बाट निर्वाचित भए ।

‘विश्राम लिनु ठीकै’

देउवाले संसदीय यात्राबाट विश्राम लिनु स्वाभाविक नै भएको स्थानीय मतदाताले बताएका छन् । नवदुर्गा गाउँपालिका–५ का स्थानीय गम्भीरसिंह साउद देउवाले विश्राम लिनु राम्रो भएको र युवाहरू राजनीतिमा आउनुपर्ने बेला आएको बताउँछन् ।

‘उहाँको उमेर पनि ढल्किँदै गयो । अब युवापुस्ताले नेतृत्व गर्नुपर्छ । देउवाजीले जिल्लाका लागि राम्रै गर्नुभएको छ,’ साउद भन्छन् । जेनजी युवा गौरव ऐर पनि देउवाले चुनाव नलड्नु स्वाभाविक ठान्छन् । उनले देउवा डडेल्धुराका लागि मात्रै नभई देशकै लागि धरोहर भएको बताए ।

उनले भने, ‘यहाँको विकासमा पनि उहाँको योगदान महत्त्वपूर्ण छ । युवाहरूलाई ल्याउनुपर्छ भन्ने उहाँको मान्यता जायज छ र अब युवाहरू नै राजनीतिमा आउनुपर्छ ।’ पार्टीको तर्फबाट उम्मेदवारहरूको टुङ्गो लागेसँगै मनोनयन दर्तापछि अब मिलेर चुनावी प्रचारप्रसारमा जाने दुवै पक्षका नेताले बताए ।

देउवा पक्षधर के भन्छन् ?

देउवानिकट मानिएका नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्रका सबै विचार समूहलाई समावेश गर्ने गरी र स्थानीय तहमा जित्ने सम्भावना भएका लोकप्रिय उम्मेदवारलाई छानीछानी टिकट दिइएको बताए । ‘यो पक्षको यति प्रतिशत, यति सङ्ख्या भन्ने भएन । न्यायोचित नै भयो भन्ने लाग्छ । रूख चुनाव चिह्नभन्दा बाहिर गएर मतदानमा जाने परिस्थिति आयो भने पार्टी एकता हुँदैन,’ उनले भने ।

‘त्यसो भएको हुनाले रूख चिह्नमै मतदान गर्ने वातावरण बनाउनबका लागि सबै पक्षले एउटा कम्प्रोमाइज गर्यौँ र एउटा सहमतिको बिन्दुमा पुग्यौँ । अनि टिकट वितरण सहज ढङ्गले भयो । अब कहीँ पनि बागी, विद्रोही बन्ने अवस्था रहँदैन ।’ उनका अनुसार विशेष महाधिवेशनका बेला विशेष महाधिवेशन पक्षधर नेताहरूसँग वार्ताकै बेला चुनावमा नउठ्न तयार भएका थिए ।

‘तपाईँहरू जेजे भन्नुहुन्छ ती सबै मान्न म तयार छु, पार्टी नफुटाइदिनूस् भनेर उहाँले भन्नुभएको थियो । तर त्यो भन्दाभन्दै उहाँहरूले नेतृत्व घोषणा गर्नुभयो । त्यो घोषणासँगै चुनाव चिह्न गगनजीहरूको भएपछि अरू साथीहरू बागी विद्रोही हुने खतरा भयो,’ विश्वकर्माले भने ।

‘अब रूख चिह्नभन्दा बाहिर गएर भोट माग्न सकिँदैन । ठीक छ म लड्दिनँ, म उठ्दिनँ भनेर देउवाजीले भन्नुभयो । अहिलेको अन्योलग्रस्त र विवादास्पद अवस्थामा म उम्मेदवार बन्न उपयुक्त पनि हुँदैन । तपाईँहरू उम्मेदवार बन्नूस्, चुनाव लड्नूस् भनेर उहाँले भन्नुभयो,’ उनले भने, ‘सबै साथीहरूलाई अपील पनि गर्छु भनेर उहाँले त्यागको भावना राख्नुभयो र त्यहाँ आफूनिकट नैनसिंह महरलाई टिकट दिने कुरा गर्नुभयो,’ विश्वकर्माले अगाडि थपे ।

‘अदालतको निर्णय मान्य’

योसँगै अब आधिकारितासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले गर्ने निर्णय स्वीकार्ने उनले बताए । ‘देउवा नेतृत्वले रूख पाउने भयो भने पनि त्यसलाई स्वीकार्ने वा गगनजीहरूकै नाम गयो भने पनि त्यसलाई स्वीकार गरेर जाने हो । जे परिणाम आउँछ त्यसलाई हामीले मान्ने भनेका छौँ,’ विश्वकर्माले भने । प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी मनोनयन सकिनासाथ प्रचारप्रसारको विषयमा केन्द्रित हुने उनले उल्लेख गरे ।

‘हामी अब सँगसँगै हुन्छौँ । रूख चिह्नबाट एक ठाउँमै हुन्छौँ । एउटै मञ्च र्‍याली झण्डा लिएर एकसाथ हुन्छौँ । मनोनयनपछि चुनावी रणनीति तर्जुमामा लाग्छौँ,’ विश्वकर्माले थपे । आरजु देउवलाई टिकट नदिइएको विषयमा थाहा नभए पनि नेता रमेश लेखक र आफूले पार्टी एकतालाई महत्त्व दिएर दाबी नगरेको उनले बताए ।

गगन पक्षधर के भन्छन् ?

निर्वाचन आयोगले आधिकारिता दिएको गगन थापा पक्षधर नेता देवराज चालिसेले अब लगभग सबै विषय मिलेको बताए । ‘धेरै कुरा मिलिसक्यो । सहमतिमै टिकट बाँडिएको हो । सबै कुरा सहमतिमै सल्लाह गरेरै भएको हो,’ उनले भने ।

आफूहरूले परिवर्तनको मुद्दालाई स्थापित गर्नुपरेको भन्दै चालिसेले अभिभावकीय भूमिकामा बस्न आग्रह गरेको बताए । ‘त्यसलाई उहाँले स्वीकार्नुभयो,’ उनले भने । पार्टीको चुनाव प्रचारप्रसार समितिलाई सशक्त रूपमा परिवर्तनका नयाँ मुद्दाका साथ अगाडि बढ्ने भन्दै उनले थपे, ‘अब कांग्रेस पक्ष मात्रै हुन्छ । बाँकी कुनै पक्ष हुँदैन । मिलेर हामी चुनाव प्रचारप्रसारमा जान्छौँ ।’

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार