उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अनिल सिन्हाले एकाधिकार सधैं कायम नरहने भन्दै प्रतिस्पर्धी हुनुपर्ने बताएका छन् । नेपाल आयल निगम लिमिटेडको ५६ औं वार्षिकोत्सवका अवसरमा वर्षौंदेखि अड्किएर बसेको इथानोेलको नीतिगत मात्रै निर्णय भएको भन्दै उनले प्रारम्भिक चरणमा रहेकाले थप अध्ययन अनुसन्धान गर्नुपर्ने बताए ।
संस्थागत सुशासनलाई कसैले छोड्न नहुने भन्दै मन्त्री सिन्हाले त्यही कारण भदौ २३ र २४ मा जेनजी प्रदर्शन भएको समेत बताए । ‘बोनसको विषयमा कानुन विपरित सेवासुविधा लिनुहुँदैन । कानुभन्दा कम पनि सेवासुविधा पनि लिनुहुँदैन,’ उनले भने । नयाँ भवनबाट पारदर्शी, भ्रष्टाचारविरूद्व शून्य सहनशीलता कायम गर्नुपर्ने उनले बताए ।

५६ औं वार्षिकोत्सवका अवसरमा निगमका कार्यकारी निर्देशक डा.चण्डिका भट्टले जुनसुकै परिस्थितिमा उपभोक्ताको इन्धनको आवश्यकतालाई परिपुर्ति गर्दै आएको बताए । गत वर्ष ३६७ अर्बको कारोबार भएकोमा १३ अर्ब नाफा कमाएको भन्दै निगमले सरकारलाई १२४ अर्ब राजस्व योगदान गरेको उनले सुनाए ।
‘निगमले वार्षिक रूपमा ६३ हजार किलोलिटर पेट्रोल, १ लाख २० हजार किलोलिटर डिजेल, २ हजार किलोलिटर मट्टितेल, १८ हजार किलोलिटर हवाई इन्धन र ४६ हजार टन एलपी ग्याँस आपूर्ति गरेको छ,’ उनले भने । पाइपलाइन निर्माणले पेट्रोल र डिजेलको चुनौतीपूर्ण ढुवानीमा सहज भएको उनले सुनाए ।

पोखरा विमानस्थलमा हवाई इन्धन डिपो निर्माण गरी हस्तान्तरणको चरणमा रहेको उनले बताए । निगमले कम तेल दिएको भन्ने आक्षेप निराकरणका लागि प्रविधि प्रयोगमा ल्याइएको उनले जनाए । कर्णाली प्रदेशमा डिपो निर्माणका लागि काम सुरू गरिएको जानकारी दिँदै उनले नयाँ सडक तथा अहिलेसम्म पम्प नभएका ठाउँमा ३७ वटा पेट्रोल पम्प निर्माण गर्ने तयारी भइरहेको सुनाए ।
सिनामंगलस्थित डिपो स्थान्तरण गर्नुपर्ने उनले बताए । हरित ऊर्जातर्फ जानका लागि इथानोलको प्रयोग गर्नुपर्ने उनको भनाइ छ । संस्थाका कर्मचारीलाई मनोपोली बोनसबारे उचित व्यवस्थापन गर्नुपर्ने उनले बताए । ‘बोनस पाउनुपर्छ पनि भन्दिन । पाउनुहुँदैन पनि भन्दिन, यद्यपि उचित व्यवस्थापन गर्नुपर्छ,’ उनले भने ।

निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव रामप्रसाद घिमिरेले समयको माग र प्रविधिअनुसार संस्थाको विकास हुनुपर्ने बताए । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले पेट्रोलियम पर्दाथ ल्याउन पाइपलाइनसँगै दोस्रो योजना पनि तयार गर्नुपर्ने बताए ।
‘विभिन्न ठाउँबाट तेल ल्याएर भण्डारण त गर्छौं । पेट्रोलियम ढुवानी गर्ने ट्यांकरहरू विस्थापित हुन थालेको छ । पाइपलाइनमा समस्या आयो भने कसरी आपूर्ति हुन्छ,’ उनले भने । वार्षिकोत्सवको अवसरमा उद्योगमन्त्री सिन्हाले नवनिर्मित निगमको भवनको उद्घाटन गरे । पछिल्ला आठ महिनादेखि निगमको काम सोही भवनमार्फत भइरहेको छ ।

वार्षिकोत्सवमा निगमको प्रभात स्मारिकाको विमोचन समेत गरिएको छ । निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र शाहले उपभोक्ताले पेट्रोलियम पदार्थको अभाव भोग्नुपर्ने अवस्था नरहेको बताए । भारतीय बजारको तुलनामा प्रतिलिटर १४ रूपैयाँ सस्तो रहेको उनले बताए । विभिन्न स्थानमा पाइपलाइन बिस्तार भइरहेको उनको भनाई छ ।
स्वचालित मूल्य प्रणाली अपनाइसके पछि निगमको वित्तीय अवस्था राम्रो रहेको उनले सुनाए । पेट्रोलियम पदार्थ डिलर्स एसोसिएसनका अध्यक्ष आत्मराम थापाले निगमको डिलरहरूको आवश्यकतालाई ध्यान दिन निगमलाई आग्रह गरे । प्रतिलिटर ९ रूपैयाँ हुँदा कायम रहेको कमिसन अहिले पनि उस्तै रहेको बताए । उनले कमिसन बढाउन आग्रह गरे ।

अन्य सामान बेच्ने व्यवसायीे आफू खुसी मूल्य र विचौलिया मार्फत बिक्री गरी मनग्ये आम्दानी गरिररहेको भन्दै आफूहरूले सरकारले तोकेकै मूल्यमा काम गरिररहेको बताए । एलपी ग्यास उद्योग संघ नेपालका अध्यक्ष कृष्णभक्त श्रेष्ठले फरक क्षमताको सिलिन्डरअन्तर्गत १४.२ किलोको सिलिन्डर आवश्यकताभन्दा बढी भइरहेकाले ध्यानाकर्षण भएको बताए ।
नेपाल एलपी ग्यास उद्योग संघका निवर्तमान अध्यक्ष शिवप्रसाद रेग्मीले सरोकारवालासहितको प्रयासमा विभिन्न उत्तारचढावका बीच निगम ५६ वर्षमा लागेको बताए । निगमले भौतिक रूपमा काम गरिसकेको भन्दै रेग्मीले अब रूपान्तरणका काम गर्नुपर्ने बताए ।

नेपाल पेट्रोलियम ढुवानी महासंघका अध्यक्ष मनोजकुमार दासले ढुवानी भाडाको भुक्तानी अझै पीआरपीबाट नभइरहेको बताए । ‘उत्कृष्ट प्रविधि अपनाइरहेका छौं तर हाम्रो भुक्तानी भइरहेको छैन,’ उनले भने । पाइपलाइनका कारण ढुवानीको काम घटिरहेको भन्दै दासले अब निगमले व्यापार विविधिकरणमा जानुपर्ने बताए ।
नेपाल पेट्रोलियम डिलरर्स राष्ट्रिय एसोसिएशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले व्यवसाय विविधिकरण गरी अन्य क्षेत्रमा जानुपर्ने बताए । पेट्रोलियम पदार्थको प्रयोग घटिरहेको उनको बुझाइ छ । ईथानोल ब्लेन्डिङको विषयमा आर्थिक, व्यवसायिक उपभोक्ताको विषयमा अध्ययन गरी सुरू गर्नुपर्ने उनले बताए ।

नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनका अध्यक्ष विकास बखतीले विद्युतीय सवारीको बढ्दो प्रयोगले पेट्रोलियम पदार्थको व्यापारमा संकुचन हुन थालेको बताए । सरकारको बोनस ऐन बमोजिम कर्मचारीले बोनस नपाएको समेत उनले जानकारी गराए । २०५८ सालदेखि बोनस नपाएको उनको भनाइ छ । वाषिर्कोत्सवका अवसरमा विभिन्न कर्मचारीलाई सम्मान गरिएको थियो ।

सत्यपाटी