बैतडीको मेलौली नगरपालिका–७ का ३० वर्षीय मनोजसिंह भाट युरोप जानुअघि ट्रक चलाएर गुजारा गर्थे । पहिले अरूको गाडी चलाउने उनले ऋण खोजेर आफ्नै ट्रक किनेको दुई वर्ष भएको थियो, एक्कासि वैदेशिक रोजगारीका लागि युरोप जाने सोच बनाए । युरोप गएर टन्न धन कमाएर परिवारलाई खुसीसाथ लालनपालन गर्ने योजना बनाएका उनी ट्रक बेचेर साथीसँगै युरोप हान्निए ।
आफन्तका अनुसार उनीसँगै मेलौलीकै अर्का एक साथी पनि विदेश गएका थिए । युरोप जान लागेको बताए पनि आफू कुन मुलुक जाँदै हो भनेर मनोजले परिवारलाई भनेका थिएनन् । घर छाडेको तीन महिनासम्म उनी परिवारको सम्पर्कमै थिए । त्यसपछि सम्पर्कविहीन भएको मनोजका भाइ अशोक बताउँछन् । लामो समयपछि परिवारले मनोज रुसी सेनामा भर्ती भएको जानकारी पायो । विदेश गएको दुई वर्षपछि परिवारमाथि बज्रपात पर्यो ।
गत वैशाखमा रुसी सेनामा भर्ती भएका मेलौली–९ असुरका अर्जुनदत्त भट्टको मृत्युको खबर आएपछि मनोजका परिवारलाई पनि चिन्ता लाग्न थाल्यो । यसै क्रममा नेपालस्थित रुसी दूतावासले गत असारमा फोन गरेर ‘डीएनए’ परीक्षणका लागि मनोजकी आमालाई बोलायो । असारमा आमाले दिएको ‘डीएनए’को नमुना मिलेपछि गत वर्ष १७ पुसमा भएको लडाइँका क्रममा मनोजको मृत्यु भइसकेको दूतावासले अहिले पुष्टि गरेको हो ।
मृत्युको पुष्टि भएपछि आफन्त शोकमा डुबेका छन् । मनोजको शव नपाएपछि २० पुसमा कुश–पुतलो बनाएर दाहसंस्कार गरिएको वडाध्यक्ष रामचन्द्र भट्टले बताए । चार भाइ–बहिनीमध्ये मनोज साइँला हुन् । घरमा आमा–बुबा, भाइ र श्रीमती छन् । दिदीको बिहे भइसकेको छ । परिवारका अनुसार ट्रक खरिद गर्दा लागेको ऋण पनि तिरिसकेको छैन । त्यसमाथि विदेश जाँदा पनि मनोजले ऋण खोजेका थिए । शोकमा डुबेको परिवारलाई आर्थिक भारले पनि थिचेको छ ।
दुई वर्षअघि मनोज र मेलौली–८ का गोपी विष्ट सँगै यात्रामा निस्किएका थिए । यसै क्रममा काठमाडौंमा वैदेशिक रोजगारीमा पठाउने व्यक्तिसित भेट भयो । दुवै जनाबाट आठ–आठ लाख रुपैयाँ लिएर ती व्यक्तिले दुबई हुँदै मस्को पुर्याएर रसियन सेनामा भर्ना गरिदिने जिम्मा लिएका थिए । दुवैले पैसा बुझाएपछि आवश्यक कागजात बनाएर मस्को पठाउने तयारी गरियो । आफन्तका अनुसार त्यही व्यक्तिले भाट र विष्टलाई पठाउनुभन्दा सात दिन अगाडि मेलौली–९ का भट्टलाई दुबई हुँदै मस्को पठाएका थिए ।
परिवारलाई मनोजले युरोप र अर्जुनले पोल्यान्ड जान लागेको जानकारी दिएका थिए । तीन जनामध्ये मनोज र अर्जुनको युद्धका क्रममा मृत्यु भयो भने गोपी सकुशल घर फर्किएका छन् । ‘दलाल’ले दुबई हुँदै मस्को पुर्याएर रुसी सेनामा भर्ती गरिदिएको विष्टले बताए । भर्ना गरेपछि एक वर्षको सम्झौता अनुसार मनोज र आफूलाई रुस्तव भन्ने ठाउँमा तालिममा पठाएको विष्ट बताउँछन् । ‘तालिमपछि ४८ जना नेपालीको छुट्टै टोली बनायो,’ उनले भने, ‘रुस्तवबाट मोबाइल र पासपोर्ट लिएर लड्न जानुपर्छ भन्दै युक्रेनको सीमातिर पठायो ।’
४८ जना नेपालीसहित १० हजार सैनिक सीमाको मुख्य लडाइँ क्षेत्रमा खटिएको विष्टले बताउँछन् । ‘मस्कोबाट छुट्टिएदेखि अर्जुनसँग हाम्रो भेट भएन,’ उनले भने । बेलारुसबाट आएको ग्यास पाइपभित्र छिरेर युक्रेन प्रवेश गर्ने योजनाअनुसार विष्टसहित ६ जनालाई पाइपबाट गएर युक्रेनमा खुला ठाउँ बनाउन पठाइयो । ‘यहींबाट मनोज र मेरो साथ छुट्टियो,’ उनले भने, ‘मेरो टोलीले अह्राएअनुसारको काम पूरा गरेर फर्किने क्रममा मनोजसित पाइपभित्र अन्तिम भेट भयो ।’ एक वर्षजति त्यही क्षेत्रमा भोकभोकै लडाइँमा बिताएको विष्ट बताउँछन् ।
लडाइँका क्रममा मनोजको खोजीका लागि धेरै पटक कमान्डरसित आग्रह गरेको उनले बताए । एक पटक मनोजसहित धेरै जनाको अवस्था बुझ्न टोली गठन गरिएको उनको भनाइ छ । लडाइँमा खटिएको एक वर्षपछि आँखामा समस्या देखिएपछि जँचाउन मेडिकल पठाएका बेला एक जना रसियन सेनाकै सहयोगमा आफू ट्याक्सीको सम्पर्कमा पुगेको विष्टले बताए । ट्याक्सी चढेर मस्कोस्थित नेपाली दूतावासको सम्पर्कमा आएपछि सकुशल घर फर्किन सफल भएको उनले बताए ।
सत्यपाटी