२०८२ माघ ६ , मंगलबार 20, January 2026, Tuesday

१०० वर्ष नाघेका खड्गबहादुर, ‘समाजका जीवित इतिहास’

ध्रुवसागर शर्माध्रुवसागर शर्मा । म्याग्दी । २०८२ पुस २१ गते सोमबार

शतायु नाघेका म्याग्दी जिल्लाको बेनी नगरपालिका–२, बगरफाँटका खड्गबहादुर थापा शारीरिक तथा मानसिक रूपमा स्वस्थ छन् । नियमित दिनचर्या, खानपान र धार्मिक आस्थालाई जीवनको आधार बनाएका उनको दीर्घायु यहाँका मानिसहरूका लागि प्रेरणा बनेको छ । विसं १९८३ मा जन्मिएका थापाले नेपालको राजनीतिक, सामाजिक र सांस्कृतिक परिवर्तनका थुप्रै कालखण्ड अनुभव गरेको छ ।

राणा शासन, प्रजातन्त्र, पञ्चायती व्यवस्था हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा देशमा आएका परिवर्तन उनले नजिकबाट देखेका हुन् । १०० वर्ष नाघेका थापाको जीवन यात्रामा ८४ वर्षीया पत्नी खिरकुमारी थापाको साथ निरन्तर छ । पत्नी खिरकुमारीसँगै ७९ वर्षीया साली तुलकुमारी पनि उनीसँगै छिन् । बिहान सबेरै उठ्ने, पूजा–पाठ गर्ने र सादा जीवन बिताउने उनीहरूको दिनचर्या दशकौँदेखि उस्तै छ । १०० वर्ष पार गरेका थापा बिहानै उठ्छन् ।

पुसको जाडोमा बाहिर निस्केर घाम ताप्ने, घरआँगन वरिपरि हिँड्डुल गर्ने र हरिभजन गाउँदै दिन बिताउने गर्छन् । श्रीमती खिरकुमारीसँगै जीवनका सुख–दुःख, अभाव र संघर्षसँगै भोगेका यी दम्पती समाजका लागि प्रेरणाका पात्र बनेका छन् । खड्गबहादुर भन्छन्, ‘सरकारले भत्ता दिएको छ, आफ्नै छोरानाति नभए पनि दाइभाइका छोरानातिले खबर लिने, आवश्यक परेको बेला साथ सहयोग दिने गरेका छन् । अरू कुरामा कुनै चासो पनि छैन र कसैप्रति कुनै गुनासो पनि छैन ।’

खड्गबहादुर थापाको जीवन धार्मिक संस्कार र आस्थासँग गहिरो रूपमा गाँसिएको छ । बिहान उठ्ने बित्तिकै ईश्वर स्मरण गर्ने, मन शुद्ध राख्ने र अरूको कुभलो नचिताउने बानी उनको रहेको स्थानीय बताउँछन् । हिन्दू धार्मिक मान्यता अनुसार दीर्घायु हुनु पूर्वजको आशीर्वाद, सत्कर्म र संयमित जीवनको प्रतिफल मानिन्छ । यही विश्वासमा हुर्किएको पुस्ताका प्रतिनिधि हुन् खड्गबहादुर थापा । उन िभन्छन्, ‘धन, सम्पत्तिभन्दा पनि मन शान्त भयो भने रोग लाग्दैन ।’

अभावबीच बितेको संघर्षपूर्ण जीवन

थापाको जीवन सहज थिएन । बाल्यकाल र युवावस्थामा आजको जस्तो सुविधा थिएन । खेतबारीमा श्रम गर्नु, घाँस–दाउरा गर्नु, टाढाटाढाबाट पानी बोक्नु नै दैनिकी थियो । थापा भन्छन्, ‘सकुन्जेलसम्म भारी बोक्ने, खेतबारीमा काम गर्ने गर्थे, शरीरलाई कहिल्यै पनि अल्छी हुन दिइनँ । शरीर बलियो थियो । दुःख त कति गरियो भनिसाध्य छैन ।’ चिकित्सा विज्ञानका अनुसार प्राकृतिक र सन्तुलित आहारले मधुमेह, उच्च रक्तचाप र मुटुरोगको जोखिम कम गर्छ । थापाको जीवनशैलीले यही वैज्ञानिक तथ्य पुष्टि गरेको देखिन्छ ।

दाम्पत्य समझदारी र पारिवारिक साथ

८४ वर्षीया श्रीमती खिरकुमारी थापा जीवनभरको सहयात्री बनेर श्रीमानका साथमा छिन् । उनी भन्छिन्, ‘हामीले ठूला सपना देखेनौँ, मन मिलाएर जीवन बितायौँ ।’ समाजशास्त्रीहरूका अनुसार सुदृढ पारिवारिक सम्बन्ध र भावनात्मक साथले मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, जसले दीर्घायुमा मद्दत गर्छ । थापा दम्पतीको जीवन यसैको उदाहरण हो । थापाले आफ्नो दीर्घायुको प्रमुख कारण धार्मिक आस्था र अनुशासनलाई मान्छन् । उनी हरेक दिन बिहान स्नानपछि पूजा–पाठ गर्ने गर्छन् ।

‘मन शान्त भयो भने शरीर आफैँ ठीक हुन्छ,’ उनले भने । चिकित्सकहरूका अनुसार शतायु पार गरेका धेरै व्यक्तिहरूमा समान जीवनशैली देखिन्छ । कम तनाव, नियमित हिँड्डुल, सन्तुलित आहार र सकारात्मक सोच दीर्घायुका मुख्य आधार मानिने चिकित्सकहरू बताउँछन् । ध्यान, प्रार्थना र सामाजिक सक्रियताले मस्तिष्कमा सकारात्मक प्रभाव पार्ने अनुसन्धानले देखाएको छ ।

‘धार्मिक अभ्यास र ध्यानले तनाव कम गराउँछ, जसले दीर्घकालीन स्वास्थ्यमा सहयोग पुर्याउँछ,’ नविक आनन्द योग केन्द्रका योगगुरु नवीन जुग्जालीले बताए । युवावस्थामा खेतीपाती र मजदुरी गर्दै गुजारा चलाएका थापाले गरिबी र अभावका दिन पनि देखेका थिए । ‘खान नपाएको दिन आयो, तर गलत बाटो कहिल्यै समातिनँ,’ उनले भने, ‘दुःखलाई स्वाभाविक रूपमा स्वीकार गर्न सक्ने मानिस मानसिक रूपमा बलियो हुन्छ । धेरै चिन्ता गर्ने मान्छे छिट्टै थाक्छ ।’

नयाँ पुस्तालाई सन्देश

१०० वर्ष नाघेका थापाले नयाँ पुस्तालाई अनुशासित र संयमित जीवनशैली अपनाउन सुझाव दिएका छन् । ‘छिटो सबै चाहने बानीले शरीर र मन दुबै बिगार्छ,’ उनले भने । मदिरा, धूम्रपान र असन्तुलित खानपानबाट टाढा रहन सके दीर्घायु सम्भव हुने उनको धारणा छ । आधुनिक जीवनशैली, असन्तुलित खानपान, मानसिक तनाव र रोगको चपेटाका कारण मानिस अल्पायुमै थला पर्ने क्रम बढ्दै गएको अवस्थामा शतायु वृद्ध थापा नयाँ पुस्तालाई अनुशासित र संयमित जीवनशैली अपनाउन सुझाव दिएका छन् ।

स्थानीय बासिन्दाले खड्गबहादुर थापालाई ‘जीवित इतिहास’का रूपमा सम्मान गर्छन् । स्थानीय समाजसेवी नारायण कार्की भन्छन्, ‘इतिहास किताबमा मात्र होइन, यस्ता व्यक्तिमा पनि सुरक्षित हुन्छ ।’ शतायु पार गरेका खड्गबहादुर थापाको जीवनले दीर्घायु केवल औषधि वा सुविधाले होइन, जीवनशैली, अनुशासन र मानसिक सन्तुलनले सम्भव हुन्छ भन्ने सन्देश दिएको छ । आधुनिक जीवनशैलीका कारण बढ्दो तनाव र रोगबीच उनको जीवन समाजका लागि प्रेरणाको स्रोत बनेको छ ।

स्रोत : रासस
प्रकाशित मिति : २०८२ पुस २१ गते सोमबार