ल्याटिन अमेरिकाको राजनीतिमा अमेरिका विरोधी धार सधैं कमजोर र क्षणिक मात्र रहँदैन । कहिलेकाहीँ यही धारले एउटा देशको सत्ता, नीति र पहिचान नै निर्धारण गर्छ । भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो यस्तै राजनीतिक धारबाट उदाएका नेता हुन्, जसको सम्पूर्ण राजनीतिक जीवन अमेरिकी प्रभुत्व, हस्तक्षेप र दबाबको प्रतिरोधसँग गाँसिएको छ ।
निकोलस मादुरो मोरोसको जन्म सन् १९६२ नोभेम्बर २३ मा काराकासमा भएको थियो । मध्यम वर्गीय परिवारमा हुर्किएका उनी औपचारिक उच्च शिक्षाभन्दा बढी श्रमिक जीवन र आन्दोलनबाट परिपक्व भए । काराकास मेट्रोमा चालकका रूपमा काम गर्दा उनी ट्रेड युनियन आन्दोलनमा सक्रिय भए ।
यही श्रमिक पृष्ठभूमिले उनलाई सामाजिक असमानता, विदेशी प्रभुत्व र राज्यको भूमिकाबारे गहिरो राजनीतिक चेत दिएको देखिन्छ । १९९० को दशकमा ह्युगो चाभेज उदाउँदा मदुरो उनको नजिक पुगे । चाभेजको अमेरिका विरोधी, साम्राज्यवाद विरोधी र समाजवादी विचारधाराले उनलाई राजनीतिक रूपमा दृढ बनायो । यही चरणबाट उनी ‘बोलिभेरियन क्रान्ति’का अनुयायी बने ।
चाभेज र अमेरिकी प्रभुत्वको चुनौती
ह्युगो चाभेज भेनेजुएलामा अमेरिकी प्रभाव तोड्ने नेता थिए । तेलजस्तो रणनीतिक स्रोतमा अमेरिकी नियन्त्रण घटाउने, सामाजिक कार्यक्रम विस्तार गर्ने र क्युबा, रुस, चीनजस्ता मुलुकसँग सम्बन्ध बढाउने चाभेजको नीतिले वासिङ्टन असन्तुष्ट थियो । यही राजनीतिक धरोहर मादुरोले बोक्नुपर्यो ।
चाभेजको शासनकालमै उनी विदेशमन्त्री बने । विदेशमन्त्रीका रूपमा उनले खुला रूपमा अमेरिकी विदेश नीतिको आलोचना गरे र भेनेजुएलाको सार्वभौमिकताको पक्षमा आवाज उठाए । यसले उनलाई अमेरिका विरोधी क्याम्पको स्पष्ट नेता बनायो ।
राष्ट्रपति पद र बढ्दो टकराव
सन् २०१३ मा चाभेजको निधनपछि मादुरो राष्ट्रपति बने । यही क्षणदेखि अमेरिका र भेनेजुएलाबीचको टकराव अझ तीव्र भयो । अमेरिकी प्रशासनले मादुरो सरकारलाई ‘अलोकतान्त्रिक’ घोषणा गर्दै आर्थिक प्रतिबन्ध सुरु गर्यो । तेल व्यापार, बैंकिङ प्रणाली र अन्तर्राष्ट्रिय लेनदेनमा लगाइएका प्रतिबन्धले भेनेजुएलाको अर्थतन्त्र गहिरो संकटमा धकेल्यो ।
मादुरो सरकारले भने यसलाई स्पष्टरूपमा ‘आर्थिक युद्ध’को संज्ञा दियो । उनका अनुसार भेनेजुएलाको संकट आन्तरिक असफलताभन्दा बढी अमेरिकी हस्तक्षेपको परिणाम हो । यही भाष्यले उनका समर्थकहरूलाई संगठित गर्यो । मादुरो समाजवादी भाष्य बोकेका नेता हुन् । राज्यको बलियो भूमिका, सामाजिक सहायता कार्यक्रम र प्राकृतिक स्रोतमा सरकारी नियन्त्रण उनको राजनीतिक आधार हो ।
तर उनको शासनकालमा सत्ता केन्द्रित हुँदै गएको, विपक्षीमाथि दमन बढेको र चुनावी प्रक्रियामा प्रश्न उठेको तथ्य पनि नकार्न सकिँदैन । अमेरिका र उसका सहयोगीहरूले उनलाई अधिनायकवादी नेता भन्दै आलोचना गरे । तर मादुरो समर्थकहरूका लागि यी आलोचना अमेरिकी हस्तक्षेपलाई ठह¥याउने बाहना मात्र हुन् ।
अमेरिकाको ‘कब्जा’ प्रयासको आरोप
सन् २०१९ मा विपक्षी नेता हुआन ग्वाइडोलाई अमेरिका र केही पश्चिमी देशले ‘अन्तरिम राष्ट्रपति’ घोषणा गरेपछि भेनेजुएलाको राजनीतिक संकट चरममा पुग्यो । यसलाई मादुरो सरकारले खुला रूपमा ‘कू’ प्रयास र सत्ता कब्जाको योजना भनेको थियो ।
त्यसयता भेनेजुएलामा ‘कू’ प्रयासको आरोप, भाडाका सैनिक प्रयोग गरेर मादुरोलाई अपदस्थ गर्ने योजना तथा तेल कम्पनी र विदेशी सम्पत्तिमाथि अमेरिकी नियन्त्रण जस्ता विषय बारम्बार सतहमा आए । मादुरोका लागि अमेरिका केवल आलोचक शक्ति होइन, देशको सार्वभौमिकतामाथि कब्जा गर्न खोज्ने शक्ति हो ।
यही कथाले उनलाई सत्ता टिकाउन मात्र होइन, आफ्नो राजनीतिक अस्तित्व नै परिभाषित गर्न सहयोग गरेको छ । मादुरो केवल एक राष्ट्रपति मात्र होइनन्, उनी अमेरिका विरोधी राजनीतिक प्रतिरोधको प्रतीक बनेका छन् । समर्थकका लागि उनी विदेशी प्रभुत्वसँग जुध्ने नेता हुन् । आलोचकका लागि भने उनी असफल र दमनकारी शासक हुन् ।
मादुरो बोकेको विमान न्युयोर्कमा अवतरण
भेनेजुएलाका राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेस सवार विमान न्युयोर्कको स्टुअर्ट एयर नेशनल गार्ड बेसमा अवतरण गरेको छ । अमेरिकी सञ्चारमाध्यम सीबीएसका अनुसार विमान अवतरण गरेलगत्तै कानुन कार्यान्वयन निकायका अधिकारीहरू विमानभित्र प्रवेश गरेका थिए ।
न्युयोर्कमा अवतरण गरेको मादुरो सवार विमानसँग सम्बन्धित दृश्यहरु सार्वजनिक भएको छन् । जहाँ हल्का निलो रङको लुगा लगाएको एक व्यक्तिलाई दर्जनौँ सुरक्षा अधिकारीहरूले धावनमार्ग हुँदै अघि बढाइरहेको देखिन्छ । विमान धावनमार्गमा रोकिएसँगै उक्त क्षेत्र वरिपरि सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति देखिएको थियो ।
सत्यपाटी