२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

आज पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २७ गते आइतबार

३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस आज (आइतबार) विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । आधुनिक नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको हो । हरेक वर्ष पुस २७ मा उनको योगदानको स्मरण गरेर यो दिवस मनाउने गरिन्छ ।

गोर्खाली राजा नरभूपाल शाह र रानी कौशल्यावतीका जेठा छोराका रूपमा विसं १७७९ पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको छ ।

भौगोलिक रूपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमासमेत दिने गरिएको छ । उनको विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा निधन भएको थियो । पृथ्वीनारायण शाह २० वर्षमा गोर्खाका राजा भएका थिए । शाहले राजगद्दीमा बसेलगत्तै नेपाल एकीकरण अभियानको सुुरुवात गरेका थिए । विसं.१८०१ असोज १५ गते नुवाकोटमाथि विजय हासिल गरेर उनले नेपाल एकीकरणको अभियान प्रारम्भ गरेका थिए ।

त्यसपछि कीर्तिपुर, कान्तिपुर, पाटन, भक्तपुर, मकवानपुर हुँदै उनले एकीकरण अभियानलाई पूर्वका चौदण्डी र विजयपुर हुँदै टिष्टासम्म पुर्याएका थिए । शाहले देशको पश्चिमी क्षेत्रमा पनि एकीकरण प्रयास गरेका थिए, तर त्यो पूर्ण हुन सकेन । जे होस् नेपाल एकीकरण महान् अभियान उनले सुरुवात गरेका थिए । यस अवसरमा राष्ट्रपति, प्रधानमन्त्री तथा दलका नेताहरूले शुभकामना व्यक्त गरेका छन् ।

दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक

पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । यी दिव्य उपदेश पढ्दा उनी दूरदर्शी राजा भएको प्रष्ट हुन्छ । विसं. १८३१ (सन् १७७४) मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिरामी परे ।

स्वास्थ्य झन्झन् खराब हुँदै गएपछि उनकै इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते ५२ वर्षको उमेरमा उनको निधन भयो । घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरू दिएका थिए, जसलाई दिव्य उपदेश भनिन्छ ।

यस्ता छन् दिव्य उपदेश

  • मुलुकमा अन्याय हुन नदिनु ।
  • सधैँ गुणको होइन नुनको पछि लाग्नु ।
  • सुरक्षा निकाय र जनताप्रति बफादार रहनु ।
  • जनता मोटाउनु भनेको दरबार बलियो हुनु हो ।
  • आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ ।
  • सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नु ।
  • नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु ।
  • काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा बनाउनु ।
  • अदालतको पैसा दरबारमा नलैजानु र त्यसको सदुपयोग, जोगी, संन्यासीलाई भोजन गराउनु ।
  • खानी भएको ठाउँमा गाउँ भए पनि गाउँलाई अन्यत्र सारेर खानी चलाउनुपर्छ र उब्जनीयोग्य जमिनमा बनेको घर भत्काएर भए पनि त्यहाँ खेतीपाती गर्नुपर्छ ।

विश्व मानचित्रमा नेपालको अस्तित्व र संसारभरि नेपालीहरूको महत्वलाई उच्च सम्मान र सहअस्तित्व कायम गराउने राष्ट्रनिर्माता पृथ्वीनारायण शाह भएको राजनीतिक विश्लेषक प्रा.डा.सुरेन्द्र केसी बताउँछन् । प्रा.डा.केसी पृथ्वीनारायण शाहलाई अमुक धर्म वा प्रणालीभन्दा पनि सबैको साझा धरोहर बनाई अपनाउनु नै साँचो अर्थमा उनीप्रतिको सद्भाव हुने बताउँछन् । ‘उहाँको नाममा व्यापार र वृत्ति चलाउनेले उहाँको उचाइ घटाएका छन्,’ उनले भने ।

देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको छ : पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले आफू नारायणहिटी दरबारबाट बाहिरिएको करिब दुई दशक बितिसक्दा पनि देशले सामना गर्नुपरेको संकटले आफूलाई चिन्तित बनाएको टिप्पणी गरेका छन् । राष्ट्रिय एकता दिवसको पूर्वसन्ध्यामा भिडियो सन्देश जारी गर्दै पूर्वराजा शाहले हिजो देश नबनेको चिन्ता रहेकोमा अहिले देश नै नबच्ने हो कि भन्ने निराशा पैदा भएको बताएका छन् ।

‘नारायणहिटी राजदरबारबाट हामी बाहिरिएको करिब दुई दशक बित्दा पनि देशले सामना गर्नुपरेको संकटले हामीलाई चिन्तित तुल्याएको छ,’ उनले भनेका छन् । पूर्वराजा शाहले भाषण, जादु र चमत्कारले देश नबन्ने उल्लेख गर्दै सबै जात, धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधिका रूपमा राजसंस्थाले जिम्मेवारी निर्वाह गर्दै आएको दाबी गरे ।

जनताले सुम्पेको जिम्मेवारीबाट राजसंस्था विमुख हुन नसक्ने भन्दै सबै नेपालीले कर्तव्यबोधसहित ‘पृथ्वीपथ’मा लाग्नुपर्ने धारणा व्यक्त गरेका छन् । उनले करिब दुई दशकअघि शान्ति, आर्थिक प्रगति र स्थायित्वको आश्वासनसहित सत्तामा पुगेका राजनीतिक दलहरूको चाहनाअनुसार आफूले श्रीपेच जनताको नासो जनताकै सुरक्षित निकायमा बुझाएर सहयोगी भावनाका साथ राजकाजबाट बाहिरिएको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले पृथ्वीनारायण शाहको योगदानको स्मरण गर्दै नेपाललाई चार वर्ण ३६ जातको साझा फुलबारीका रूपमा चित्रण गरिएको प्रसंग उल्लेख गरेका छन् । नेपाल राजाको मात्र नभई जनता र राजाको समान स्वामित्वको देश भएको सन्देश पृथ्वीनारायण शाहले दिएको उनको भनाइ छ ।

प्रधानमन्त्रीदेखि दलका नेतासम्मलाई राप्रपाको आमन्त्रण

राप्रपाले चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, विभिन्न राजनीतिक दलका अध्यक्ष तथा नेताहरू, पूर्व–प्रधानमन्त्रीहरू, संवैधानिक निकायका प्रमुखहरू, विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिहरू, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न पेसागत संघसंस्थाका प्रमुखहरू, कलाकार, खेलाडीलगायत सामाजिक जीवनका विभिन्न व्यक्तिहरूलाई निमन्त्रणा पठाएको छ ।

यसका लागि अध्यक्ष लिङ्देनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर निमन्त्रणासमेत गर्नुभएको छ । राप्रपाले ०६३ देखि हरेक वर्ष पृथ्वी जयन्तीको अवसरमा चियापान कार्यक्रम गर्दै आइरहेको छ । राजसंस्था पुनःस्थापनाको वकालत गरिरहेको राप्रपाले हरेक वर्ष पुस २७ गते ‘पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस’ मनाउँदै आएको छ ।

नेपाल एकीकरणका नेतृत्वकर्ता पृथ्वीनारायण शाहको जन्मदिवसका अवसरमा राप्रपाले यो दिवस मनाउँदै आएको हो । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारको पालादेखि सरकारले पृथ्वी जयन्तीमा बिदा दिँदै आएको छ । यद्यपि, औपचारिक रूपमा भने सरकारले यो दिवस मनाउने गरेको छैन ।

सेनाको पदयात्रा

३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाली सेनाले पदयात्रा गरेको छ । सेनाले नेपाल एकीकरणको दौरान प्रयोग भएको गोरखा, धादिङ नुवाकोट हुँदै काठमाडौंस्थित हनुमान ढोकासम्मको पदयात्रा गरेको हो । नेपाली सेनाका अनुसार उक्त पदयात्रा धादिङ, नुवाकोट हुँदै हनुमानढोका दरबार पुगेर पौष २७ गते जंगी अड्डामा आयोजना हुने विशेष समारोहका बीच समापन हुनेछ ।

यसै अवसरमा पौष २७ गते जंगी अड्डास्थित समारोहमै राष्ट्र निर्माता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको देनसम्बन्धी प्रवचन, लघुनाटक तथा वृत्तचित्र प्रदर्शन, कविता प्रतियोगिता लगायतका कार्यक्रम आयोजना गरिने जनाइएको छ । नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई भव्य रूपमा मनाउन देशभर तथा विदेशमा तैनाथ आफ्ना विभिन्न इकाइहरूमार्फत विविध कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८२ पुस २७ गते आइतबार