२०८२ माघ ५ , सोमबार 19, January 2026, Monday

नेपालमा भारतीय ठुला नोट खुलाउन किन ढिलाइ ?

सत्यपाटीसत्यपाटी । काठमाडौं । २०८२ पुस १७ गते बिहीबार

नेपाली बजारमा भारतीय ठुला दरका नोट चलनचल्तीमा ल्याउने सरकारी निर्णय कार्यान्वयनमा अस्वाभाविक ढिलाइ देखिएको छ । २९ मंसिरमा मन्त्रिपरिषद्ले नेपालमा २५ हजार भारुसम्म २०० र ५०० दरका नोट भारत–नेपाल लान र ल्याउन पाउने व्यवस्था गरेको थियो । तर, राजपत्रमा प्रकाशित नहुँदा यो व्यवस्था हालसम्म कार्यान्वयनमा आएको छैन ।

सरकारले भारतीय ठुला दरका नोटको प्रतिबन्ध हटाएसँगै सन् २०१६ नोभेम्बर ९ देखि निष्कासित नोट मात्र चलनचल्तीमा ल्याउन सकिने व्यवस्था गरेको थियो । नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारु २५ हजार भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरिएको मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

राजपत्रमा प्रकाशित भएर आएपछि केन्द्रीय बैंकले पनि सार्वजनिक सूचना जारी गरेर यसलाई प्रचलनमा ल्याउने तयारीमा छ । तर, अर्थ मन्त्रालयले भने हालसम्म यसलाई अघि बढाउन सकेको छैन । यसअघि भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई)ले ठुला दरका भारु नोट नेपाल ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो ।

भारतले खुला गरेपछि नेपाल सरकारले पनि प्रतिबन्ध हटाएको थियो । आरबीआईले विदेशी विनिमय व्यवस्थापन नियमावली २०१५ संशोधन गर्दै ठुला दरका नोट पनि नेपाल भारत ल्याउन र लैजान पाउने व्यवस्था गरेको थियो । भारतले २०१६ मा ठुला दरका भारु नोटहरूको नोट बन्दी गरेको थियो । त्यसपछि ठुला दरको नोट नेपाल ल्याउन लैजान बन्देज गरेको थियो ।

भारतले नेपालमा रहेका ठुला दरका भारु सटही नदिएपछि नेपालले पनि १०० भन्दा बढीका भारु चलनचल्तीमा बन्देज लगाएको थियो । खुला सीमा तथा व्यापारमा भारतसँगको निर्भरतासँगै दुवैतर्फ लान र लैजान पाउने व्यवस्था गरेको समयमा नेपाल सरकारले पनि त्यसलाई सकारात्मक लिई प्रतिबन्ध खुलाएको हो ।

प्रकाशित मिति : २०८२ पुस १७ गते बिहीबार