२०८३ भदौ २५ , बिहीबार 10, September 2026, Thursday

३४ वर्षदेखिको संसदीय यात्रासँगै शेरबहादुरको प्रधानमन्त्री बन्ने सपनामा ‘ब्रेक’

पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार नबन्ने निर्णय गरेका छन् । यो निर्णयसँगै उनको ३४ वर्षदेखिको अविरल संसदीय यात्रामा ‘ब्रेक’ लागेको छ । सोमवार देउवाको सचिवालयले उनी निर्वाचनमा उम्मेदवार नबन्ने जानकारी गराएको हो ।

उनका स्वकीय सचिव भानु देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधामन्त्री शेरबहादुर देउवाज्यू आगामि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु ।’ देउवा २०४८ सालदेखि निरन्तर रुपमा प्रतिनिधि सभा सदस्य (संविधान सभा समेत) हुँदै आएका थिए ।

२०४६ सालको राजनीतिक परिवर्तनपछि २०४८ साल वैशाख २९ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी गृहजिल्ला डडेल्धुराबाट पहिलो पटक निर्वाचित भएका थिए । सो निर्वाचनपछि गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारका उनी गृहमन्त्री वने । २०५१ साल कात्तिक २९ गते भएको मद्यावधि निर्वाचनमा पनि देउवा डडेल्धुराबाटै निर्वाचित भए ।

उनी २०५२ सालमा पहिलो पहिलो पटक प्रधानमन्त्री समेत भए । प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल सदभावना पार्टीको समर्थनमा प्रधानमन्त्री भएका थिए । २०५६ साल वैशाख २० र जेठ ४ गते (दुई चरण)मा भएको निर्वाचनमा देउवा डडेल्धुराबाटै तेश्रो पटक प्रतिनिधि सभा सदस्य चुनिए ।

२०५८ साल साउनमा उनी दोश्रो पटक प्रधानमन्त्री भए । नेपाली कांग्रेसभित्रको आन्तरिक किचलोका कारण उनले २०५९ साल जेठ ८ गते प्रतिनिधि सभा बिघटन गरी असोजमा निर्वाचनको मिति तय गरे । सोही विषयले नेपाली कांग्रेस विभाजन भयो । पछि उनले नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेका थिए ।

तत्कालीन सशस्त्र विद्रोहका कारण तोकिएको समयमा निर्वाचन नहुने देखिएपछि उनले संवैधानिक बाधा अड्काउ फुकाउन तत्कालीन राजा ज्ञानेन्द्र शाहसमक्ष बिन्ती गरेका थिए । तर, राजा ज्ञानेन्द्रले उनलाई अक्षम भन्दै पदच्यूत गरेका थिए । ज्ञानेन्द्रको उक्त कदमपछि देशमा लोकतान्त्रिक आन्दोलन तीव्र हुन गयो ।

आन्दोलन मत्थर पार्न ज्ञानेन्द्रले २०६१ साल जेठमा फेरी देउवालाई नै प्रधानमन्त्री वनाए । तर, प्रधानमन्त्री भइसके पनि देशमा शान्ति सुरक्षा कायम गर्न नसकेको, जनताका आधारभूत आवश्यकता पुरा गर्न नसकेको लगायतका आरोप लगाउँदै ज्ञानेन्द्रले २०६१ साल माघ १९ गते देउवालाई अक्षम भन्दै फेरी सत्ताच्यूत गरे ।

२०६२–०६३ सालको जनआन्दोलनपछि २०६४ साल चैत्र २८ गते भएको पहिलो संविधान सभाको निर्वाचनमा देउवाले डडेल्धुरासँगै कञ्चनपुरको संविधानसभा सदस्य निर्वाचन क्षेत्र–४ बाट पनि बाजी मारेका थिए । पछि उनले कञ्चनपुर–४ छोडे । चुनावअघि देउवा नेतृत्वको नेपाली कांग्रेस प्रजातान्त्रिक र नेपाली कांग्रेसबीच एकता भइसकेको थियो ।

२०७० सालमा भएको दोश्रो संविधान सभा निर्वाचनमा देउवाले डडेल्धुरासँगै कैलाली संविधान सभा सदस्य निर्वाचन क्षेत्र–६ बाट पनि विजयी भएका थिए । पछि उनले कैलाली–६ छोडे । २०७२ सालमा नयाँ संविधान जारी भएपछि उनी २०७४ साल जेठमा प्रधानमन्त्री भए । यो उनको चौथो पटकको प्रधानमन्त्रीकाल थियो ।

२०७४ साल मंसिर १० र २१ गते (दुई चरणमा) भएको प्रतिनिधि सभा निर्वाचनमा देउवाले फेरी डडेल्धुराबाट निर्वाचन जिते । त्यसपछि उनी २०७८ साल असारमा पाँचौं पटक प्रधानमन्त्री भएका थिए । २०७९ साल मंसिर ४ भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पनि देउवाले डडेल्धुराबाटै विजयी हासिल गरेका थिए ।

सात पटकसम्म लगातार निर्वाचित हुँदै आएका देउवा यसपटक भने ‘व्याक’ भएका छन् । ‘मलाई ज्योतिषिले सात पटक प्रधानमन्त्री हुन्छस् भनेको छ,’ केही वर्ष पहिले उनले एक सार्वजनिक कार्यक्रममा व्यक्त गरेको यस कुराले निकै चर्चा पाएको थियो । अब उनी निर्वाचनमै सहभागी नहुने भएपछि उनको चुनाव जितेर प्रधानमन्त्री बन्ने यात्रामा पनि ‘ब्रेक’ लागेको छ ।

हठी र शाहसी नेताका रुपमा आफ्नो पहिचान वनाएका देउवालाई नेपाली कांग्रेस डडेल्धुराले आगामी निर्वाचनको उम्मेदवारका लागि एकल नाम सिफारिस गरेको थियो । तर कांग्रेसभित्रको आन्तरिक विवादसँगै भरखरै सम्पन्न विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएपछि देउवाले निर्वाचन नलड्ने मुड बनाएका हुन् ।

यद्यपी देउवा पक्षीयहरुले विषेश महाधिवेशनलाई अवैधानिक भन्दै आएका छन् । उनीहरु निर्वाचन आयोगले गगन समूहलाई दिएको मान्यताका विरुद्ध न्यायालय गएका छन् । स्रोतका अनुसार गगन थापा समूह देउवालाई उम्मेदवार बनाउने मनसायमा पनि थिएन । ‘गगन थापाले आफूलाई टिकट दिँदैनन् भन्ने थाह पाउनु भयो देउवा ज्यूले, त्यसैले उहाँ आफैं साइड लाग्नु भएको हो,’ स्रोतले भन्यो ।

देउवा पत्नी आरजुलाई पनि यसपटक कांग्रेसले उम्मेदवार बनाएन । उनी कैलाली–५ बाट उम्मेदवार सिफारिस भएकी थिइन् । सो क्षेत्रमा पार्टीले नरनारायण शाहलाई टिकट दिइसकेको छ । जेनजी आन्दोलनका क्रममा देउवा दम्पतीमाथि सांघातिक आक्रमण भएको थियो ।

२००३ सालमा डडेल्धुराको रुवाखोला भन्ने ठाउँमा जन्मिएका देउवा २०१७ सालदेखि नै राजनीतिमा सक्रिय थिए । उनी २०२८ सालमा कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका सभापति समेत भए । २०७२ सालमा भएको कांग्रेसको १३ औं महाधिवेशनबाट देउवा कांग्रेसको सभापति भएका थिए ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार