२०८२ फागुन ३ , आइतबार 15, February 2026, Sunday

आज देशभर उम्मेदवारी दर्ता, के-के चाहिन्छन् कागजात ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ माघ ६ गते मंगलबार

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार देशभर एकै पटक मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तोकिएको मितिमा मनोयनमा सहभागी हुन सबैमा अपिल गरेको छ । आयोगले निर्वाचन कार्यतालिका संशोधन नहुने पनि प्रस्ट पारेको छ ।

मनोनयनपत्र दर्ताको पूर्वसन्ध्यामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुनेमा कुनै शङ्का उपशङ्का नगर्न पनि आग्रह गरे । उनले भने, ‘निर्वाचनको विकल्प निर्वाचन नै हो । अर्को वैकल्पिक व्यवस्था नभएका हुनाले निर्वाचनमा सबै क्षेत्रबाट सहयोग होस् र निर्वाचन सम्पन्न होस् भन्नेमा सरोकारवाला सबैमा निर्वाचन आयोग हार्दिक अनुरोध गर्दछ ।’

निर्वाचन घोषणा भएसँगै आयोगले तत्कालदेखि कार्यतालिका बनाई अघि बढिरहेको पनि उनले बताए । माघ ६ गतेको कार्यतालिका पनि कुनै संशोधन नभएको उनले जानकारी दिए । कार्यवाहक प्रमुख भण्डारीले भने, ‘सबै कार्यक्रम चार महिनाअघि प्रकाशित भएको कार्यतालिका अनुसार कार्य सम्पादन भएका छन् । अब कुनै पनि विषयवस्तुलाई संशोधन गर्ने थप्ने घटाउने लगायत काम हुँदैनन् । तोकिएकै समयमा मनोनयनपत्र दाखिल हुन्छ र निर्वाचन सम्पन्न हुन्छ । आयोग यसैमा ढुक्क छ ।’

नेपाली कांग्रेसको विवादका विषयमा अदालतमा विचाराधीन मुद्दामा आयोगले कुनै टिप्पणी नगर्ने पनि उनले बताए । अदालतले जारी गर्ने आदेश सबैले मान्नुपर्ने तर अहिल्यै अदालतको कामकारबाहीमा टिप्पणी नगर्ने उनको भनाइ छ । नागरिकले आफ्नो प्रतिनिधि छान्ने लोकतन्त्रको सुन्दर अभ्यास निर्वाचन भएको भण्डारीले बताए ।

उनले भने, ‘लोकतन्त्रको सुन्दर पक्ष भनेकै चुन्ने र चुनिने अधिकार हो । त्यहाँ मतदाताको स्वतन्त्र इच्छा पनि जाहेर हुन्छ । नागरिकको इच्छालाई कसैले पनि निषेध गर्न सक्दैन । यसमा सबैको भूमिका उत्तिकै महìवपूर्ण रहन्छ । सबै सरोकारवालाले निर्वाचनलाई निष्ठापूर्वक सम्पन्न गर्ने प्रयोजनलाई सहयोग गर्नुहुन्छ भन्ने आयोगले विश्वास गर्छ ।’

उम्मेदवारी मनोनयनका क्रममा उम्मेदवारले वारेसको अधिकार प्रयोग गर्न पाउने पनि उनको भनाइ छ । उम्मेदवारी कायम गर्न कानुन र आचारसंहिताले निषेध गरेका गतिविधि नगर्न पनि उनले आग्रह गरे । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मङ्गलबार १६५ निर्वाचन क्षेत्रमा नै मनोनयन दर्ता हुँदैछ । माघ २ गते १६५ निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् ।

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवार मनोनयन गर्न आधा दर्जनभन्दा बढी तहको प्रक्रिया पूरा गर्नुपर्नेछ । उम्मेदवार बन्न नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र फोटोसहितको मतदाता परिचयपत्र हुनु सामान्य प्रक्रिया हो । यसपटक आयोगले ‘अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा’ पनि अनिवार्य गरेको छ । यो निस्सा बिना मनोनयन दर्ता नहुने निर्वाचन अयोगले जनाएको छ ।

उम्मेदवार मात्र होइन, प्रस्तावक र समर्थकको हकमा पनि नियमहरू छन् । प्रस्तावक र समर्थकको पनि मतदाता परिचयपत्र वा मतदाता नामावलीमा नाम रहेको निस्सा अनिवार्य बुझाउनुपर्नेछ । प्रस्तावक वा समर्थकको नाम सम्बन्धित निर्वाचन क्षेत्रको नामावलीमा भेटिएन भने उम्मेदवारी स्वतः बदर हुनेछ । राजनीतिक दलका उम्मेदवारका लागि सम्बन्धित दलको आधिकारिक हस्ताक्षरसहितको औपचारिक पत्र चाहिन्छ ।

स्वतन्त्र उम्मेदवारका लागि भने व्यक्तिगत विवरण र ‘स्वघोषणा’ पत्रलाई मात्रै अनिवार्य गरिएको छ । उम्मेदवारले आफू कुनै पनि लाभको पदमा नरहेको र फौजदारी अभियोग नलागेको स्वघोषणा गर्नुपर्छ । पछिल्लो समय पारदर्शिताको प्रश्न उठ्न थालेपछि आयोगले सम्पत्ति विवरणमा पनि कडाइ गरेको छ । उम्मेदवारले मनोनयन दर्ताकै बखत आफ्नो सम्पत्ति विवरण सिलबन्दी खाममा बुझाउनुपर्नेछ ।

‘कागजात अपुरो भएमा जतिसुकै पहुँचवाला नेता भए पनि निवेदन दर्ता हुँदैन,’ आयोगले भन्यो । प्रतिनिधिसभाका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ । यो रकम बैंकमा जम्मा गरेको भौचर वा निर्वाचन अधिकृतको कार्यालयमा नगद बुझाएको रसिद अनिवार्य गरिएको छ । बैंकको लामो लाइन र प्रक्रियाले गर्दा अन्तिम समयमा उम्मेदवारी दर्ता गर्नेहरूलाई भौचर व्यवस्थापन गर्न सकस हुन सक्छ तर यो अनिवार्य हो ।

प्रकाशित मिति : २०८२ माघ ६ गते मंगलबार