२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday

दुर्घटना रोक्न १२७५ किलो कुखुराको मासु चीललाई खुवाइने !

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २७ गते आइतबार

भारतको राजधानी दिल्लीमा गणतन्त्र दिवसको तयारी तीब्र रूपमा भइरहेको छ । राष्ट्रिय पर्वलाई सहज बनाउन अधिकारीहरू निरन्तर सक्रिय छन् । गणतन्त्र दिवसको एयर शो प्रायः आकाशमा उड्ने चराहरू विशेषगरी कालो चिलका कारण अवरोधमा पर्छ । यस वर्षको प्रदर्शनअघि अधिकारीहरूले एक अनौठो उपाय निकालेका छन् ।

दिल्ली वन विभागले करिब १,२७० किलो बोनलेस कुखुराको मासु प्रयोग गरेर कालो चिलहरूको गतिविधि नियन्त्रण गर्ने र विमान मार्गबाट टाढा राख्ने योजना बनाएको छ । भारतीय वायुसेनासँगको समन्वयमा हरेक वर्ष गरिने मासु फ्याँक्ने अभ्यासले हवाई प्रदर्शनका क्रममा कम उचाइमा उड्ने विमानमा चराहरू ठोक्किने जोखिमलाई रोक्नेछ ।

एक अधिकारीले भने, ‘यो गणतन्त्र दिवसको हवाई प्रदर्शनअघि गरिने वार्षिक पूर्व–सुरक्षा अभ्यास हो । कालो चिलजस्ता चराहरू खुला क्षेत्र र खाद्य स्रोततर्फ आकर्षित हुन्छन् । यदि तिनीहरू उडान मार्गमा प्रवेश गरे भने कम उचाइमा हुने विमानका गतिविधिमा गम्भीर खतरा उत्पन्न हुन्छ ।’ यस वर्ष पहिलो पटक चिललाई कुखुराको मासु दिइनेछ ।

‘पहिले यस उद्देश्यका लागि भैंसीको मासु प्रयोग गरिन्थ्यो । यस वर्ष पहिलो पटक कुखुराको मासु प्रयोग हुनेछ । हाम्रो प्रयास वन्यजन्तु व्यवस्थापन र गणतन्त्र दिवसको सहज सञ्चालनबीच सन्तुलन कायम गर्नु हो,’ अधिकारीले थपे । जनवरी १५ देखि २६ सम्म २० स्थानमा मासु फ्याँक्ने अभ्यास गरिनेछ ।

लालकिल्ला र जामा मस्जिदजस्ता संवेदनशील क्षेत्र, जहाँ चिलहरूको उच्च संख्यामा उपस्थिति देखिन्छ, विशेष ध्यानमा रहनेछ । अन्य स्थानहरूमा मण्डी हाउस, दिल्ली गेट र मौलाना आजाद डेन्टल साइन्सेस संस्थान वरपरका क्षेत्रहरू समावेश हुनेछन् । अधिकारीले बताए अनुसार प्रक्रिया अन्तर्गत तोकिएका स्थानमा सानो टुक्रा कुखुराको मासु आकाशतर्फ फ्याँकिनेछ, जसले चराहरूलाई तल्लो उचाइमा व्यस्त राख्नेछ र विमान मार्गतर्फ उड्न दिनेछैन ।

यो अभ्यास करिब १५ दिनसम्म दोहोर्याइन्छ, जसले चराहरूलाई नियमित खानाको ढाँचामा अभ्यस्त बनाउँछ । उद्देश्य भनेको गणतन्त्र दिवसको हवाई प्रदर्शनको दिन चराहरू उडान मार्गमा नपुगून् र विमानलाई कुनै जोखिम नहोस् भन्ने हो । जनवरी १५ देखि २५ सम्म सात दिनमा मासु आपूर्ति गरिनेछ ।

जनवरी १५, १८, १९, २०, २३ र २५ मा १७० किलो मासु आपूर्ति हुनेछ भने जनवरी २२ मा २५५ किलो मासु प्रयोग गरिनेछ । सबै मासु वजीराबादस्थित वन्यजन्तु उद्धार केन्द्रमा पुर्याइनेछ । प्रत्येक स्थानमा करिब २० किलो मासु प्रयोग गरिनेछ, जसअनुसार दैनिक २०० देखि ४०० किलोसम्म मासु विभिन्न स्थानमा प्रयोग हुनेछ ।

स्रोत : एजेन्सी
प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार