२०८२ माघ ८ , बिहीबार 23, January 2026, Friday
विचार

महिला सम्मान र समानताको सन्देश

महिलालाई हेप्ने, अपमान गर्ने, हिंसा गर्ने सोचले कुनै पनि पुरुष ठूलो बन्दैन । साँचो पुरुषत्व भनेको महिलाको रक्षा गर्नु, उनीहरूको आवाज सुन्नु र बराबरी व्यवहार गर्नु हो ।
सुनिता अर्यालसुनिता अर्याल । काठमाडौं । २०८२ पुस २५ गते शुक्रबार

महिला समाजको आधार स्तम्भ हुन् । महिला बिना समाजको कल्पना नै गर्न सकिँदैन । आमा, छोरी, दिदीबहिनी, पत्नी हरेक रूपमा महिला हाम्रो जीवनको अभिन्न हिस्सा हुन् । घरको व्यवस्थापनदेखि समाज निर्माणसम्म महिलाको भूमिका अमूल्य छ । उनीहरू केवल घरभित्र सीमित छैनन्, शिक्षामा, स्वास्थ्यमा, राजनीति, व्यापार, कृषि, विज्ञान हरेक क्षेत्रमा महिलाले आफ्नो क्षमता प्रमाणित गरिरहेका छन् ।

त्यसैले महिलालाई दोस्रो दर्जाको नागरिकझैँ व्यवहार गर्नु अन्याय मात्र होइन, समाजको प्रगतिको बाटो रोक्नु पनि हो । धेरैजसो समाजिक सेवा कार्यमा कार्यरत ब्याक्तित्वहरुले महिला उत्थानको कुरा ठुलठुला आवाजमा भाषण दिन्छन् र तालीको आवाजमा रमाई आफ्नु कर्तव्य पूरा गरेसरी गमक्क परेर उहीँ नातावाद, जातिवाद र पितृसतात्मक सोचले आफ्नु कार्यक्षेत्र, घर परिवार र समाज अथवा संघसंस्थामा महिलालाई हेप्ने प्रचलन यथावत छ ।

जसरी देशका लागि असल राजनीतिज्ञ, समाज सेवाको भावनाले दृढ़ संकल्पधारी र मानवप्रेमीको खाचो महसुस गरिएको छ, त्यसरी नै महिलाको उत्थानको लागि हृदयबाट महिलाको सम्मान गर्नु, बुझ्नु र अगाडि बढ्न प्रसय दिनुपर्छ । हुनत हाम्रो धर्मकर्ममा महिलालाई समावेस गरे पनि उचित कदर गरेको पाइन्न जस्तै श्राद्ध कर्ममा, विशिष्ट कुल पुजामा महिलाको स्थान नगण्य पाइन्छ ।

तर त्यसै समाजको धारणा छ पुरुषभन्दा पहिला महिलाको नाम लिँदामात्र देवता प्रशन्न हुनेजस्तै राधेश्याम, गौरीशंकर, सीताराम आदि । यसरी यो स्पष्ट छ कि महिला पिछडिएका होइनन् महिला पछाडी पारिएका हुन् । सामाजिक रितिरिवाज र कर्मकाण्डका ठेकेदारहरु, पुरुष वर्गले महिलाको महत्व, महिलाको दक्षता, महिलाको क्षमतालाई उपयोग गरेका छन्, तर मान, सम्मान, इज्जत, कदर र श्रेय पुरुष वर्गलाई दिइन्छ ।

पुरुषले महिला प्रति सम्मान देखाउनु किन आवश्यक छ ?

नारीको सम्मानमा मनुस्मृति, अध्याय ३, श्लोक ५६ मा ‘जत्र पुज्यन्ते नारी तत्र वसन्ते रमन्ते देवता’ यो वाक्य पाइन्छ । यसको अर्थः जहाँ महिलाको पूजा र सम्मान गरिन्छ, त्यहाँ देवता खुशी भएर बस्छन् । जहाँ महिलाको अपमान हुन्छ, त्यहाँ गरिएका सबै कर्म निष्फल हुन्छन् । यसले प्राचीन हिन्दु धर्मशास्त्रमा पनि महिलालाई कति उच्च स्थान दिइएको थियो भन्ने कुरा स्पष्ट गर्छ । नारी सम्मानलाई धर्म, संस्कृति र समाजको आधार मानिएको छ ।

यसको शाब्दिक अर्थः जहाँ नारी (महिला)लाई पूजा गरिन्छ, सम्मान गरिन्छ, त्यहाँ देवता वास गर्छन् । अझ व्याख्या गर्ने हो भने यस श्लोकले भन्न खोजेको मुख्य कुरा महिलाको सम्मान हुने घर, समाज र देशमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा हुन्छ । नारीलाई हेप्ने, अपमान गर्ने वा दबाउने समाजमा अशान्ति, कलह र अवनति बढ्छ । तर जहाँ महिलालाई इज्जत, माया, अधिकार र समान अवसर दिइन्छ, त्यहाँ परिवार सुखी हुन्छ, सन्तान सुसंस्कृत हुन्छन् र समाज प्रगतिशील बन्छ ।

नारी आमा, छोरी, बहिनी, श्रीमतीको रूपमा जीवन दिन्छिन्, संस्कार दिन्छिन् र भविष्य निर्माण गर्छिन् । त्यसैले नारीको अपमान गर्नु भनेको आफैंको भविष्य अपमान गर्नु हो । नारीको सम्मान गर्नु भनेको देवताको पूजा गर्नु सरह पुण्यको काम मानिएको छ । यो श्लोकले महिला सम्मानलाई धर्म, संस्कृति र सभ्यताको आधार मानेको छ । जहाँ महिला सुरक्षित र सम्मानित छन्, त्यहीँ साँचो अर्थमा ‘देवताको बास’ हुन्छ । पुरुष र महिला एक–अर्काका प्रतिस्पर्धी होइनन्, सहयात्री हुन् ।

पुरुषले महिलालाई सम्मान गर्नु भनेको केवल शिष्ट व्यवहार देखाउनु मात्र होइन, उनीहरूको अधिकार, भावना र अस्तित्वलाई स्वीकार गर्नु हो । जहाँ महिलालाई सम्मान गरिन्छ, त्यहाँ परिवार सुखी हुन्छ, समाज सन्तुलित हुन्छ र राष्ट्र बलियो बन्छ । महिलालाई हेप्ने, अपमान गर्ने, हिंसा गर्ने सोचले कुनै पनि पुरुष ठूलो बन्दैन । साँचो पुरुषत्व भनेको महिलाको रक्षा गर्नु, उनीहरूको आवाज सुन्नु र बराबरी व्यवहार गर्नु हो ।

घरबाटै सुरु गरौँ समानताको अभ्यास

समानता भाषणमा मात्र होइन, व्यवहारमा देखिनुपर्छ । छोराछोरीमा भेदभाव नगर्ने, छोरीलाई पनि शिक्षा र अवसर दिने, घरको काम महिलाको मात्र जिम्मा नठान्ने, निर्णयमा महिलाको रायलाई महत्व दिने यी सबै कुरा घरबाटै सुरु हुन्छन् । जब घरभित्र बराबरी हुन्छ, तब समाजमा पनि बराबरी स्थापित हुन्छ ।

महिला सशक्तिकरण : राष्ट्र सशक्तिकरण

महिला सशक्त भए भने परिवार सशक्त हुन्छ, परिवार सशक्त भए समाज सशक्त हुन्छ, र समाज सशक्त भए देश सशक्त हुन्छ । त्यसैले महिलालाई अवसर दिनु, नेतृत्वमा ल्याउनु, निर्णय प्रक्रियामा सहभागी गराउनु राष्ट्र निर्माणकै काम हो । अन्त्यमा महिला दया होइन, सम्मान चाहन्छिन् । सहानुभूति होइन, समान अधिकार चाहन्छिन् । संरक्षण होइन, स्वतन्त्रता चाहिन्छ ।

प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार