२०८२ माघ १ , बिहीबार 15, January 2026, Thursday

सन् २०२५ इतिहासकै तातो वर्ष, २०२६ मा के होला ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस २० गते आइतबार

बितेको सन् २०२५ इतिहासकै तातो वर्ष बन्यो । लगातारको बढ्दो तापक्रमको रफ्तारले नेपालसहित विकसित तथा अविकसित सबै मुलुकका नेतृत्व अब के गर्ने भनेर घोत्लिएर सोच्न बाध्य बनाएको छ । हालै सार्वजनिक वल्र्ड वेदर एट्रिब्युस (डब्लुडब्लुए)को अध्ययन प्रतिवेदन र आर्कटिक रिपोर्ट कार्डसको प्रतिवेदनले सन् २०२५ इतिहासकै तातो वर्ष दरिएको औँल्याएका हुन् ।

दुवैले मानवद्वारा गरिएका विकास निर्माण तथा जीवाष्म इन्धन प्रयोगका कारण विश्वको तापक्रमले इतिहासकै रेकर्ड पार गरेको हो । सन् २०२३ र २०२४ दुवै ताता वर्षमा दरिएका थिए । ती दुई वर्षभन्दा पनि तातो वर्ष सन् २०२५ रहेको अध्ययनका निष्कर्षले देखाएको छ । विश्व मौसम सङ्गठनले यी अध्ययनलाई मान्यता दिँदै सचेतना अपनाउन पहल थालेको छ ।

पूर्व औद्योगिककालको तापक्रमभन्दा कम तापक्रम राख्ने विश्वको पहललाई गत वर्षको तापक्रम रेकर्डले असफल बनाएको छ । सन् २०१५ को पेरिस सम्झौता अनुसार विश्वको तापक्रमको बढोत्तरीलाई १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्न पक्ष मुलुकले सहमति जनाउँदै त्यही अनुसार आफ्ना मानवीय क्रियाकलापलाई अघि बढाउने सहमति कोप सम्मेलनमार्फत प्रतिबद्धता जनाउँदै आएका छन् ।

नास्टका वरिष्ठ मौसम वैज्ञानिक डा.मदनलाल श्रेष्ठले भने, ‘तर गत वर्ष पनि तापक्रम १.५५ डिग्री सेन्टग्रेडबाट तल झर्न सकेन बरु त्योभन्दा माथि उक्लने रफ्तारमै रहेको अध्ययन प्रतिवेदनले औँल्याएको छ ।’ यसरी तोकिएको सिमाना नाघेर तापक्रम माथि उक्लिन थालेपछि पृथ्वीको वातावरण, जलवायु, मानव जीवन र यहाँको मौसमी पारिस्थितिक प्रणालीमा गम्भीर असर परेको वैज्ञानिक श्रेष्ठ बताउँछन् ।

गत साता सार्वजनिक वल्र्ड वेदर एट्रिब्युसनको प्रतिवेदन सन् २०२५ गम्भीर चरम मौसमी घटना घटेको वर्षका रूपमा चित्रित गरेको छ । प्रशान्त महासागरको चिसो प्रणालीसमेत छोप्ने गरी बढेको वैश्विक जीवाष्म इन्धन ग्यास, तेल कोइला, दाउरा आदि प्रयोगले बढाएको तातो भएको ठहर गरिएको छ । उक्त संस्थाका सहसंस्थापक फ्रेडरिक ओटोले यी जीवाष्म इन्धन प्रयोग कम गर्न नसके पेरिस सम्झौताको कुनै मूल्य नरहने औँल्याएका छन् ।

गत वर्ष गम्भीर तापलहर, खडेरीसँगै विश्वभरमा १५७ वटा चरम मौसमी घटना भएको र त्यसले गम्भीर सङ्कट उत्पन्न गर्दै मानवीय तथा प्राकृतिक दोहन गरेको जनाइएको छ । जसमध्ये टर्की र ग्रीसको खडेरी र डढेलो, मेक्सिकोमा बाढी, फिलिपिन्समा चक्रवात, दक्षिण एसियाको नेपालमा हिमपहिरो, हिमबाढी र पहिरो जस्ता घटना महत्वपूर्ण रहे । वैज्ञानिक श्रेष्ठले बढ्दो जलवायु परिवर्तनको कारकका रूपमा रहेको यस्ता तातो वर्षहरूले हरेक वर्षजसो अर्को रेकर्ड थप्दै जानेछन् ।

त्यसले वैश्विक तापक्रमलाई थप उचाइमा पुर्याउने अनुमान गर्न सकिन्छ । उनले थपे, ‘एकातिर जीवाष्म इन्धनले वायुमण्डल तताइरहेको छ, अर्कोतिर समुद्रको पानी तातो हुँदै उडेर जाँदैछ, यसले भविष्यमा दोहोरो विपत् पृथ्वीमा ननिम्त्याउला भन्न सकिन्न ।’ वन तथा वातावरण मन्त्रालय अन्तरगत रहेको जलवायु परिवर्तन महाशाखाका प्रमुख डा.महेश्वर ढकाल लगातार बढोत्तरीमा रहेको तापक्रम मानव सचेतनासँगै बिस्तारै तल झर्ने अपेक्षा राख्छन् ।

कोप सम्मेलनको ३० औँ संस्करण सकिँदा पनि तापक्रम वृद्धिको दर घट्न नसक्नुमा वैश्विक विकास निर्माणसँगै इन्धन प्रयोगै कारक रहेकोमा उहाँ पनि सहमति जनाउँछन् । उनले भने, ‘विश्वको जनसङ्ख्याले आठ अर्ब नाघ्दै छ, मानव विकास र उपभोगले चरम सीमा नाघिसकेको छ, यस्तोमा उच्च तापक्रम दोहोरिनुको विकल्प छैन ।’ तर वर्तमानमा भइरहेको पहलले सन् २०५० सम्मको तापक्रममा पक्कै केही कम गर्दै फरक ल्याउँछ भन्ने हो ।

त्यसको कारणमा विश्वका अमेरिका, चीन, भारत लगायतले ग्रिन ग्रोथ विकास प्रणालीको बाटो अपनाइसकेका छन् । उनी थप्छन्, ‘नेपालजस्तो देश, जसले विगतमा मटितेलको टुकी बाल्थ्यो र दाउरामा खाना पकाउँथ्यो, त्यो छाडेर विद्युतीय चुलोमा भात पकाउने र चौबिस घण्टा विद्युत् प्रयोग गर्ने अवस्थामा पुगिसकेको छ ।’ विकासको पनि एउटा सीमा हुन्छ । विकास पूर्वाधार एक पटक बनाइसकेपछि रोकिन्छ र तापक्रम वृद्धि कुनै ठाउँमा पुगेर कम गराउन सघाउँछ ।

प्रकाशित मिति : २०८२ पुस २० गते आइतबार