निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधिसभा निर्वाचन कार्यतालिका अनुसार पौष १४ गते राजनीतिक दलहरूले समानुपातिक उम्मेदवारहरूको बन्दसूची बुझाइसकेका छन् । आयोगले स्विकृत गरेको प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०८२ अनुसार समानुपातिक सूचीमा सातवटा क्लष्टर हुनेछन् ।
आदिवासी जनजाती, खस आर्य, थारु, दलित, मधेशी मुस्लिम र पिछडिएको क्षेत्रबाट उम्मेद्वार चयन गर्दा कम्तिमा आधा अर्थात् ५० प्रतिशत महिला उम्मेदवार चयन गर्नुपर्नेछ । प्रतिनिधिसभामा रहने २७५ जना सांसदमध्ये दलहरूले देशव्यापी रुपमा पाएको मतका आधारमा समानूपातिक प्रणालीबाट ११० जना निर्वाचित हुनेछन् ।
निर्वाचन आयोगको निर्देशिका अनुसार, आदिवासी जनजातीमा २.७२ प्रतिशत उम्मेदवार चयन गर्नुपर्नेछ । खस आर्यमा ३०.२ प्रतिशत, थारुमा ६.५२, दलित १३.४४ प्रतिशत, मधेशीमा १६.१५, मुस्लिममा ४.८९ र पिछडिएको क्षेत्रबाट कम्तिमा ४.०२ प्रतिशत उम्मेद्वार छान्नुपर्ने भनेको छ ।
राजनीतिक दलहरूले कम्तिमा ११ र बढीमा ११० उम्मेदवार सहितको बन्दसूची पठाउन पाउनेछन् । निर्वाचन आयोगले दिएको दुई दिने समयभित्र ६४ वटा दलले तीन हजार ४२४ उमेदवारको नाम उल्लेख भएको बन्दसूची बुझाएका छन् । केही दल एउटै निर्वाचन चिह्नमा चुनावमा जाने भएकाले समानुपातिक मतपत्रमा ५८ दलको मात्रै चिह्न हुनेछ । पौष २० गते आयोगले अन्तिम सूची प्रकाशन गर्नेछ ।
फागुन २१ गते हुने निर्वाचनमा दुई वटा मतपत्र हुनेछन् । मतदाताले प्रत्यक्ष र अर्को समानुपातिकका निम्ति मतदान गर्नेछन् । चुनाव निम्ति एक करोड नौं लाख तीन हजार ६९ मतदाता छन् । समानुपातिक पद्धतिमा सिङ्गो देश एक निर्वाचन क्षेत्र मानिनेछ । फागुन २१ गते दलले प्राप्त गरेको मतका आधारमा सिट भागबण्डा गरी सांसद छानिनेछन् । समानुपातिकमा तीन प्रतिशत मत ल्याएको र प्रत्यक्षतर्फ कम्तीमा एक सिट जितेको हुनुपर्ने कानुनी व्यवस्था छ ।
तीन प्रतिशत कम ल्याउने दलको मत कूल मतमा गणना हुँदैन । समानुपातिक निर्वाचन निर्देशिका अनुसार दलले पाएको कूल मतलाई सुत्रअनुसार विजोर संख्याले भाग गरिनेछ । नाम पठाउँदा तलमाथि पार्न पाइने छैन । सूचीका आधारमा पठाउनुपर्नेछ । नेपालको संविधान २०७२ मा संसद्मा कुल सदस्य संख्याको कम्तीमा एक तिहाई महिला हुनुपर्ने व्यवस्था गरेको छ ।
कसरी हुन्छ छनोट ?
देशभरि खसेको समानुपातिकतर्फको मतको कुल सङ्ख्याबाट तीन प्रतिशत मत कति हुन्छ तय भएपछि तीन प्रतिशतको थ्रेस होल्ड कटाउने दलहरुको मात्र मत गणना गरेपछि हुने मतलाई जोडेर कुल योगफल तयार पारिन्छ । उक्त कुल योगफललाई समानुपातिकको कुल सिट सङ्ख्या ११० ले भाग गरी ११० ले भाग गर्दा जति अङ्क आउँछ त्यो अङ्कले फेरि तीन प्रतिशत मत कटाएका राजनीतिक दलले पाएको समानुपातिक तर्फको कुल मतलाई भाग गरिन्छ ।
यसो गर्दा जुन अङ्क आउँछ त्यति हाराहारीको सिट पाउने अवस्था हुन्छ । तर आयोगले ठ्याक्कै यही सूत्र प्रयोग नगरी ‘सेन्ट लक’ फर्मूला प्रयोग गरेर सिट सङ्ख्या निकाल्ने गर्छ । आयोगले दलको समानुपातिक सिट सङ्ख्या निकालेपछि एक साताभित्र दलहरूलाई सांसदको नाम पठाउन निर्देशन दिन्छ । दलहरूले यसअघि नै बुझाएको बन्दसूचीको विभिन्न क्लष्टरमा रहेको पहिलो स्थानमा रहेका नामलाई प्राथमिकता दिँदै सांसदहरूको छनौट गरेर आयोगमा पठाउनुपर्छ ।
३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित प्रत्यक्ष निर्वाचनबाट हुन सकेको छैन भने दलहरूले समानुपातिकबाट पुर्याउनुपर्ने हुन्छ । त्यसपछि क्रमशः अन्य क्रस्टरको पहिलो नम्बरमा हुनेको नाम छनोट गर्नुपर्ने हुन्छ । समानुपातिकतर्फका सांसदहरूको टुंगो लगायत कतिपय प्रक्रियाहरू प्रत्यक्ष निर्वाचनको नतिजामा निर्भर हुन्छ । प्रत्यक्षतर्फ नै पर्याप्त महिला निर्वाचित भएमा समानुपातिक सूचीमा रहेका पुरुष उम्मेदवारहरू पनि चयन गर्ने बाटो खुला हुन्छ । निर्वाचन आयोगले प्रत्यक्षतर्फको नतिजापछि मात्रै समानुपातिकको मत गणना हुने गर्दछ ।
सत्यपाटी