बर्दिया र कैलालीको बिचमा रहेको कर्णाली नदीको शक्तिघाट क्षेत्रलाई नेपालकै पहिलो मत्स्य अभयारण्य घोषणा गरिएको छ । राजापुर नगरपालिका र टीकापुर नगरपालिकाले शक्तिघाट पुल वरिपरि करिब चार वर्गकिलोमिटर क्षेत्रलाई मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेको हो ।
राजापुर र टीकापुर नगरपालिका नदी तटीय क्षेत्र स्थानीयको सहभागितामा माछा र जलचरको संरक्षणका लागि मत्स्य अभयारण्य क्षेत्र गरिएको हो । राजापुर नगरपालिका–३ को टेडिया घाटदेखि वडा नं. ४ को छेदियाघाटसम्म र टीकापुर नगरपालिका–८ को फाँटादेखि अर्नवाघाटसम्म मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको हो ।
नदीआसपासका दुवै नगरपालिका र स्थानीयको सहमति तथा सहभागितामा मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको राजापुर नगरपालिकाका प्रमुख दिपेश थारूले बताए । उनले तोकिएको क्षेत्रभित्र माछा मार्न जाल थाप्न नपाइने बताउँदै आसपासका क्षेत्रमा पनि प्रजनन समयभन्दा बाहेकको समयमा महाजाल, विषादी, करेन्ट र विस्फोटक पदार्थको प्रयोग नगरी माछा मार्न पाइने बताए ।
‘हामीले अहिलेसम्म माछाको स्वाद लिन पाएका छौँ । हाम्रा छोरानातिले पनि माछाको स्वाद लिन पाऊन् भनेर मत्स्य अभयारण्य क्षेत्र घोषणा गरेका हौँ,’ उनले भने, ‘माछा संरक्षणले स्थानीयलाई नै फाइदा हुन्छ, अध्ययन र पर्यटकीय क्षेत्रका रूपमा पनि विकास गर्न सकिन्छ ।’
माछा संरक्षणका लागि मत्स्य अभयारण्य क्षेत्र घोषणा गरिएको बताउँदै टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले यसलाई घोषणामा मात्र सीमित नबनाई नगरपालिकाले कार्यविधि बनाएर नै लागु गर्ने बताए । नदी तटीय क्षेत्रका स्थानीयवासीको सहभागितामा १५ वटा समूह बनाई संरक्षण सुरु गरिएको उनले बताए ।
सांस्कृतिक जगेर्नाका लागि माछाको समयचक्र अनुसार मापदण्ड बनाई निश्चित अवधि तोकेर माछा मार्नसमेत दिइने नगर प्रमुख डगौराले बताए । माछामा आश्रित नदी तटीय क्षेत्रका स्थानीयका लागि वैकल्पिक आयमूलक कार्य गर्ने, माछा आपूर्तिका लागि माछापालनमा सहयोग गरिने र जीविकोपार्जनमा सहयोग गरिने योजना छ ।
सो क्षेत्रमा अवैध र अव्यवस्थित रूपमा नदीजन्य पदार्थ उत्खननमा समेत रोक लगाइएको छ । विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ)का नेपाल प्रतिनिधि डा.घनश्याम गुरुङले कर्णाली शक्तिघाट क्षेत्र नेपालकै पहिलो मत्स्य अभयारण्य क्षेत्र भएको बताए ।
उनले जलीय जैविक विविधता संरक्षणका लागि नेपाल पहिलो र उदाहरणीय काम भएको बताए । जलचर संरक्षणकर्मी विजयराज श्रेष्ठले मत्स्य अभयारण्य क्षेत्र लागु भएपछि कर्णाली नदी अध्ययन र पर्यटकीय स्थल बन्ने बताए ।
उनले माछाको संरक्षणसँगै घडियाल गोही, डल्फिन र ओतको पनि संरक्षण हुने बताए । नेपालमै पहिलो पटक घोषणा गरिएको सो क्षेत्रमा डल्फिन, ओत र घडियाल गोही विचरण गर्ने क्षेत्र हो । जथाभाबी तरिकाले माछा मार्न रोकिएपछि माछासँगै अरू जलचरको संरक्षण हुने भएको छ ।
सत्यपाटी