प्रधानमन्त्रीका दाबेदार तीन उम्मेदवार नेपाली कांस्रेसका सभापति गगन थापा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, रास्वपाका नेता बालेन्द्र साह (बालेन), नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ।
आगामी प्रतिनिधिसभाको निर्वाचनका लागि प्रधानमन्त्रीको दाबेदारका रुपमा रहेका उम्मेदवारहरू तराई–मधेस पुगेका छन् । जसले गर्दा आगामी प्रतिनिधि सभाको चुनाव तराई–मधेस केन्द्रित हुने देखिएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली झापा पुगेका छन् । नेकपा (एमाले)का अध्यक्ष ओली झापाबाटै चुनाव लड्दै आएका छन् । यस पटक पनि उनी झापा–५ बाट उम्मेदवारी दर्ता गर्दै छन् ।
जेनजी आन्दोलनका कारण राजीनामा दिन बाध्य भएका ओली प्रतिनिधि सभाको चुनावमा एमालेको नेतृत्वकर्ता हुन् । एमालेले ओलीलाई नै प्रधानमन्त्रीका रुपमा अघि सारेको छ । माघ ३ मा बसेको एमाले सचिवालय बैठकले ओलीलाई प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको थियो । त्यसकै आधारमा एमालेले चुनावी अभियान सुरु गरेको छ । गत निर्वाचनमा ओलीले झापा–५ बाट ५२ हजार ३१९ मत पाएर प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए ।
उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले २३ हजार ७४३ मत पाएका थिए भने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सुरेशकुमार पोखरेलले ११ हजार ७५९ मत पाएका थिए । यस पटक रास्वपाबाट झापा–५ मा पोखरेलको ठाउँमा बालेन्द्र साह (बालेन) उम्मेदवार बनेका छन् । काठमाडौँ महानगरको मेयरबाट राजीनामा दिएर झापा पुगेका साहलाई रास्वपाले भावी प्रधानमन्त्रीका रुपमा उभ्याएको छ ।
गत पुस १४ गते साह र रास्वपा सभापति रवि लामिछानेबीच एकता गर्ने सहमति भएको थियो । त्यसमा लामिछानेको नेतृत्वमै रहेर साहलाई भावी प्रधानमन्त्रीका रुपमा अगाडि बढाउने उल्लेख थियो । त्यही सहमतिका आधारमा रास्वपाले साहलाई झापा–५ बाट उम्मेदवार बनाएको छ । मंगलबार बिहानै साहले झापा–५ बाट उम्मेदवारी दर्ता गरिसकेका छन् । सोमबार जनकपुरधाममा आयोजित रास्वपाको पहिलो चुनावी सभामा पनि साहलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरिएको थियो ।
चुनावी सभालाई मैथलीमा सम्बोधन गर्दै साहले पनि आफूलाई भावी प्रधानमन्त्रीका रुपमा प्रस्तुत गरेका थिए । दुई जना प्रधानमन्त्रीका दाबेदार ओली र साह एउटै क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएको वेला प्रधानमन्त्रीका अर्का दाबेदार नेपाली कांग्रेसका सभापति गगन थापा पनि तराई झरेका छन् । थापा मधेस प्रदेशको सर्लाही–४ बाट उम्मेदवार बन्ने भएका छन् ।
विशेष महाधिवेशनबाट सभापति चयन भएका थापालाई निर्वाचन आयोगले मान्यता दिएसँगै उनैले टिकट वितरण गरिरहेका छन् । कांग्रेसको विवादबीच उनले संघीय राजधानी काठमाडौँ छोडेर मधेसको सर्लाही रोजेका हुन् । सर्लाही–४ मा रास्वपाबाट अमरेशकुमार सिंह उम्मेदवार छन् । गत निर्वाचनमा उनी यही क्षेत्रबाट स्वतन्त्र उम्मेदवार बनेका थिए ।
लामो समय कांग्रेसमा बिताएका उनी गत निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेका सिंहले कांग्रेस उम्मेदवारलाई पराजित गर्दै सांसद बनेका थिए । २०७९ सालको निर्वाचनमा सिंहले २० हजार १७ मत पाएका थिए भने निकटतम् प्रतिस्पर्धी कांग्रेसका नागेन्द्र कुमारले १८ हजार २५३ मत पाएका थिए । तेस्रो नम्बरमा रहेकी स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले १४ हजार ६२२ मत पाएकी थिइन् ।
यो क्षेत्रमा रास्वपाका उम्मेदवार धिरज ठाकुरले ३०६ मत पाएका थिए । त्यसअघि २०७४ सालको निर्वाचनमा कांग्रेसबाट अमरेशकुमार सिंह नै निर्वाचित भएका थिए । त्यतिवेला उनले २९ हजार ६७५ मत पाउँदा प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी नेपालका राकेशकुमार मिश्रले २८ हजार १३६ मत पाएका थिए । त्यतिवेला अन्य उम्मेदवारले हजार मत पनि पाउन सकेका थिएनन् ।
कांग्रेस उम्मेदवार थापा भने यसअघि काठमाडौँ–४ बाट निर्वाचित हुँदै आएका थिए । पछिल्लो तीन चुनावमा उनी यही क्षेत्रबाट निर्वाचित भएका थिए । गत निर्वाचनमा थापा काठमाडौँ–४ बाट २१ हजार ३०२ मत पाएर निर्वाचित भएका थिए । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का राजन भट्टराईले १३ हजार ८५५ मत पाएका थिए ।
तेस्रो नम्बरमा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ठाकुर मोहन श्रेष्ठले चार हजार ५० मत पाएका थिए । तीन जना प्रधानमन्त्रीका दाबेदार तराई–मधेसमा प्रतिस्पर्धा गरिरहेका वेला नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने पहाड उक्लिएका छन् ।
प्रधानमन्त्रीको दाबेदार भए पनि नेकपाले घोषणा गरिसकेको छैन । प्रचण्डले रुकुम पूर्वबाट उम्मेदवारी दिएका छन् । त्यसका लागि उनी सोमबार नै रुकुम पूर्व पुगिसकेका छन् । यसअघि उनी गोरखा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनले २६ हजार १०९ मत पाउँदा प्रतिस्पर्धी रास्वपाका कविन्द्र बुर्लाकोटीले १२ हजार ६२९ मत पाएका थिए ।
रुकुम पूर्वमा भने गत निर्वाचनमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का पूर्णबहादुर घर्ती मगर निर्वाचित भएका थिए । उनले १२ हजार २६२ मत पाउँदा प्रतिस्पर्धी एमालेका कैलाशकुमार मल्लले पाँच हजार २११ मत पाएका थिए । अहिले प्रचण्डले माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) सहित १९ दल मिलाएर नेकपा बनाएका छन् ।
सत्यपाटी