सयौँ अर्ब डलरको लगानी, मानसिक स्वास्थ्यमा जोखिम र हजारौँ रोजगारी कटौतीः यी सबैको पछाडि के छ ? एउटै जवाफ हो, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) । कसैका लागि यो भविष्य हो त कसैका लागि सेयर बजारको अर्को ‘बबल’ (पानीको फोका) । दशकौँदेखि पर्दा पछाडि रहेको एआई प्रविधि सन् २०२२ मा ओपनएआईको ‘च्याटजीपीटी’ सार्वजनिक भएपछि चर्चाको शिखरमा पुग्यो ।
गुगलको जेमिनाई र च्याटजीपीटी जस्ता एआई च्याटबटहरूको उदयले गुगल सर्चदेखि इन्स्टाग्राम र अमेजनसम्मका अनलाइन सेवाहरूलाई बदल्न थालिसकेको छ । तर, सन् २०२५ त्यो वर्ष बन्यो, जतिखेर एआई हाम्रा स्क्रिनहरूबाट बाहिर निस्केर राष्ट्रिय नीति, विश्व व्यापार सम्बन्ध र सेयर बजारमा गम्भीर प्रभाव पार्न थाल्यो । यसले हाम्रो जागिर, कक्षाकोठा र सम्बन्धहरूमा यो प्रविधि कति विश्वासयोग्य छ भन्ने गम्भीर प्रश्नहरू पनि खडा गरेको छ ।
यो क्रम सन् २०२६ मा पनि जारी रहने अपेक्षा गरिएको छ । स्ट्यानफोर्ड इन्स्टिच्युट फर ह्युमन–सेन्टर्ड एआईका सह–निर्देशक जेम्स ल्यान्डे भन्छन्, ‘विगतका वर्षहरूमा एआई एउटा ‘चम्किलो नयाँ खेलौना’ जस्तो थियो… तर गएको वर्ष यसको धेरै गम्भीर प्रयोगहरू भए । मलाई लाग्छ मानिसहरू अब यसका फाइदा र जोखिम दुवै बुझ्न थालेका छन् ।’
नियमन र मानसिक स्वास्थ्यका प्रश्नहरू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एआईका ठूला समर्थक हुन् । उनको दोस्रो कार्यकालमा यो प्रविधि आधारस्तम्भ बनेको छ । चिप निर्माता कम्पनी एनभिडियाका सीईओ ट्रम्पको भित्री घेरामा छन् भने राष्ट्रपतिले चीनसँगको व्यापार युद्धमा एआई प्रोसेसरहरूलाई हतियारको रूपमा प्रयोग गरिरहेका छन् ।
ट्रम्पले एआई सम्बन्धी नियमन खुकुलो बनाउने र सरकारमा यसको प्रयोग बढाउने योजना अघि सारेका छन् । तर, राज्यहरूले आफ्नै एआई नियम लागू गर्न नपाउने गरी ल्याइएको कार्यकारी आदेशले विवाद निम्त्याएको छ । सिलिकन भ्यालीका लागि यो जित जस्तो देखिए पनि अनलाइन सुरक्षाका पक्षधरहरूले यसले जोखिम बढाउने चिन्ता व्यक्त गरेका छन् ।
सन् २०२६ मा यस विषयमा कानुनी लडाइँ हुने सम्भावना छ । अर्कोतर्फ, एआईको फितलो नियमनले मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको छ । च्याटजीपीटी र क्यारेक्टर डट एआईजस्ता प्लेटफर्मका कारण किशोरकिशोरीमा आत्महत्या र मानसिक समस्या बढेको भन्दै थुप्रै मुद्दाहरू दायर भएका छन् ।
एक १६ वर्षीय किशोर एडम रेनले आत्महत्या गर्नुअघि च्याटजीपीटीसँगको कुराकानीमा एआईले उनलाई प्रोत्साहन गरेको आरोपसहित उनका अभिभावकले ओपनएआईविरुद्ध मुद्दा दायर गरेका थिए । त्यसयता कम्पनीहरूले ‘प्यारेन्टल कन्ट्रोल’ जस्ता सुरक्षा उपायहरू अपनाउन थालेका छन् । तर, यो समस्या वयस्कहरूमा पनि देखिन थालेको छ ।
धेरैले एआईसँगको कुराकानीलाई नै वास्तविकता मान्न थाल्दा समाजबाट एक्लिने र भ्रममा पर्ने समस्या बढेको छ । मनोचिकित्सक मार्लिन वेई भन्छिन्, ‘मानिसहरू भावनात्मक सहयोगका लागि सबैभन्दा पहिले एआई च्याटबटमा निर्भर हुन थालेका छन्, जसले भविष्यमा मानसिक स्वास्थ्य जोखिम अझ बढाउनेछ ।’
‘पानीको फोका’ बन्ने त्रास
डाटा सेन्टर र एआई पूर्वाधारमा अर्बौं डलर लगानी भइरहेको छ । मेटा, माइक्रोसफ्ट र अमेजनले ठूलो पुँजी खर्च गरेका छन् । म्याकिन्जी एन्ड कम्पनीका अनुसार सन् २०३० सम्म विश्वव्यापी रूपमा डाटा सेन्टरमा करिब ७ ट्रिलियन डलर लगानी हुने अनुमान छ । यो असीमित खर्चले वाल स्ट्रिट र उपभोक्ता दुवैलाई चिन्तित बनाएको छ ।
कतिपय कम्पनीको सेयर मूल्य आकासिए पनि एआईको वास्तविक मूल्यभन्दा प्रचार र खर्च बढी भएको आशंका गरिएको छ । बेन क्यापिटलकी क्रिस्टिना मेलास–किरियाजीका अनुसार नयाँ प्रविधिमा सुरुमा अत्यधिक लगानी हुनु सामान्य हो, तर बजारमा कुनै बिन्दुमा गएर ‘करेक्सन’ (सुधार) आउन सक्छ । सन् २०२६ मा लगानीकर्ताहरू यसबाट सिर्जना हुने उतारचढावका लागि तयार हुनुपर्ने देखिन्छ ।
रोजगारीमा कटौती
यस वर्ष एआईका कारण प्रविधि क्षेत्रमा हजारौंले जागिर गुमाए । माइक्रोसफ्ट, अमेजन र मेटाले एआईलाई प्राथमिकता दिँदै कर्मचारी कटौती गरे । अमेजनले अक्टोबरमा मात्र १४,००० कर्पोरेट कर्मचारीलाई बिदा गर्यो । कतिपयले एआईले थप रोजगारी कटौती गर्ने बताउँछन् भने कतिपयले नयाँ अवसर सिर्जना गर्ने तर्क गर्छन् ।
तर, एउटा कुरा निश्चित छ, परिवर्तन आउँदैछ । लिंक्डइनका प्रधान सम्पादक ड्यान रोथ भन्छन्, ‘यो वर्ष हामीले देख्यौं कि जागिर खानका लागि आवश्यक सीपको माग पूर्ण रूपमा परिवर्तन भइसकेको छ । र, अर्को वर्ष यो गति अझ तीव्र हुनेछ ।’
सत्यपाटी