नेपाल–भारत खुला सीमालाई प्रयोग गर्दै मानव बेचबिखन तथा ओसारपसारका घटना बढिरहेका छन् । विशेष गरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका विभिन्न जिल्लाबाट भारततर्फ जोखिमपूर्ण यात्रामा गएका सयौँ महिला तथा किशोरीको अवस्था अझै अज्ञात छ ।
मानव बेचबिखनविरुद्ध क्रियाशिल संस्था माइती नेपाल नेपालगन्जका अनुसार गत एक वर्षमा विभिन्न जिल्लाबाट हराएका ९२० महिलामध्ये ५९३ जनालाई खोजी गरी फेला पारेर परिवारको जिम्मा लगाइएको छ तर ३९३ महिलाको अवस्था हालसम्म पनि पत्ता लाग्न सकेको छैन ।
माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार ती महिला जोखिमपूर्ण यात्रामा भारत गएको आशङ्काका आधारमा खोजतलास गरिएको भए पनि कानुनी तथा संस्थागत संयन्त्र कमजोर हुँदा सबैको उद्धार सम्भव हुन सकेको छैन ।
बुधबार नेपालगन्जमा आयोजित मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सञ्चारकर्मीसँगको अन्तव्र्रिmयामा संयोजक कोइरालाले पछिल्लो समय डिजिटल प्रविधिको दुरुपयोग गरेर दलालले महिलालाई फकाउने क्रम बढेको बताए ।
बाँके, बर्दिया लगायत पहाडी जिल्लाबाट आर्थिक प्रलोभनमा परी दलालको फन्दामा परेर नेपालगन्ज नाका हुँदै भारत जानेको सङ्ख्या बढ्दो छ । शङ्कास्पद रूपमा सीमा पार गर्न लागेका ४७६ महिला तथा बालबालिकालाई रोकेर परामर्शसहित फिर्ता पठाइएको माइती नेपालले जनाएको छ ।
गत एक वर्षमा सुरक्षित बसाइँसराइ तथा मानव बेचबिखनबारे जानकारी दिँदै ५५४ जनाको पारिवारिक पुनर्मिलन गराइएको छ । साथै श्रम तथा यौन शोषणमा परेका १४ जनाको उद्धार गरिएको र मानव बेचबिखन सम्बन्धी पाँच वटा मुद्दा बाँकेमा दर्ता भएको जनाइएको छ ।
बेचबिखनको जोखिममा भारत जानेमा बर्दिया, सल्यान, रोल्पा, दैलेख, जाजरकोट लगायत जिल्लाका महिला बढी रहेका छन् । यता बर्दियाबाट अवैध मार्ग हुँदै भारत जानेमध्ये अधिकांश १८ वर्षमुनिका किशोरी रहेको तथ्याङ्कले देखाएको छ । माइती नेपाल बर्दियाका अनुसार ८३ किलोमिटर खुला सीमा र वनक्षेत्रका कारण तस्कर सक्रिय छन् ।
सन् २०२४ मा जोखिमपूर्ण यात्राका क्रममा २८१ जनाको उद्धार हुँदा २०२ जना १८ वर्षमुनिका किशोरी थिए । बढैयाताल र गुलरिया क्षेत्रबाट उद्धार हुनेको सङ्ख्या उच्च छ । कार्यक्रम संयोजक गायत्री रिमालले सीमा क्षेत्रमा कडा निगरानी आवश्यक रहेको बताइन् । गुलरिया नगरप्रमुख मुक्तिनाथ यादवले मानव बेचबिखन जघन्य अपराध भएकाले यसको रोकथाममा सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिए ।
सत्यपाटी